पुरचौडीमा अस्थायी कोभिड अस्पतालमा खोप केन्द्र

84

बैतडी, माघ १८ गते ।
बैतडीमा कोरोना विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पताल बाहिर पहिलो पटक पुर्चौंडीमा खोप केन्द्र सञ्चालनमा आएको छ । अस्थायी कोभीड अस्पताल पुर्चौडी हाटमा आइतबार एक कार्यक्रमको आयोजना गरी खोप केन्द्र सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभएको छ ।


सरकारले कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालनमा ल्याएको दुर्गम क्षेत्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सहज होस भनेर जिल्ला सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
पुर्चौंडीमा सञ्चालनमा ल्याएको खोप केन्द्रबाट डिलाशैनीका केही वडाका स्वास्थ्यकर्मीहरुलाई समेत खोप लगाउन सहज हुने बताइएको छ । सो खोप केन्द्रमा ३ सय डोज खोप समेत पुर्याईएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो । खोपलाई सुरक्षित रुपमा भण्डारण गर्ने व्यवस्था समेत खोप केन्द्रमै गरिएको बताइएको छ ।
आइतवार पहिलो दिन १४० जनाले खोप लगाएका छन् । स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकाले कोरोना विरुद्धको खोप लगाएका हुन । सरकारले पहिलो चरणको खोप अभियान ५ दिन थप गरेकाले अझै ५ दिन पहिलो चरणको अभियान सञ्चालन हुने जनाएको छ ।
यस्तै जिल्ला अस्पताल बैतडीको खोप केन्द्रबाट पनि आइतवार ११० जनाले खोप लगाएका छन् । खोप अभियानको पहिलो चरणको ५ दिनमा जिल्लाभरीका ८ सय ५६ जना स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाएका छन ।
पहिलो चरणमा बैतडीमा कोरोना विरुद्धको खोप लगाउनका लागि १ हजार ९ सय ६५ जनाको तथ्यांक संकलन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस् !