नपलच्याल ज्यू, नेपालदेखि नडराउनुस्, भारतलाई वार्तामा पठाउनुस्

316

शंकर सिंह धामी
मेरो यो लेख छिमेकी देश भारतका एकजना सेवानिवृत उच्च अधिकारी नृप सिंह नपलच्याल ज्यूका लागि केन्द्रीत छ । उत्तराखण्ड सरकारका पूर्व प्रमुख सचिव एवं पूर्व प्रमुख सुचना आयुक्त रहिसक्नु भएका नपलच्याल ज्यू विशिष्ट भाषा, संस्कृति र परम्परा भएका सौका समुदायका अभिभावक पनि हुनुहुन्छ । धारचुला तहसिलको नपलच्यु गाउँका वासिन्दा समेत रहनुभएका नपलच्याल ज्यूसंग मेरो प्रत्यक्ष भेटघाट र चिनजान भएको छैन । तर उहाँको बारेमा केही जानकारी भने राखेको छु ।
नेपाल र भारतबीच महाकाली नदीको मुहान कुन हो भन्ने विवाद दशकौंदेखि रहदैआएको छ । यसको समाधान आजको मितिसम्म हुन सकेको छैन । यसै पृष्ठभूमिमा पछिल्लो समय नक्सा प्रकरण आएको छ र दुई देशबीचको राजनीतिक र कुटनीतिकस्तरमा दूरी बढेको छ । भारत र नेपाल दुबै देशले जारी गरेका नयाँ नक्साहरु, भारतले नेपालको अतिक्रमित भूमिमा निर्माणपछि उद्घाटन गरेको सडक र अवरुद्ध भएको संवादको पाटोलाई केन्द्रमा राखेर २०७७ असार ४ गते (१८ जुन, २०२०) मा गढवाल पोष्ट पत्रिकामा उहाँले एउटा लेख लेख्नुभएको छ ।
मेरो लेख उहाँको त्यो लेखमै केन्द्रीत छ । यसका साथै २०७७ असार ७ गते (२१ जुन २०२०) मा दैनिक जागरण पत्रिकामा उहाँको प्रतिक्रियाका आधारमा प्रकासित समाचारको सन्दर्भ पनि जोड्छु । मैले यो लेख लेखिरहदा व्यासक्षेत्रका नेपाली सौका दाजुभाइहरुबाट एउटा अर्को खवर पनि पाएको छुँ– ‘दुई देशबीच सिमा विवाद चलिरहदा सिमाक्षेत्रका वासिन्दा (सौका समुदाय)ले यसबारे कुनै टिकाटिप्पणी नगर्ने आचारसंहिता नपलच्याल ज्यूबाट जारी भएको छ ।’ एक हदसम्म यो स्वाभाविक पनि हो तर आफ्नै अभिभावकत्वमा निर्माण गरिएको आचारसंहिता आफैले उलंघन गरी पत्रिकामा लेख र समाचार प्रकासित गर्ने कार्य सम्मानित व्यक्तिबाट भएको छ । यो दुखद् पाटो देखियो । नेपालतर्फबाट नागरिकलाई आफ्ना विचार तथा अभिव्यक्तिमा रोक्ने, छेक्ने तर भारततर्फका नागरिक, वुद्धिजीवि सबैले बढाइचढाई आफ्नो पक्षमा प्रचार गर्ने, भ्रम छर्ने कार्य भइरहेको छ । यो मेरो मात्रै भनाई र बुझाइ होइन, सिमा विवादबारे हामी सिमाक्षेत्रका जनताले आफ्ना अभिव्यक्ति सार्वजनिक नगरौं भन्ने तपाईकै सुझाव वा आग्रह पालना गरिरहेका नेपाली दाजुभाई पनि तपाईको लेख र प्रतिक्रियाबाट अचम्मित छन् र दुखित छन् ।
अब लागौं, गढवाल पोष्टमा प्रकासित लेखतर्फ । अंग्रेजीमा लेखिएको यो लेखमा तपाईले केही सत्य र तथ्यलाई स्वीकार गर्नुभएको छ साथै धेरै भ्रम र झुटो विवरण पनि राख्नुभएको छ । यो लेखमा तपाईले कालापानी र त्यसक्षेत्रका तीनवटा गाउँहरु (कुटी, नाभी, गुन्जी) हजारौं वर्षदेखि भारतको रहदैआएका छन् भन्नुभएको छ । यो पहिलो झुट हो । यही लेखमा तपाई आफैले उल्लेख गर्नुभएको छ सन् १७९० तिर गोर्खालीहरुले यसक्षेत्रमा शासन गरेका थिए भनेर । साथै, सन् १८१६ मा सुगौली सन्धी भएर नेपाल र भारतको सिमा निर्धारण भएको वास्तविकतालाई पनि लेख्नुभएको छ ।
तपाईले भनेझै सुगौली सन्धीले दुई देशको सिमा निर्धारण गर्दछ भने महाकाली (काली) नदीलाई सिमानदी मान्न किन तयार नहुने ? यो लेखमा नेपाल र भारतको सिमा सुगौली सन्धीले छुट्याउछ, काली पूर्वको भाग नेपालको र काली पश्चिमको भाग भारतको हो भन्ने तथ्यलाई तपाईले उल्लेख गर्नुभएको छ । सिद्धान्ततः यो ठिक छ । तर काली नदी कुन हो त ? तपाईले स्थानीय वासिन्दाको परम्परा, बुझाइ र भारत सरकारको दावीका आधारमा कालापानीबाट आउने खोलालाई काली नदी भन्नुभएको छ ।
नपलच्याल ज्यूले भारत सरकारको उच्च प्रशासनिक निकायको नेतृत्व गरिसक्नुभएको छ । भारत सरकारले २ नोभेम्बर २०१९ मा प्रकासित गरेको भारतको राजनीतिक नक्साको आठौं संस्करणमा काली नदी कहाँ छ ? कृपया एकपटक हेरिदिनुहोला । सर्भे अफ इन्डियाले प्रकासित गरेको उक्त नक्साले तपाईले भनेको कुटी याङती नदीलाई नै काली नदी उल्लेख गरेको छ । के एक–दुई कक्षामा पढ्ने विद्यार्थीले गल्ती गरेजस्तो भारत सरकारको नापी नक्सा सम्बन्धि काम गर्ने जिम्मेवार र आधिकारिक निकाय सर्भे अफ इन्डियाले गल्ती गरेको हो ? एक हप्ता नवित्दै प्रकासित भएको नवौं संस्करणमा नदीको रेखांकन गरिएको छ तर नाम उल्लेख नै गरिएको छैन । किन ?
स्थानीयवासीको परम्परा भन्दै निधन भएका आफन्तको अस्तु विसर्जन गर्ने ठाउँ कालापानी भएको लेखमा उल्लेख छ । तर सौका समुदायका वुढापाका र अग्रजहरुलाई सोध्नुहोला, लिम्पियाधुरा नजिकको पार्वती कुण्ड र कुटी गाउँमाथिको कालीको मुहानक्षेत्रमा अस्तु विसर्जनको परम्परा छ । यसबारे तपाईले झुटो बोले पनि, भ्रम छरे पनि सौका जातीको भाषा, संस्कृति र परम्पराबारे पूर्ण जानकार छाङरु र तिंकरका जनताले पत्याउदैनन् । अहिलेसम्म तपाईलाई आदर र सम्मान गरेका छन् तर तपाईले असत्य कुरा बोल्दै जाने हो भने इमान, नैतिकता र निष्ठा भएका व्यक्तिले तपाईप्रतिको विश्वास गुमाउँछन् ।
कालापानी क्षेत्र ताक्लाकोट व्यापार गर्न जाँदा गुञ्जी, कुटी र नाभी गाउँका वासिन्दाले विश्राम गर्ने स्थल भएको बताउनुभएको छ । यो साँचो हो । संगसंगै यो पनि साँचो हो कि कुटी, नाभी र गुञ्जीका वासिन्दासंगै छाङरुका वासिन्दा पनि कालापानी हुँदै लिपुलेक नाकाबाट ताक्लाकोट जाने गर्दथे । सन् १९६२ को भारत–चीन युद्धपछि लिपुलेक नाका बन्द भयो । तर यो नाका बन्द हुनुपूर्व छाङरु गाउँका जनताले निर्वाध रुपमा कालापानी र लिपुलेक हुँदै चीनको ताक्लाकोट पुगेको तथ्यलाई नविर्सनुहोला । यति मात्रै होइन, कालापानी, नाभिढाग र लिपुलेक क्षेत्रमा भेडाबाख्रा चराएका छाङरुका स्थानीय वासिन्दा अहिले पनि जीवित रहेको तथ्यलाई नबिर्सिनुहोला ।
सन् १९६२ देखि १९९२ सम्म लिपुलेक नाका बन्द भएपछि भारतीय नागरिक ताक्लाकोट जान नपाएको यथार्थता छ । तर छाङरुका वासिन्दा हरेक वर्ष तिंकर भञ्ज्याङ हुँदै ताक्लाकोट व्यापार गर्दैआएका छन् । ३० वर्षपछि लिपुलेक नाका सञ्चालन भएपछि भारतीय सुरक्षाकर्मीले छाङरुका वासिन्दालाई लिपुलेक नाका प्रयोग गर्न नदिएको यथार्थता छ । यसबारे छाङरुका भुक्तभोगी स्थानीय वासिन्दालाई पनि बुझ्न सकिन्छ ।
तिन दशकदेखि तावाघाट–लिपुलेक सडक निर्माण भइरहेको उल्लेख गर्नुभएको छ । यो पनि सत्य होइन । सडक निर्माण त सन् २००८ देखि मात्रै भएको हो । यद्यपि भारत–चीन युद्धलगत्तै सन् १९६४–६५ मा सडक निर्माणको प्रयास भएको थियो । तर सडक निर्माणमा संलग्न इन्जिनियर चीनको जासुुस भएको पत्ता लागेपछि त्यतिबेला सडक निर्माण रोकिएको वुढापाका र जानकारहरु बताउँछन् ।
भारतले हाल उद्घाटन गरेको सडकको अवस्था जोखिमपूर्ण छ । राम्रोसंग सडक सञ्चालन हुनसक्ने अवस्था पनि छैन । तर कोरोना महामारीले विश्व आक्रान्त भइरहेको बेला हतारहतारमा किन यस्तो सडक उद्घाटन गर्नुपरेको हो ? विवादित भूमि भनेर भारतले स्वीकारेको र दुई देशको छलफलको विषय भइरहेका बेला नयाँ नक्सा जारी गर्ने र सडक उद्घाटन गर्ने काम भारतले किन गरेको ?
आफ्नो लेखमा एउटा वास्तविकता उल्लेख गर्नुभएको छ– नेपाल शत्रु हुन सक्दैन । एकदम सही हो, नेपाल भारतको शत्रु हुन सक्दैन । भारत मात्रै होइन कुनै पनि देशको शत्रु नेपाल हुन सक्दैन । विश्वमा हाम्रा मित्र मात्र छन् शत्रु कोही छैनन् । नेपाल र नेपाली मित्रता मात्र चाहन्छन् शत्रुता कसैसंग चाहदैनन् र गर्दैनन् पनि । तर, नेपाल र नेपाली शान्ति र मित्रता मात्रै चाहन्छन् भनेर उसमाथि कसैले पनि अन्याय गर्न पाउदैन । अन्याय गरिहाले पनि धेरै टिक्दैन ।
नेपालले कसैको इसारामा कालापानीको मुद्दा उठाएको होइन । यो तत्कालको मुद्दा पनि होइन । भारतसंग दशकौंदेखि छलफल हुँदैआएको तर समाधान नभएको मुद्दा हो । वार्तामार्फत समस्या समाधान गर्नुको सट्टा गत नोभेम्बरमा एकतर्फी नक्सा जारी गर्ने भारत होइन र ? नेपालले वार्ता गरौं भनेर तिन पटक लिखित अनुरोध गर्दा पनि वार्ता नबस्ने भारत होइन ? नेपालसंग वार्ता गर्न छोडेर अतिक्रमित भूमिमा निर्माण भएको सडक उद्घाटन गर्ने भारत होइन ? भारतले यो हदसम्मको कदम चालेपछि नेपालले पनि नक्सा जारी गर्नु कसरी गलत भयो ? नेपालले आफ्नो हित र न्यायको कुरा गर्दा चीनको इसारा कसरी हुन्छ ? जबकी लिपुलेक नाका सञ्चालन गर्नेबारे सन् २०१५ मा भारत र चीन दुबै मिलेर नेपाल र नेपाली भूमिमाथि गलत सम्झौता गरेका छन् । त्यो सम्झौतामा भारतसंगै चीन पनि दोषि छ ।
नपलच्याल ज्यूले लेखमा एउटा गम्भीर र आपत्तिजनक विषय उल्लेख गर्नुभएको छ– नेपालका प्रधानमन्त्रीले कालापानी क्षेत्रलाई वल प्रयोग गरेर पुनःकब्जा गर्ने धम्की दियो भनेर । व्यासको छाङरुमा सशस्त्र प्रहरीको पोष्ट स्थापना त्यसकै लागि भएको त्रास र भ्रम छर्नुभएको छ । म एक नेपाली नागरिक र छिमेकीको शुभचिन्तकको हिसाबले भन्दैछु, नेपालले आफ्नो सिमारक्षाका लागि सुरक्षा पोष्ट स्थापना गर्दा आत्तिनुपर्ने कारण छैन । सिमाक्षेत्रमा भारतीय पक्षसंग मुठभेद नेपाल चाहदैन । केही भारतीय मिडियाले त नेपाली सुरक्षाकर्मीको भेषमा चीनको सेना समेत आएको झुटो भ्रम फैलाउदैछन् । त्यस्तै भ्रममा नपलच्याल सर पनि पर्नु भएन । अहिले सिमाक्षेत्रमा नेपालले आफ्नो सुरक्षा उपस्थिति बढाउदैछ । भारत र चीन दुबैतर्फका सिमानाकामा सुरक्षा पोष्ट राखिदैछ । यी सुरक्षा पोष्टबाट छिमेकी देशहरुलाई कुनै नोक्सान हुँदैन । सुरक्षा व्यवस्थापनमा आपसी सम्पर्क र समन्वय बढनेछ ।
नेपाल वलपूर्वक कालापानीको भूमि फिर्ता गर्न चाहदैन । छिमेकी भारतसंगको मित्रता र सम्बन्धलाई सुदृढ बनाउदै वार्ता र सहमतिमार्फत टुंगोमा पुग्न चाहन्छ । यो नेपाल सरकारको मात्रै चाहना होइन, ३ करोड नेपाली र विशेषतः दार्चुला र व्यासक्षेत्रका वासिन्दाको पनि मुख्य चाहना हो । ढुंगा, माटो, देउता र पूर्खाहरुलाई पुज्दै सत्य र न्यायलाई आत्मसात गरी जीवन विताउने नेपाली समाज युद्ध र छलकपटमा विश्वास गर्दैन । हामी चाहन्छौ, हाम्रो जस्तै सद्भाव र व्यवहार छिमेकी भारतबाट पनि होस् । छटकपट र शक्तिको घमण्डले भारतको यात्रा सफल हुँदैन । नेपाल जस्तो शान्ति र मित्रता चाहने देशसंग थिचोमिचो र अन्याय भइरहदा विश्व नेतृत्वको यात्रामा भारत अगाडि बढ्न सक्दैन ।

दैनिक जागरणमा प्रकासित समाचारमा नेपालकाे एकतर्फी निर्णय स्वीकार्य नभएको तपाईंको प्रतिक्रिया छ । भारतीय नागरिक हुनुकाे नाताले भारतकाे पक्ष लिनुभएकाे छ । साथै, सिमाक्षेत्रका वासिन्दालाई सिमा विवादबारे सार्वजनिक वहस र सामाजिक सञ्जालमा वहस नगर्न पनि आग्रह गर्नुभएको छ । आफुले भारतकाे पक्ष लिएर वकालत गरिरहने तर अरूलाई बाेल्न राेक्ने तपाईंको प्रयास देखिन्छ । के याे न्यायाेचित र सान्दर्भिक छ ?
अन्तमा, उमेर, अनुभव, क्षमता, योग्यता सबै हिसाबले मेरा पनि अग्रज रहनुभएका आदरणिय नृप सिंह नपलच्याल ज्यूमा विशेष अनुरोध छ– नेपालसंग नडराउनुस्, भारतलाई वार्तामा पठाउनुस् । नेपाल वार्तामार्फत समाधान चाहन्छ, भारत वार्ताबाट भागिरहेको छ । अहिलेको यो वास्तविकतालाई आत्मसात गरिदिनोस् । धन्यवाद ।

तपाईको प्रतिक्रिया दिनुहोस् !