बर्डर–लाइनः प्यादाहरुको शासन र स्वाभिमानीहरुको व्यथा

234

शंकर सिंह धामी ।
राज्य संयन्त्र हाक्ने पात्रहरु योग्य र इमान्दार नहुदा देशमा वेथिति बाहेक अरु के नै उपलब्धि हुन्छ र ? सुन्दर, शान्त, नेपालको उद्घोष प्राकृतिक रुपमा त उपयुक्त छ तर आधुनिक राज्य प्रणालीका हिसाबले विकृत, अशान्त र दयनिय अवस्था छ ।

‘स्वतन्त्र र सार्वभौम देश र त्यो देशका नागरिक हौ’ भन्नलाई लाज मान्नुपर्ने अवस्था देखिन्छ । हाम्रा राज्य संयन्त्रको नेतृत्व गर्ने र राज्य संयन्त्र हाक्नेहरुको अवस्था र अभ्यास हेर्दा लाग्छ ‘हामी कहिल्यै अर्काको उपनिवेशमा रहेनौ तर कहिल्यै स्वतन्त्र पनि भएनौ कि ?’ ।
देशको राजनीतिक परिदृश्यमा मात्र होइन दैनिक शासन सञ्चालनमा पनि स्वतन्त्रता र सार्वभौमिकता देखिदैन । प्रशासनिक, सुरक्षा, विकास निर्माण लगायत सबैजसो क्षेत्रमा राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ कहिकतै देखिदैन । सबै नीतिको मूल नीति ‘राजनीति’को नेतृत्व गर्ने होडबाजीमा उत्रिने पात्रहरु र तिनका प्रवृति हेर्दा लाग्छ– राजनीतिक पात्रहरु भनेका चेस खेलका प्यादा मात्र हुन्, यिनीहरुलाई चलाउने त कोही अरु नै छन् । सत्तारोहण हुँदा छिमेकी देशहरुसंगको मित्रताबारे ढोङ पिट्ने र सत्ताबाट बाहिरिदा विदेशीको चलखेलको आरोप लगाउने अभ्यास सधैभरी देखिन्छ । सत्तामा नजादासम्म कट्टर राष्ट्रवादी देखिनेहरु सरकारमा हुँदा, कुर्सीमा बस्दा र भूमिकामा हुँदा केही राम्रो गर्दैनन् । सत्ताबाट बाहिरिदा भने आफ्ना कारण होइन प्रतिपक्षका कारण, विदेशीका कारण वा अन्य बाह्य पक्षका कारण राम्रो गर्न नसकेको भन्दै आफैलाई चोख्याउछँन् ।
देश हाक्ने राजनीतिको नेतृत्वकर्ता र राज्य संयन्त्रका पात्रहरुमा माटो र जनताप्रति उत्तरदायित्वबोध भएको भए देशमा जताततै प्यादाहरुको उपस्थिति देखिने थिएन । कोहीकतै एकाध असल पात्र भए पनि प्यादाहरुको बथानले उनीहरुलाई कुल्चिएको होला । एमसिसि र विआरआइमा मात्र राजनीतिक पात्रहरुबीच पक्षधरता देखिदैन, देशभित्रको दैनिक शासन सञ्चालनमा पनि प्यादाहरुको उपस्थिति र भूमिका देखिन्छ । कुन जिल्लामा कसलाई सिडिओ पठाउने, कस्लाई प्रहरी प्रमुख बनाएर पठाउने, कुन कार्यालय वा आयोजनामा कस्लाई प्रमुख बनाउने भन्नेसम्मको खटनपटनमा विदेशीको चलखेल भइरहेको देख्न सकिन्छ ।
राज्यका कुनै पनि निकाय वा संयन्त्रप्रति नागरिकको विश्वसनियता छैन । आसेपासे, टाठाबाठा र खुरापातीहरुले नै राज्य संयन्त्रलाई लुटिरहेका छन् । भाषणमा, शब्दमा, कागजमा लोकतन्त्र, समाजवाद, सुशासन जे भने पनि हाम्रा राज्य सञ्चालकहरु क्रुर छन्, अलोकतान्त्रिक छन्, निरंकुश छन् र गैरजिम्मेवार छन् । आफुलाई राम्रो, गुणवान र अब्बल देखाउन सबैले कसरत गर्छन् तर राम्रो अभ्यास गर्ने र जनताको हितमा असल परिणाम ल्याउने गरी काम गर्नेहरुको खडेरी छ नेपालमा । संवैधानिक अंगहरु र राज्य सञ्चालनका महत्वपूर्ण निकायहरु हाक्ने पात्र र प्रवृति मसिनो ढंगले केलाउने जोसुकैले पनि त्यही प्यादाको स्थिति देख्छ ।
देशमा प्यादाहरुको शासनले निरन्तरता पाइरहनुमा जनताको दोष छैन । जनताको दोष छ त एउटै छ–आशावादी बन्ने र विश्वास गर्ने । यो आशावादी बन्ने र राज्य संयन्त्र वा राजनीतिक नेतृत्वप्रति विश्वास गर्ने अवस्थाको विकल्प पनि छैन । किनकी हामीले निरंकुश शासन व्यवस्था पनि देख्यौं, भोग्यौं, लोकतान्त्रिक, गणतान्त्रिक शासन व्यवस्था पनि भोगिरहेका छौ । शासन व्यवस्थाका नाम परिवर्तन भए, थोरबहुत भौतिक परिवर्तन पनि नभएको होइन तर उच्च राजनीतिक संस्कार र लोककल्याणकारी राज्य सञ्चालनको अभ्यास नेपाली जनताले कहिल्यै देख्न र भोग्न पाएको छैन ।
एउटा स्वाभिमानी नागरिक भएर देश र राज्य संयन्त्रलाई नियाल्ने हो भने भने निराशाको अवस्था छ । चाकरी र दलालीले वर्तमानको राजनीति हाँकिरहेको छ । नेतृत्व र प्रशासकका आसेपासेले राज्यका स्रोतसाधन र सम्पत्तिको मनलाग्दी दोहन गरिरहेका छन् । मन्त्रालय र विभागस्तरमा मात्र होइन यस्तो दोहनको अचाक्ली अवस्था प्रदेश र जिल्लास्तरका सरकारी कार्यालय, सरकारी सम्पत्ति र पालिकास्तरमा पनि देखिन्छ । वडास्तरमा सरकारी मोटरसाइकलको प्रयोगमा पनि यस्तो अवस्था देख्न सकिन्छ । बजेट र कार्यक्रमहरुबाट आसेपासे, नातागोता, कार्यकर्ता र चिनजान भएकाहरुलाई पोस्ने अभ्यास व्याप्त छ ।
देशको हित, समाजको विकास र भलाइ चाहने पात्रलाई वर्तमानको राजनीतिक र शासकीय परिदृश्यले बेचैन बनाउने निश्चित छ । स्वाभिमानका साथ म नेपाली हुँ, नेपाल स्वतन्त्र छ, देशमा कल्याणकारी राज्य छ, सरकार छ भनेर ढुक्क हुने अवस्था छैन । मौका मिल्यो भने राज्य संयन्त्र र तिनका नेतृत्वकर्ताहरु पनि रातारात ध्वस्त र परिवर्तन हुने परिपाटी हाम्रो देशमा छ । देउवाको अघिल्लो कार्यकालमा प्रधान न्यायाधिशमाथिको महाभियोग, ओलीको गोयल भेटघाट, प्रचण्डको शक्तिमोह र आफन्तमोहले नेपाली राजीतिको घृणित परिदृश्य दर्शाउँछ ।
कोहीकतै असल, इमान्दार राजनीतिक पात्र छन् भने पनि उनीहरुले भूमिका खेल्ने परिवेश छैन । हुन त प्रतिकुलतामै संघर्ष गरेर राम्रो अवस्था र व्यवस्था ल्याउनेलाई नै असल र सक्षम नेतृत्व भनिन्छ । नेपाली राजनीतिमा कोही त्यस्ता पात्र छन् भने उनीहरुको संघर्ष र प्रयत्नले यसप्रकारको सफलता छिट्टै प्राप्त गरोस् । दैनिक शासन सञ्चालनका प्रमुख पात्रहरु भनेको कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्रबारे धेरै भनिरहनु पर्दैन, राम्रो कार्यक्रम र अवसरलाई पनि छायामा पारिदिने क्षमता र ल्याकत नेपालको कर्मचारीतन्त्रमा छ । माटो र जनताप्रति इमान्दार भएर सेवा दिने कर्मचारी नेपालमा कति होलान् ? एकछिन आफ्नै वरिपरि र नजिकका कर्मचारीहरुको अभ्यास नियालौं ।
देशको वर्तमान परिवेश हेर्दा निस्कर्ष आउछ– देश प्यादाहरुले सञ्चालन गरिरहेका छन् । प्यादाहरु समय समयमा परिवर्तन भइरहन्छन् । चेसका खेलाडीहरुले आफ्नो इच्छा र आवश्यकता अनुसार यी प्यादाहरुलाई चलाउने गर्छन् । हामी अर्थात नेपाली जनताको स्वाभिमानमा यी प्यादाहरुले लात हानिरहेका छन् । स्वतन्त्र र सार्वभौम नेपाल चाहने नेपालीको स्वाभिमानको व्यथा निरन्तर बढ्दो छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !