युवालाई चुनौति !

168

सम्पादकीय

नेकपाको रडाको र नेपालीको काँग्रेसको महाअधिवेशन तयारी सँगसँगै चलेको छ । नेपालको राजनीतिमा एकछत्र हस्तक्षेप गर्ने यी दुई दलभित्रको किचलो आम कार्यकर्ताका लागि समान्य बन्दै गएको छ । नेतृत्व पङ्तिमा देखिने गुटहरुको समर्थकका रुपमा पछिल्लो पुस्ताका नेता (युवा) बिभाजित हुन्छन् र तत्लो तहका कार्यकर्ताहरुमा त्यसको टड्कारो चहक देखिन्छ । आलिसान बैठक कक्षको कटाक्ष र चोकहरुमा चिर्पटको चटारो सहजै देख्न सकिन्छ । नेपालको पछिल्लो राजनीतिक परिवर्तन र संविधान निर्माणमा विशेष भूमिका निर्वाह गरेका यी दुई पार्टीहरु एक सत्तापक्ष र अर्को प्रतिपक्षको भूमिकामा छन् । नेपालको वर्तमान अवस्था (सामाजिक, आर्थिक, शैक्षिक आदि) मा आमूल परिवर्तन गर्न सक्ने क्षमता राख्ने यी दुई दलहरुले सञ्चालन गरेका सरकार र ती सरकारले प्रवाह गरेका सेवा, सुविधा, बिकास आदिलाई आम नागरिकले निक्कै नजिकबाट नियाल्दै र महसुस गर्दै आएका छन् । खासगरी पचासको दशकको सुरुदेखि अहिलेसम्म सत्ताको राईँदाईँ गर्दै आएका यी दुई दलहरुको अन्तरङ्गका बारेमा समेत धेरै जानकारहरु जन्मिसकेका छन् ।
बिगतमा गरिएका कार्यहरुको आत्मसमीक्षा गर्ने, जनताले अस्वीकार गरेका र देशलाई घाटा हुने निर्णयहरु, नीतिहरु र पार्टीले अङ्गिकार गरेका कामहरुलाई छोडेर सामाजिक रुपान्तरणका लागि, विद्यमान चुनौतिहरुलाई चिर्दै सम्मुन्नत समाज निर्माणका लागि आगामि कार्य गर्ने प्रतिबद्धता राजनीतिक दलहरुले गर्दछन् । समकालीन विश्व अवस्था र विद्यामान स्थितिभन्दा उन्नत स्तरोन्नतिका लागि आफ्ना नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आम नागरिकसम्म पुर्याउने काम राजनीतिक दलहरुले गर्दछन् । यो सन्दर्भलाई हेर्ने हो भने विद्यामान चुनौतिहरुको पहिचान हाम्रा राजनीतिक दलहरुले गरेका छन् वा छैनन्, उन्नत स्तरोन्नतिका लागि नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरेका छन् वा छैनन्, यसका लागि आफ्ना नेता कार्यकर्तालाई आम नागरिकसम्म पुर्याएका छन् वा छैनन् ? राजनीतिमा होमिदै गरेका युवाहरुले समीक्षा गर्नु आवश्यक छ । परम्परागत राजनीतिक यात्राको पदचाप मात्र पहिल्याउने, यथास्थितिभन्दा बाहिर जान नसक्ने र बिद्रोह गर्न नसक्ने स्थिति हो भने युवाहरुले राजनीतिमा संलग्न हुनुलाई उपलब्धी मान्न सकिदैन । आफ्नो राजनीतिक सिद्धान्तलाई व्यवहारमा लागू गर्ने र गराई आमूल परिवर्तनको दिशामा आफू, आफ्नो समुदाय र समग्र देशलाई डोर्याउन नसक्ने हो र अग्रज नेतृत्वको भजनमण्डलीको मात्रै काम गर्ने हो भने वर्तमान युवा पुस्ताले राजनीति नगर्दा के हुन्छ ? कमजोरी जहाँ पनि हुन्छन् तर कमजोरी स्वीकार नगर्ने, आफ्नो गुट वा पक्षका लागि ‘मेरो गोरुको बाह्रै टक्का’ गर्ने, सिद्धान्त एकातिर व्यवहार अर्कातिर गर्नै पर्ने बाध्यकारी स्थिति छ भने वर्तमान युवापुस्तालाई देशको भविष्य बर्वाद गर्ने कुनै अधिकार छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस् !