पदम बडाल, दार्चुला ।
महाकाली पारी भारतीय सिविरमा रहेका नेपालीहरुलाई नेपाल भित्र्याउन भारत सरकारको निर्देशन पर्खिनु परेको छ ।
पिथौरागढ जिल्लाको धारचुलाका विभिन्न ४ सिविरमा रहेका रहेका ८ सय ३३ नेपालीहरुलाई नेपाल पठाउन भारत सरकारको अनुमति पर्खिरहेको पिथौरागढ जिल्लाका प्रमुख जिला अधिकारी डा. बिजयकुरमा जोगदण्डेले जानकारी दिनु भएको छ ।
हामीले गृहमन्त्रालय र पराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेका छौं । केही दिनमा नेपालीहरुलाई छोड्ने आदेश आउन सक्छ । प्रमुख जिल्ला अधिकारी डा. जोगदण्डेले भने । किरियापुत्रीहरुलाई नेपाल पठाउन नै चारपाँच दिन कुर्नु परेको स्मरण गराउँदै सामान्य नागरिकहरुलाई पठाउनु पर्ने भएकाले केही बिलम्ब भएको हुन सक्ने बताउँदै प्रमुख जिल्ला अधिकारी डा. जोगदण्डे भन्छन्–‘भारत सरकारले अनुमति दिने बितिक्कै धारचुलामा रहेको पुल क्षेत्रबाट नेपालीहरुलाई नेपाल पठाइने छ ।’
नेपाली पक्ष एक हप्तादेखि पर्खाईमा
भारतीय सिविरमा बसेकाहरुलाई एक महिनाभन्दा बढी भएको र संक्रमणको कुनै लक्षण समेत नदेखिएकाले सिविरमा बसेका नेपालीहरुलाई ल्याउन पहिले नै एक हप्ता पहिलेदेखि नै तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँर बताउँछन् ।
‘हामीले एक हप्ता पहिले नै भारतीय प्रशासनलाई नेपालीहरुलाई छोड्न पत्राचार गरेका थियौं उनीहरुले केन्द्र सरकारको निर्देशन नआएसम्म नछोड्ने भएकाले बिलम्ब भएको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँर भन्छन् ।
आफ्ना क्षेत्रका नागरिकहरुलाई लैजान यातायातको व्यवस्था सहित बैतडी र बझाङ्का जनप्रतिनिधि दार्चुला पुगेको बताउँदै सहायक प्रजिअ कुवँर भारतीय क्षेत्रबाट ल्याइने नेपालीहरुलाई उनीहरुको स्थानीय सरकारको जिम्मा लगाउने गरी तयारी गरिएको बताउँछन् ।
कति छन् महाकाली पारी ?
झण्डै एक महिलना पहिलेदेखि सिमावर्ती क्षेत्रका चार ठाउँमा ८ सय ३३ जना नेपालीहरु सिविरमा राखिएका छन् ।
ज्यालामजदुरी गर्न नेपालका ११ जिल्लाबाट पिथौरागडका विभिन्न क्षेत्रमा गएका नेपालीहरुमध्ये सबैभन्दा बढी बैतडीका छन् । सिविरहरुमा बैतडीका ३ सय १४ छन् भने त्यसपछि बझाङका २ सय २८ जना रहेका छन् । सिविरमा दार्चुला १ सय ५२, कैलालीका ६८, डडेल्धुराका २२, अछामका १८, सुर्खेतका १५, जाजरकोटका ३, दैलेखका २ र डोटीका १ जना रहेका छन् ।
उनीहरुलाई सिमापारी धारचुलाको बरम, बालुवाकोट, निगलपानी र धारचुलाको स्टेडिममा राखिएको छ ।