बर्डर लाईनः न्याय माग्दा दुइ देशको सम्बन्ध कसरी बिग्रिन्छ ?

279

शंकर सिंह धामी ।

साउन १५ गते एसएसवीका दुइजना सुरक्षाकर्मीले तुइन फुकालिदिदा जय सिंह धामी महाकाली नदीमा वेपत्ता भएको विषय अहिले चर्चामा छ ।

यो घटनाबारे प्रत्यक्षदर्शी, पीडित परिवार, सीमाक्षेत्रका नागरिक र स्थानीय सरकारसम्मले एसएसवीकै कारण जय सिंह धामी तुइनबाट वेपत्ता भएको बताइरहेका छन् । संघीय संसदको दुबै संसदमा प्रतिपक्ष र सत्तापक्षका दर्जनौं माननीयहरुले पनि घटनामा एसएसवीको संलग्नता रहेको विषय उठाएका छन् । राष्ट्रिय सञ्चारमाध्यमहरुले एसएसवीको संलग्नताबारे एक हप्तादेखि नयाँ–नयाँ तथ्य र स्रोतसहितका समाचार मात्रै पस्किरहेका छैनन्, सम्पादकीयमार्फत नेपाल सरकारलाई रचनात्मक सुझावहरु समेत पस्किरहेका छन् । सुरक्षाविद्, सिमाविद्, राष्ट्रिय तथा सार्वजनिक जीवनका धेरै पात्रहरुले पनि एसएसवीका कारण तुइन घटना भएको बताउदै यसबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
महाकाली नदीको यो तुइन घटनामा सिंगो देशको आवाज एकढिक्का देखिन्छ, सुनिन्छ । घटनामा एसएसवीका सुरक्षाकर्मीको अपराधबारे छानविन र न्यायिक उपचारको माग उठिरहको छ । तर नेपाल सरकार र सीमित संख्यामा केही पात्रहरुले भने यो घटनालाई सही रुपमा ठम्याउन सकेका छैनन् । घटना लगत्तै सरकारले गृह सचिवको नेतृत्वमा छानविन समिति गठन गरेको हल्ला मात्रै फिजाइएन, राष्ट्रियस्तरका मिडियाबाट समाचार समेत आयो । तर घटना भएको तेस्रो दिन साउन १७ गते मात्रै सहसचिवको नेतृत्वमा छानविन समिति गठन भएको अर्को समाचार बाहिर आयो ।
घटनाको भोलिपल्टै जिल्लास्तरबाट डिएसपीस्तरका सुरक्षा अधिकारीहरुको टोली घटनास्थल पुग्यो । घटनास्थलको अवलोकन गरेको छ, प्रत्यक्षदर्शी, पीडित परिवार र स्थानीयसंग पनि उक्त टोलीले छलफल गरेको छ । घटनाबारे स्थलगत भ्रमण गरेको यो टोली सोमबार सदरमुकाम फर्किएको छ तर अहिलेसम्म घटनाको प्रारम्भिक अनुसन्धान समेत बाहिर आएको छैन । बुधवार मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानविन समिति दार्चुला पुगेर अनुसन्धान थालिएको छ । जबकी जिल्लास्तरका सुरक्षा अधिकारीहरुको स्थलगत भ्रमण, अध्ययन, छलफलले अहिलेसम्म केही न केही निस्कर्ष निकाल्नुपर्ने हो । सो निस्कर्ष जिल्ला वा केन्द्रस्तरबाट तत्काल सार्वजनिक नभए पनि गृह मन्त्रालय वा नेपाल सरकारबाट प्रारम्भिक अनुसन्धानको निस्कर्षको आधारमा उपयुक्त कदम चालिनुपर्ने हो ।
संसदमा दर्जनौं प्रतिपक्ष र सत्तापक्षकै सांसदहरुले घटनाबारे गम्भीर हुन र भारतीय पक्षसंग यसबारे छलफल गर्न, कुटनीतिक नोट पठाउन र राजदूतमार्फत आपत्ति जनाउन सुझाव दिइसकेका छन् । तर नेपाल सरकार अहिलेसम्म दर्जनौं सांसदहरुले पाएको जानकारी, उनीहरुले दिइरहेको सुझावमा सहमत देखिदैन । जिल्लास्तरका सुरक्षा अधिकारीहरुको स्थलगत भ्रमण र उनीहरुको रिपोर्टिङले के देखायो भन्ने कहिकतै सार्वजनिक भएको छैन । नेपाल सरकारको अभिव्यक्ति र पहलमा पनि यो स्थलगत भ्रमणको निस्कर्ष झल्किदैन । १० दिनको समयसीमा दिएर सहसचिव नेतृत्वको छानविन समितिलाई जिल्ला र घटनास्थलमा पठाउने बाहेक अहिलेसम्म नेपाल सरकारको सार्थक कदम केही देखिदैन ।
घटनाको तेस्रो दिन जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयले एउटै विषय र आशयको विज्ञप्ति जारी गरी तुइन घटनाबारे बोलेका छन् । विज्ञप्ति दुइटा भए पनि घटनाबारे दुबैको भनाई र आशयमा केही भिन्नता छैन । पहिला जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक विज्ञप्तिमा घटनाबारे ‘तथ्यहित र भ्रामक सुचनारसमाचार सार्वजनिक नगर्न’ भनिएको छ । त्यतिमात्र होइन, घटनामा एसएसवीको संलग्नताको प्रसंग उठाउदा ‘दुइ देशको सम्बन्धमा खलल पुग्नसक्ने’ सम्मको काइते चिन्ता र कायरता समेत विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयको विज्ञप्ति पनि जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिको प्रतिलिपि देखिन्छ ।
संसदको दुबै सदनमा जवाफ दिए पनि गृहमन्त्रीले घटनामा एसएसवीको संलग्नताबारे केही बोल्न सकेका छैनन् । गृहमन्त्री भन्दैछन्– ‘घटनाबारे नेपाल सरकार गम्भीर छ, छानविन टोली खटाइएको छ, छानविन टोलीको प्रतिवेदनको आधारमा जे आउछ, त्यसमै टेकेर नेपाल सरकारले कदम चाल्छ ।’ घटनाको विश्वसनियता घटनास्थलको प्रकृति, घटनाको व्यहोरा, प्रत्यक्षदर्शीको भनाई, पीडित परिवारको भनाई र घटनासंग सरोकार राख्ने स्थानीयको विगतको भोगाइमा निर्भर रहन्छ । यी सबै आधारमा घटनामा एसएसवीको संलग्नतालाई नकार्न सकिने अवस्था भने कहिकतै देखिदैन ।
अहिलेसम्म दुइ दर्जनभन्दा बढी नेपालीले महाकाली नदीको तुइनमा ज्यान गुमाएका छन् तर कुनै पनि घटनामा एसएसवीको प्रत्यक्ष सहभागिताबारे प्रश्न उठेको थिएन । साउन १५ गतेको घटनामा पनि जय सिंह धामीले तुइन तर्नुअघि ४ जना नेपाली सहज रुपमा मालघाटबाट भारतीय भूमि प्रवेश गरेका छन् । करिब आधा घण्टापछि जय सिंह धामीसहितका तीनजनाले तुइन तर्ने क्रममा महाकाली किनारमा एसएसवीका दुइजना सुरक्षाकर्मी पुगेर तुइनको डोरी फुकालिदिएको वास्तविकतालाई किन लुकाउन खोजिदैछ ?
गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति तथा गृहमन्त्रीको मौनतासंग भारतीय सञ्चारमाध्यमका समाचार, पिथौरागढका डिएम, धारचुलाका एसडिएम र एसएसवीको भनाइमा समानता देखिन्छ । त्यो समानता के भने ‘घटनामा एसएसवीको संलग्नता देखाउने हो भने नेपाल–भारतको सम्बन्धमै असर पर्न सक्छ’ भन्ने चाँसो र चिन्ता । त्यसकारण घटनालाई मत्थर पार्ने, एसएसवीको संलग्नता नदेखाउने भारतीय पक्षको चाहना र प्रयासमा नेपाल सरकार सहयोगी बनिरहेको छ होइन ? यो गम्भीर आशंकाको विषय देखिन्छ ।
घटना भैहाल्यो, अब यसलाई उछालेर के नै उपलब्धि हुन्छ र ? भारतसंग यसबारे लडेर न्याय पाउन सकिन्छ र ? यस घटनामा एसएसवीको संलग्नता देखाउदा र कारवाहीको माग गर्दा नेपालको सत्ता सञ्चालनमा असर पर्ने हो कि भन्ने मनस्थिति र चिन्तन मौन रुपमा अभिव्यक्त भइरहेका देखिन्छन् ।
एसएसवीले घटनामा आफ्नो संलग्नता लुकाउन आरोपित दुइ सुरक्षाकर्मीलाई धारचुला तहसिल क्षेत्रभन्दा बाहिर पठाएको खवर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमबाट सितापुलमा एकजना नेपाली महिलालाई उपचारका लागि एसएसवीको टोलीले स्ट्रेचरमा बोकेको र सीमाक्षेत्रमा नेपालीसंग मानवीय व्यवहार गरेको समाचार देखाउने प्रयास भएको छ ।
हो, अधिकांश सिमाक्षेत्र र समयमा दुई देशका सुरक्षाकर्मीले मानवीय व्यवहार देखाएका छन् । कानुनी रुपमा अवैध भए पनि महाकाली नदीमा तुइनमार्फत दुइ देशका नागरिकले आवतजावत गरिरहेको वास्तविकताबारे सुरक्षाकर्मीका साथै दुबै देशका प्रशासन पनि जानकार छन् । विभिन्न समय र स्थानमा एकअर्का देशका नागरिकलाई मानवीय सहायता उपलब्ध भइरहेको छ । तर मालघाटको तुइन घटनालाई अहिलेसम्मका सम्बन्ध, मानवीय सहयोगले छेक्न सक्दैन । ओझेल पार्नु हुँदैन । दुइ देशको सम्बन्ध बिग्रिने चिन्ताले मालघाटको तुइन घटनामा एसएसवीको संलग्नता लुकाउन, छिपाउन सकिदैन ।
हामी नेपाली छिमेकी भारतका मित्र र शुभचिन्तक हौ । भारतीय जनता पनि हाम्रा असल मित्र र शुभचिन्तक छन् । सीमाक्षेत्रमा रहेको सांस्कृतिक सम्बन्धकै कारण नाकाबन्दीका समयमा समेत दार्चुलाको सिमाक्षेत्रमा कुनै समस्या देखिएको थिएन । नेपालको राप्ला र भारतको पाङला, गस्कु, जयकोट क्षेत्रमा मात्र होइन महाकाली नदी किनारका सबै वारिपारीको क्षेत्रमा जनस्तरमा घनिष्ठ सम्बन्ध छ । दुबैतर्फ जनताबीचको सम्बन्धकै कारण मालघाटको घटना सिमाक्षेत्रका भारतीय नागरिकलाई पनि दुखेको छ । एसएसवीबाट भएको अमानवीय घटनाको अनुसन्धान हुनुपर्ने भारतीय नागरिकको चाहना छ । तर एसएसवीले पाङला जयकोट क्षेत्रका तीनजना स्थानीय गाडीचालकमाथि कारवाही गर्न उत्तराखण्ड प्रहरीलाई उजुरी दिएको समाचार सार्वजनिक भएको छ । घटनाबारे सिमाक्षेत्रका भारतीय नागरिकबाट वास्तविकता बाहिर आइहाल्छ भन्ने डरले एसएसवी स्थानीयमाथि त्रास देखाउदैछ । स्थानीय भारतीय नागरिकमाथि ‘महाकाली नदीमा तुइनमार्फत अवैध ओसारपोसार गराएको र सामाजिक सञ्जालमा तुइन घटनाबारे गलत प्रचार गरेको’ आरोप लगाएर एसएसवीले आफ्ना दुइ सुरक्षाकर्मीको गल्ती ढाकछोप गर्न खोजिरहेको छ ।
हामी नेपालीजन हाम्रा भारतीय मित्र र मित्रराष्ट्रको अहित कहिल्यै चाहदैनौं । तर मालघाटको घटना ओझेलमा परेको देख्न सक्दैनौं । हामी चाहन्छौं, भारतीय प्रशासन र एसएसवीले घटनाको वास्तविकतालाई आत्मसात गर्नुपर्छ । सिंगो भारत देश, भारतीय प्रशासन वा एसएसवीको संगठनले नेपालीलाई दुःख दिने नियत राख्दैन । तर सुरक्षा संगठनभित्र कहिलेकाही केही पात्रहरुले गलत गर्न सक्छन् भन्ने सम्भावनालाई नकार्नु हुँदैन । तसर्थ, घटनामा संलग्न दुइ जना सुरक्षाकर्मीमाथि अनुसन्धान थाल्नुपर्छ । सीमाक्षेत्रमा हुने यस्ता अमानवीय गतिविधि र व्यवहार दोहोरिनु हुँदैन । घटनाका दोषि दुई सुरक्षाकर्मीलाई कारवाही गर्दा एसएसवी, भारतीय शासन र भारत देशको इज्जत जाँदैन । बरु करोडौं नेपालीको मैत्रीपूर्ण भावना र ऋषिमनको साथ छिमेकी पाउँछ । असल मित्रराष्ट्रले वास्तविकतालाई आत्मसात गर्न सक्यो भनेर नेपालीजनबाट स्याबासी पाउने अवसर छिमेकीलाई छ । असल मित्रता र जनस्तरको मैत्रीपूर्ण सम्बन्धलाई अझ विश्वसनिय र घनिष्ठतम बनाउनमा यस्ता सकारात्मक अभ्यासहरुले योगदान पुर्याउन सक्छन् । हिन्दुस्तानका ऋषिमनहरुलाई चेतना भया ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !