यसरी टुंगो लागेको थियो महाकाली पुल निर्माणस्थल

1081

दार्चुला, भदौ १९ गते ।
महाकाली नदीमा नेपाल भारत जोड्ने मोटरपुल निर्माणको तयारी भइरहेको छ । पुल निर्माणस्थलको टुंगो भने एक वर्षअघि नै टुंगो लागेको थियो । नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त रुपमा स्थलगत भ्रमण गरी मोटरपुल निर्माणस्थलको टुंगो लगाएको अभिलेख छ ।
नेपालमा स्थानीय निर्वाचन भइरहेका बेला २०७४ असार पहिलो हप्ता दुइ देशको संयुक्त प्राविधिक टोलीले पुल निर्माणस्थलको सर्भेक्षण गरेको थियो । भारतीय राजदूतावासबाट मोटरपुल निर्माणका लागि २०७४ असार २ गते पत्राचार भएपछि दुई देशका अधिकारीहरुको संयुक्त समन्वय बैठक कञ्चनपुरमा बसेको थियो ।
कञ्चनपुरमा असार ६ गते बसेको दुइ देशका अधिकारीहरुको बैठकले असार ७ र ८ गते पुल निर्माणस्थलको सर्भेक्षण गर्न स्थलगत भ्रमण गर्ने निर्णय गरेको थियो । कञ्चनपुरको बैठकमा भारतीय पक्षले ‘उत्तराखण्ड सरकारले महाकाली नदीमा मोटरपुल निर्माणको प्राविधिक तयारी गर्न १९ लाख ६० हजार भारतीय रुपैयाँ बजेट विनियोजन गरेको’ समेत जानकारी गराएको थियो ।
उत्तराखण्ड सरकारले मोटरपुल निर्माणको ‘प्रारम्भिक मञ्जुरी दिदै बजेट विनियोजन गरेको जानकारी’ महेन्द्रनगरको बैठकमा गराइएको माइन्युटमा अभिलेख छ । सन् २०१२ देखि महाकाली नदीमा नेपाल भारत जोडने मोटरपुल निर्माणको चर्चा हुदैआएको छ । सन् २०१७ मा भने एक हप्ताभित्रै राजदूतावासको पत्राचारदेखि दुई देशका प्राविधिकहरुको बैठक र स्थलगत भ्रमणसम्मका कार्य भएका छन् ।
संयुक्त प्राविधिक टोलीको स्थलगत भ्रमणपछिको निस्कर्ष पनि संगसंगै निकालिएको अभिलेख छ । नेपालमा स्थानीय निर्वाचनको चटारो भइरहेका बेला प्राविधिक टोलीले एक हप्ताभित्रै समन्वय बैठक, स्थलगत भ्रमण र भ्रमणको निस्कर्ष निकाल्ने कार्य सम्पन्न गरेको छ ।
दार्चुलाका तत्कालिन प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले स्थलगत भ्रमणका बेला प्राविधिक टोलीले आफुलाई पुल निर्माणबारे मौखिक जानकारी गराएको बताउनुभयो । एक वर्ष अगाडि भएको संयुक्त प्राविधिक टोलीको भ्रमणले तीनवटा सम्भावित स्थल छनोट गरेको थियो । प्राविधिक टोलीले भ्रमण संगसंगै तीनवटा विकल्पमध्ये दोस्रो विकल्पलाई मोटरपुल निर्माणस्थल भनेर टुंगो लगाएको अभिलेख छ । २०७४ असार ७ र ८ गते स्थलगत भ्रमण गरिएसंगै पुल निर्माणस्थलको टुंगो पनि संगसंगै लगाइएको छ ।
संयुक्त प्राविधिक टोलीले अक्षांश र देशान्तरको विवरण सहित ३ वटा विकल्प संकलन गरेको थियो । तीन विकल्प मध्येको उत्तम विकल्प नम्बर २ हुन्छ भन्ने व्यहोरा एउटै माइन्युटमा उल्लेख छ । पुल निर्माणका लागि ‘धेरै पक्षलाई ध्यान दिएर विकल्प २ मा सहमति गरिएको’ माइन्युटमै उल्लेख छ । पुल निर्माणस्थलको छनोट गर्दा ‘भूबनोटको अवस्था, सडक पहँुच र ट्राफिक भीड’ आदिलाई आधार मानिएको बताइएको छ । सर्भे टीमको स्थलगत भ्रमणपछि निकालिएको निस्कर्षको चौथो बुँदामा दार्चुला र धारचुला जोड्ने पुलबारे उल्लेख छ ।
अन्तर्राष्ट्रिय सिमानामा निर्माण गरिने संरचना भएकोले प्राविधिकस्तरमा गृहकार्य भएको डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर शंकर खनालले बताउनुभयो । ‘उच्चस्तरमा प्राविधिक टीमबीच छलफल, समन्वय गरेर निर्माणस्थलको टुंगो लागेको हो’ उहाँले भन्नुभयो । ‘पुल निर्माणस्थलको टुंगो लगाउनु प्राविधिक विषय भएकाले प्रशासनिक र जनस्तरमा यसबारे छलफल नभएको हुनसक्ने’ उहाँको भनाई छ ।
खलंगादेखि धापसम्मको क्षेत्रमा मोटरपुल निर्माणस्थलको छनौट गर्न गृहकार्य गरिएको थियो । ‘खलंगादेखि तलतिर महाकाली नदी किनारको क्षेत्र पुल निर्माणका लागि अध्ययन गरिएको’ जानकारी आफुले पाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य बताउनुहुन्छ । धापको सुरकाडा र भारततर्फ तल्लो छारछुममा मोटरपुल बनाउन ‘प्राविधिक रुपमा उपयुक्त स्थान’ भन्दै दुबै देशको टीमले निस्कर्ष निकालेका थिए ।
मोटरपुल निर्माणस्थलको टुंगो लगाउन आयोजना गरिएको एक वर्षअघिको कञ्चनपुरको समन्वय बैठकमा सडक विभागअन्तर्गतको क्षेत्रिय सडक निर्देशनालय दिपायलका प्रमुख शिवराज नेपालले नेपाली पक्षको नेतृत्व गर्नुभएको थियो । सडक विभागअन्तर्गतको पुल महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर प्रभातकुमार झा, सडक डिभिजन कञ्चनपुरका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन पाटनका प्रमुख लालीजन खनाल र चारलेन पुल आयोजना कञ्चनपुरका प्रबन्धक सुनिलबाबु पन्त बैठकमा सहभागि रहनुभएको थियो ।
भारतीय पक्षको नेतृत्व लोक निर्माण विभाग पिथौरागढका प्रमुख इन्जिनियर सत्येन्द्र शर्माले गर्नुभएको थियो । लोक निर्माण विभाग चम्पावतका वरिष्ठ इन्जिनियर दिवाकरसिह ह्याकी, लोक निर्माण विभाग अस्कोटका इन्जिनियर एबी कान्डापाल लगायत ६ जना भारतीय पक्षको बैठकमा सहभागिता थियो ।
महाकालीमा मोटरपुलको स्थलगत सर्भेक्षण भ्रमणमा लोक निर्माण विभाग पिथौरागढका वरिष्ठ इन्जिनियर योगेश शैलको नेतृत्वमा प्राविधिकहरु सहभागि थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस् !