निरंकुश राजनीति र व्यावसायिक पत्रकारिता

438

शंकर सिंह धामी
देशमा लोकतान्त्रिक शासन व्यवस्था छ । गणतन्त्र र संघीयताको प्रारम्भिक अभ्यास भइरहेको छ । देशमा लोकतान्त्रिक शासन व्यवस्था ल्याउनका लागि धेरै संघर्ष, त्याग र बलिदानी गरिएको इतिहास र पृष्ठभूमि समेत छ । तर त्याग, संघर्ष र बलिदानी गर्ने राजनीतिले निरंकुश चरित्र भने केन्द्रदेखि गाउँसम्म आत्मसात गरेको छ ।
फरक विचार र पार्टीको अस्तित्व स्वीकार नगर्ने नेपाली राजनीतिको प्रमुख विशेषता हो । नेता, कार्यकर्ता मात्रै होइनन, नेपालमा प्रशासक, कर्मचारी, न्यायालय, सञ्चारलगायत सबै क्षेत्र राजनीतिको शिकार भएका छन् । आज देशमा न्यायाधिश हुँदा पनि कुन पार्टीको सिफारिसमा भयो भन्ने चर्चा र विश्लेषण गरिन्छ । निर्वाचनमा सुरक्षाकर्मीलाई समेत भोट हाल्न दिइएपछि त नेपालमा कुनै पनि व्यक्ति विचार र आस्थाबाट प्रभावित हुन बाँकी छैन । किनकी बन्दुक र आदेश बोकेको सुरक्षाकर्मीले समेत आफ्नो विवेकको प्रयोग गरी भोट हाल्ने अभ्यास भएको छ । सबैतिर राजनीतिक कित्ताकाटको अभ्यास देखिने र बुझिनेगरी भइरहेको छ ।
विचार र आस्था एउटा धारको भए पनि उच्च नैतिकता र इमान्दारितामा सबैले उभिन सक्नुपर्छ । सार्वजनिक पद र भूमिकामा रहेका सबै पात्रहरुले पदीय जिम्मेवारी एवं भूमिकाको हेक्का राख्नुपर्छ । तर आज यो इमानको धारमा उभिन सक्ने अवस्था कमजोर बन्दैगएको छ । आफु अनुकुलको संरचना र परिस्थिति चाहने राजनीतिक प्रवृतिले आज समाजको सबैजसो क्षेत्रमा इमान र नैतिकतामा डगमगाएको छ ।
तीन दशकअघिदेखि बहुदलिय प्रजातन्त्रको अभ्यास भए पनि देशमा लोकतान्त्रिक राजनीतिक संस्कार स्थापित हुन सकेको छैन । आफु अनुकुलको परिस्थिति र संरचना बनाएर आदर्शका भाषण ठोक्ने नेपाली राजनीतिको प्रमुख विशेषता छ । सरकार र शक्ति जस्तो हातमा भए पनि आफु अनुकुलको अभ्यास मात्रै गरियो, देशलाई एउटा असल अभ्यास र प्रणालीमा चलाइएन । गाउँ र वस्तीस्तरसम्म राजनीतिक कित्ता मात्रै निर्माण भएनन्, एकले अर्कोलाई निषेध गर्ने स्थायी अभ्यास पनि हुँदैआएको छ ।
लोकतान्त्रिक राजनीतिमा फरक विचार र आस्थाको सम्मान हुनुपर्ने हो । जवाफदेहिता र उच्च नैतिक मूल्यको अभ्यास हुनुपर्ने हो । तर कहिकतै यो हुन सकेको छैन । राम्रो गर्ने सोचविचार र योजना बनाएर राजनीतिमा होमिएका पात्र पनि राजनीतिभित्रको हिलोले रोपाइका किसान जस्ता फुलबुट्टे भएका छन् । राम्रो गर्न चाहने र नैतिक मूल्यमा उभिन चाहनेहरु आफु चाहेर पनि राम्रो गर्न सक्ने अवस्थामा छैनन् । यो परिवेशले सिंगो नेपाली समाजलाई गाँजेको छ ।
जिल्ला र गाँउको परिवेश एकअर्कालाई सिध्याएर मात्रै आफ्नो अस्तित्व देख्ने गरिन्छ । छलकपट, जालझेल र खुरापाती राजनीतिको आधारभूत विशेषता बनिसकेको छ । सही बोल्ने, राम्रो गर्ने, इमान्दारिता देखाउने र सहअस्तित्व स्वीकार्ने कुरा राजनीतिमा कतै देखिदैन । यतिसम्मको निरंकुशता छ कि प्रतिस्पर्धी पार्टी र विचार मात्रै होइन आफ्नै पार्टीभित्रको फरक समूह, नेता, कार्यकर्ता र समर्थकलाई समेत पेलेर सिध्याउने अभ्यास देखिन्छ । आफु अनुकुल भए सबै ठिक ठहरिन्छ । आफ्नो पक्षमा नभए डराउने, धम्क्याउने र सिध्याउने अभ्यास हुन्छ । यो राजनीतिक कुसंस्कार र निरंकुशता सबैतिर नराम्ररी झांगिएको छ । यो कुसंस्कार र निरंकुशताले इमान, नैतिकता र जवाफदेहिताका सबै हांगा र पातहरु सुकाउन लागेको छ ।
पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंग भनिएको छ । तर सबैले आफु अनुकुल मात्रै पत्रकारिता चलोस् भन्ने चाहन्छन् । आलोचनात्मक पत्रकारितालाई मन पराउने राजनीतिक पात्र खोज्नलाई दिउसै टर्चलाइट बाल्नुपर्ने अवस्था छ । आफ्नोबारेमा सानो पनि नकारात्मक टिप्पणी वा विषय उठेको सुन्न चाहदैन आजको राजनीति । जताजतै आफ्नै जयजयकार मात्रै गरेको, भएको हेर्न चाहने प्रवृति छ ।
आज आफु अनुकुल पत्रकारिता चलाउन पत्रकारिताका पात्रलाई लोभ्याउनेदेखि तर्साउने, धम्क्याउने र थर्काउने अभ्यास पनि भइरहेको छ । त्यतिमात्रै होइन, आफ्नो प्रतिकुल लेख्ने पत्रकार र मिडियाहाउसलाई निषेध गर्ने हर्कत पनि देखिन्छन् । त्यस्तै परे, प्रतिकुल पत्रकारिता गर्नेलाई काउन्टर दिन नयाँ मिडिया सञ्चालन गर्ने, गराउने, लगानी गर्ने अभ्यास पनि छ ।
राजनीति हाँक्ने पात्र निष्ठावान, इमान्दार र नैतिकवान नहुँदासम्म निरंकुश प्रवृति हावी भइरहन्छ । कानुनी व्यवस्था जस्तोसुकै भए पनि व्यवहार लोकतान्त्रिक र नैतिकवान हुन सकेन भने त्यसको केही अर्थ छैन । आज गाउँवस्तीदेखि केन्द्रसम्म इमानको राजनीति छैन । छुद्रता, भ्रष्टता, संकीर्णता र दम्भले राजनीति भ्रष्टिकरणको दिशामा छ । पत्रकारिता क्षेत्रकै ठूलो जनशक्ति आज राजनीतिको स्वार्थमा चलिरहेको छ । चाकरी गर्ने, दलाली गर्ने, स्वार्थपूर्ति गर्ने र जयजयकार गर्ने वा आखा चिम्लेर विरोध गर्ने प्रवृति पत्रकारितामा छ । पत्रकारिताको अधिकांश हिस्सा यो प्रवृतिले ग्रस्त हुँदा केही इमान्दार प्रयासहरु छायाँमा परिरहेका छन् । पत्रकारिता तथ्यमा टेकेर गर्नुपर्छ तर आज कसैको लोकप्रियता बढाउन वा बदनामी गर्नका लागि प्रचारबाजी गरिन्छ ।
पत्रकारको प्रस्तुति अर्थात समाचारमा तथ्यपरक विवरण र सन्तुलन हुनैपर्छ । जसको बारेमा समाचार लेखिन्छ त्यो पक्षको भनाई र तथ्यहरु समेटिएको हुनुपर्छ । आफुलाई मनलागेको कुरा राख्दैमा, लेख्दैमा समाचार हुँदैन । धेरै पत्रकारले सामाजिक सञ्जालमा केही भनाई राख्दा पनि त्यसैलाई समाचार ठानिदिने प्रवृति पनि छ । समग्रमा आज देशका गाउँवस्तीदेखि केन्द्रसम्म निरंकुश राजनीतिक चरित्र छ, राजनीतिक पात्रहरुमा निरंकुशता छ, र आजको पत्रकारिता पनि त्यसबाट अत्यधिक प्रभावित छ । निरंकुश राजनीतिले व्यावसायिक पत्रकारितालाई सधै चुनौती दिइरहन्छ र दिइरहेको पनि छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !