‘लोकप्रिय’ र ‘राष्ट्रवादी’ नेता भीम रावललाई केही प्रश्न

276

शंकर सिंह धामी
यो लेख सुदूरपश्चिममा प्रभावशाली र केन्द्रीय नेता भीम रावलको बारेमा केन्द्रीत छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका भीमवहादुर रावल सुदूरपश्चिमका खम्बा पनि हुन् । उहाँको भूमिका सुदूरपश्चिम प्रदेशमा मात्रै सीमित छैन । तत्कालिन नेकपा (एमाले)को उपाध्यक्ष रहेका रावलले विगतदेखि नै राष्ट्रिय राजनीतिमा भूमिका खेल्दैआएका छन् ।
दार्चुलाको व्यासक्षेत्रमा भारतबाट अतिक्रमित नेपाली भूमिको सुरक्षा र सीमाक्षेत्रका यी नेताको योगदान र भूमिका खोतल्ने प्रयास यो लेखमार्फत गर्दैछु । रावलको बारेमा अभिव्यक्ति दिनुपूर्व केही प्रष्टता पार्नु आवश्यक छ । अहिलेको राजनीति प्रसंसा र विरोधको दुई कित्ताबाट चलिरहेको छ । नेतृत्वको प्रसंसा मात्रै गरिरहने र फरक नेता, गुट, दलको विरोध मात्रै गरिरहने प्रवृति नेपाली राजनीति र समाजमा व्याप्त छ । तर, यहाँ सीमाक्षेत्र (दार्चुला) मा बस्दैआएको एक नागरिकले बुझेको, देखेको, भोगेको विषय र सन्दर्भ प्रस्तुति गरिदैछ । नेता रावलप्रति उच्च सम्मान छ, वर्तमानमा सुदूरपश्चिमबाट नेकपाको केन्द्रीय नेतृत्वमा पुगेर केही गर्नसक्ने हैसियत र सामथ्र्य यी नेतासंग छ ।
पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा योगदान गरेकै कारण रावल पटकपटक मन्त्री बनेका छन् । पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । यद्यपि पार्टी एकीकरणमा भीम रावलमाथि अन्याय भएको छ । देशभरीका एमाले कार्यकर्ताले उच्च मुल्यांकन गर्दै पार्टी उपाध्यक्ष बनाएका रावललाई नेकपाले सही जिम्मेवारी दिएको छैन । नेकपाको कार्यविभाजन अनुसार रावल अहिले सुदूरपश्चिम इन्चार्ज छन् ।
प्रष्टवक्ता मात्रै होइनन् भीम रावल, बहुमुखी प्रतिभा पनि छ उहाँमा । दर्जनौ भाषाको ज्ञान, वौद्धिकता, सक्रियता, मिहिनेत र क्षमता भएकै कारण एमाले पार्टी जीवनकालदेखि महत्वपूर्ण भूमिकामा रावल थिए । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा रावल पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । २०५१ सालको १५ सदस्यीय मन्त्रिमण्डलमा सुदूरपश्चिमका प्रेम सिंह धामी र भीम रावल सहभागी थिए । पार्टी अनुशासन, समय पालना, पार्टी र राजकीय संरचनाको परिचालनका क्षेत्रमा भीम रावल अब्बल मानिन्छन् ।
देशको उपप्रधानमन्त्री हुने अवसर पनि भीम रावलले दुईपटक पाए । पहिलो पटक उपप्रधानमन्त्री हुँदा गृह मन्त्रालय सम्हालेका थिए भने अर्कोपल्ट रक्षा मन्त्रालय । भूमिका र प्रभावका हिसाबले दुबै मन्त्रालय महत्वपूर्ण मानिन्छन् । माधव नेपाल र केपी ओली नेतृत्वमा उपप्रधानमन्त्री बनेका रावलले विभागिय मन्त्रालयको जिम्मेवारी कुशल रुपमा सम्पादन गरेको बुझाई छ ।
पार्टी एकीकरणमा रावलको पद र भूमिका खुम्चिएको छ । एमालेको उपाध्यक्ष रहेका रावल पार्टी सचिवालयमा समेत अटाएनन् । जबकी रावलभन्दा पदीय मर्यादामा पछि रहेका तत्कालिन एमाले महासचिव ईश्वर पोखरेल सचिवालय सदस्य बने भने तत्कालिन एमालेका उपमहासचिव विष्णु पौडेल नेकपाको महासचिव बने । रावललाई ४५ सदस्यीय पार्टी स्थायी कमिटीमा राखियो । यो रावलमाथिको व्यक्तिगत अन्याय मात्रै थिएन, सक्षम नेतृत्वको अवमूल्यन पनि थियो । सुदूरपश्चिमको सर्वाधिक हैसियतको नेताको अवमूल्यन गरिदा सिंगो प्रदेशलाई उपेक्षा गरिएको बुझाइ धेरैको छ ।
वर्तमानमा नेकपाभित्रैको प्रतिपक्षी नेताको रुपमा भीम रावललाई धेरैले बुझिरहेका छन् । उहाँका धारणा, अडान र भूमिकाबाट धेरैले राष्ट्रवादी र निडर नेताको उपाधि पनि रावललाई दिइरहेका छन् । खासगरी, एमसिसि, नयाँ नक्सा जारी, पार्टी सञ्चालन, भूमि अतिक्रमणका विषयमा रावलले राखेका विचारलाई मन पराइएको छ । नेता भीम रावलका प्रायः सबैजसो विचार र अडानमा म पनि सहमत छुँ । तर उहाँसंग मेरा केही जिज्ञासा र असहमति पनि छन् ।
१) प्रेम सिंह धामीको निधनपछि सुदूरपश्चिमको पार्टी खम्बा वा नेतृत्वमा तपाई रहदै आउनुभएको छ । वर्तमानमा पनि सुदूरपश्चिम इन्चार्जको भूमिकामा हुनुहुन्छ । तर, सुदूरपश्चिमका सबै नेता, कार्यकर्ताको नेता बन्न सक्नुभएको छैन । यसका पछाडि केन्द्रीयस्तरमै जबरजस्त रहेको गुटको पनि कारण होला । तर सुदूरपश्चिमको सन्दर्भमा भीम रावलको प्रतिस्पर्धामा अरु कोही छैनन् (कसैको चाहना र प्रयास होला तर क्षमता छैन)। आफु सर्वोच्च हैसियत र भूमिकामा रहदा पनि सुदूरपश्चिमकै पार्टीभित्र यहाँको लोकप्रियता हुन सकेको छैन ।
२) २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी र प्रेम सिंह धामीसंग हेलिकोप्टरमा दार्चुला पुग्नुभएको थियो । प्रेम सिंह धामी आवाश तथा भौतिक योजना राज्यमन्त्री र तपाई पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुहुन्थ्यो । २०५१ सालदेखि २०७४ सालसम्म तपाईले दार्चुलाको भूगोलमा पाइला टेक्नु भएन, किन ? पार्टीको केन्द्रीय भूमिकामा भए पनि सुदूरपश्चिमको भूगोललाई तपाईले उपेक्षा गर्दै आउनुभयो । २३ वर्षसम्म दार्चुलाको भ्रमण नगर्नु त्यसको एउटा प्रमाण हो । २०७४ सालको स्थानीय निर्वाचनमा मात्रै तपाईले दार्चुला भ्रमण गर्नुभएको छ । यदि यो तथ्य सही होइन भने कृपया यहाँको भ्रमण विवरण दिनुहोला । यद्यपि २०५३ सालमा हेलिकोप्टरमार्फत संसदीय टोलीको कालापानी भ्रमण र २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री हुँदा संविधानको प्रचार गर्न हेलिकोप्टरबाटै तपाई दार्चुला पुग्नुभएको छ । २०५१, २०५३ र २०७२ सालमा तिनैपटक हेलिकोप्टरबाट भएको दार्चुला भ्रमणलाई औपचारिक र राजकीय मात्रै भन्दा हुन्छ ।
पार्टी जीवनकालमा र राजकीय पदमा रहेका बेला सुदूरपश्चिमका सबै जिल्लामा पुग्ने, वस्तुस्थिति बुझ्ने र आवश्यक भूमिका निर्वाह गर्ने अवसर तपाईलाई थियो । नौ जिल्ला रहेको सुदूरपश्चिमका सबै क्षेत्रमा पुग्नु, त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाबारे जानकारी हासिल गर्नु तपाईका लागि नियमित कार्यतालिका बन्नुपथ्र्यो ।
३) २०५३ सालमा हेलिकोप्टरमार्फत संसदीय टोलीले कालापानी भ्रमण गरेको थियो । तत्कालिन सभामुख रामचन्द्र पौडेल नेतृत्वको त्यो टोलीमा तपाई पनि सहभागी हुनुभएको थियो । २०७४ को स्थानीय निर्वाचनपछि भने तपाई तीन पटक दार्चुला पुग्नुभएको छ । र, दार्चुला पुगेको बेला आफुले कालापानी भ्रमण गरेको, त्यहाँको वस्तुस्थिति आफुलाई स्पष्ट थाहा भएको भाषण पनि गर्नुभएको छ । तर, कालापानी र राष्ट्रियताको मुद्दा उठाउने र स्थापित गराउने स्वर्गिय नेता प्रेम सिंह धामीको नामसम्म उच्चारण गर्नुभएन । २०७४ साल पछिका जिल्लास्तरका कार्यक्रममा मात्रै होइन, कालापानी र भूमि अतिक्रमणका कुनै पनि अन्तर्वार्ता र सम्वादमा तपाईले प्रेम सिंह धामीको स्मरण गर्न नसक्नु दुखद् छ । यसबाट निधन भइसकेका नेतृत्वप्रति समेत तपाईको पूर्वाग्रह देखियो । त्यो पनि दुई दशकसम्म ।
मैले यो भनिरहदा पाठकले पनि मलाई पूर्वाग्रही भन्न वा ठान्न सक्छन् । तर मेरो प्रष्ट्याइ के छ भने यदि भीम रावल जस्तो नेताले २३ वर्षअघि निधन भएका नेता प्रेम सिंह धामीप्रति पूर्वाग्रह राख्छन् भने मैले यो विषय उठाउनु पूर्वाग्रहको प्रतिरोध मात्र हो । मुलुक र धेरै नेपालीले नयाँ नक्सासम्म आइपुग्दा प्रेम सिंह धामीलाई स्मरण गरे, श्रद्धाञ्जली व्यक्त गरे, उहाँको योगदानको चर्चा गरे तर आफ्नै पार्टीका योद्धा, सहकर्मी (२०५१ को मन्त्रिमण्डल र संसदमा संगै रहेका तर एमाले केन्द्रीय कमिटीमा प्रेम सिंह धामी सदस्य रहदा भीम रावल थिएनन्) प्रेम सिंह धामीको नामसम्म उच्चारण गर्न नसक्ने भीम रावलप्रति प्रश्न उठाउनु जायज छ ।
प्रेम सिंह धामी जस्तो देशभक्त नेताको गृह जिल्लावासी मात्रै होइन उहाँको परिवारको सदस्य भएकोले पनि मैले यसप्रति चाँसो र सरोकार राखेको हुँ । संविधान संसोधन विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफलमा सांसदहरु रामकुमारी झाक्री, गणेश सिंह ठगुन्ना, डा. दीपक भट्ट, नरवहादुर धामी, मेटमणी चौधरीले प्रेम सिंह धामीलाई स्मरण गर्नुभयो । तर प्रेम सिंह धामीको अवसानपछि सुदूरपश्चिमको नेतृत्व गर्ने भीम रावलको ओठमा प्रेम सिंह धामीको नाम आएन ।
४) माधवकुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री हुनुभयो । आफुलाई कालापानी र सीमाक्षेत्रको बारेमा जानकार ठान्ने रावलजीले त्यतिबेला अछाममा सशस्त्र प्रहरीको गण राख्नुभयो । पद र भूमिकामा भएको बेला आफ्नै कार्यकालमा दार्चुला सदरमुकाममै भए पनि सशस्त्र प्रहरीको गुल्म राख्न आवश्यक ठान्नु भएन । यद्यपि २०७० माघमा खलंगामा गुल्म र गत वैशाख ३१ गते व्यासमा सशस्त्र प्रहरीको विओपी स्थापना भएको छ । व्यासमा सशस्त्र प्रहरीको विओपी स्थापना गर्न भने तपाईले पछिल्लो समय संसदीय समिति र अन्य मञ्चहरुमा बोलेको र भूमिका खेलेको जानकारी छ ।
५) २०६५ सालदेखि निर्माण सुरु भएको दार्चुला तिंकर सडक निर्माणको गति सुस्त रहदैआएको छ । तिंकर सडक दार्चुलाका लागि मात्रै होइन, आर्थिक सम्वृद्धिका लागि सिंगो सुदूरपश्चिम र राष्ट्रिय सुरक्षाका दृष्टिले नेपाल राष्ट्रकै लागि महत्वपूर्ण छ । तर, तिंकर सडकको सुस्त निर्माणबारे कहिल्यै बोल्नुभएन । तपाईलाई थाहा नभएर पनि हुन सक्छ किनकी दार्चुलाको स्थलगत भ्रमण दुई दशकसम्म गर्नुभएकै छैन । जिल्ला र गाउँस्तरका पार्टी संयन्त्रबारे तिंकर सडक निर्माणबारे छलफल गर्ने चिन्तन, अभ्यास र फुर्सद केही भएन ।
यता, अतिक्रमण भूमिको संरक्षण र निगरानीमा मद्दत पुग्ने तिंकर सडक निर्माण अलपत्र हुँदा सेती करिडोर, बझाङ–चैनपुर–ताक्लाकोट सडक र खुटिया–दिपायल सडक तपाईको प्राथमिकतामा परे । मैले ती सडक निर्माणको विरोध गरेको होइन । तर एउटा देशको प्रभावशाली र केन्द्रीय नेताले दार्चुला तिंकर सडकबारे जानकारी राख्नुपथ्र्यो, सरोकार राख्नुपथ्र्यो भन्न मात्रै खोजेको हो । नीतिगत र कार्यान्वयन तहसम्म सम्पर्क र समन्वय गरी दार्चुला तिंकर सडक निर्माणलाई गति दिने जिम्मेवारी भीम रावलको पनि थियो ।
६) जेठ ३१ गते संविधान संसोधन विधेयकको दफावार छलफलमा गर्नुभएको सम्बोधनले मलाई लज्जित बनाएको छ । सम्बोधनको सुरुवाती मै ‘सुदूरपश्चिम प्रदेशको कञ्चन्प् (कञ्चनपुर जिल्ला भन्न खोजेको तर तत्काल सच्याएर दार्चुला) जिल्लाको लिम्पियाधुरा क्षेत्र’ भन्नुभयो । कहिलेकाही शब्दको चयन र प्रस्तुतिमा फरक पर्न सक्छ । यो मानवीय स्वभाव पनि हो । तर, नयाँ नक्साको सन्दर्भमा संविधान संसोधन जस्तो गम्भीर विषयमा भनाई राख्दा त्यहीस्तरको गाम्भीर्यता हुन सकेन । भीम रावलजस्तो प्रष्ट वक्ता जिल्लाको नाममै अलमलिदा तपाईका प्रसंसकसमेत दुःखी भए होलान ।
सम्बोधनकै क्रममा संसदलाई नयाँ तथ्य प्रस्तुत गर्दै एउटा गलत विवरण दिनुभएको छ । ‘२०५६ सालसम्म लिपुलेक र सितापुलमा नेपाल प्रहरीको चौकी थियो’ भन्ने गलत जानकारी भीम रावलले राख्नुभएको छ । यहाँलाई थाहा हुनुपर्ने हो, लिपुलेक भारतले चीनसम्मको आवागमनमा प्रयोग गर्दैआएको नाका हो । यो नाकामा सन् १९६२ को भारत–चीन युद्धपछि कुनै पनि नेपालीले जान पाएका छैनन् । लिपुलेक नाका प्रयोग गर्ने व्यासको छाङरुका वासिन्दाले तिंकर नाका प्रयोग गर्दैआइरहेका छन् । तर तपाईले लिपुलेकमा नेपाल प्रहरीको चौकी रहेको तथ्य कहाँबाट ल्याउनुभयो ? लिपुलेकमा होइन, तिंकर गाउँ नजिकको छियालेकमा सीमा प्रहरी चौकी थियो र अहिले पनि छ । २०५६ होइन, २०५८ सालदेखि सशस्त्र जनयुद्धका बेला भने त्यो चौकी बसेन । जनयुद्धको समाप्तिसंगै २०६३ सालदेखि त्यहाँ निरन्तर प्रहरीको उपस्थिति छ । व्यासको सितापुलमा रहेको प्रहरी चौकीको अवस्था पनि तिंकरको जस्तै हो । उच्च हिमपातका कारण स्थानीय वासिन्दाको जस्तै वर्षको ६ महिनामात्रै छियालेक र सितापुलको प्रहरीको बसोवास हुन्छ ।
सम्बोधन गर्दा छियालेक भन्नखोज्दा लिपुलेक भनिएको हो भने सच्याउनुहोला । तर, तपाई जस्तो नेतृत्वले तथ्य राख्दा हेक्का राख्नैपर्छ । त्रुटी गर्नै हुँदैन । त्यसमाथि अतिक्रमित क्षेत्रमा पर्ने लिपुलेकमा चौकी रहेको गलत सन्देश पैmलिने खतरा बढ्यो ।
राष्ट्रियताको सवालमा नेता भीम रावलको नियतमाथि कुनै शंका छैन । पछिल्लो समयमा उहाँको प्रस्तुति, दृष्टिकोण र अडानले मेरो पनि मन जितेको छ । तर कहिलेकाहीका असंवेदनशील शब्द र सन्दर्भले आपत्ति जनाइहाल्ने अवस्थामा पुगेको छु । यो लेखमार्फत नेता रावलको अपमान, आलोचना वा विरोध गर्ने मेरो उद्देश्य होइन । केवल उच्चस्तरको राजनीतिक भूमिकामा रहेका पात्रबाट अझै रचनात्मक र प्रसंसनिय सक्रियता खोजेको हुँ । समकालिन नेताहरुमध्ये राम्रो छवि र लोकप्रियता बनाएका नेता भीम रावलका समर्थक र प्रसंसक धेरै छन् । तिनले मेरो विचारमा सहमति वा असहमति राख्न सक्लान् तर आफुले बुझेको यथार्थता भने पस्केको छुँ । जय मातृभूमि ।

तपाईको प्रतिक्रिया दिनुहोस् !