धार्चुलामा अक्सिजन प्लान्ट स्थापना

214

दार्चुला, भाद्र ८ गते ।
भारतको धार्चुला तहशिलमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

संयुक्त चिकित्सालय धार्चुलामा २ सय एलएमपी क्षमताको अक्सिजन प्लान्टको स्थापना गरिएको स्रोतले जनाएको छ । शुक्रबार उक्त अक्सिजन प्लान्टको सफल परिक्षण गरिएको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि धार्चुलाका विधायक हरिश सिह धामीले विधायक निधीबाट बजेटको ब्यवस्थापन गरेका थिए । विधायक धामीले कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गरि अक्सिजन प्लान्टको स्थापना तत्काल गरेका हुन् । साथै धार्चुला अस्पतालमा भारतको धौलिगङ्गा जलविद्युत आयोजना निर्माण कम्पनी नेसनल हाइड्रो पावर प्रोजेक्ट (एनएचपिसि) लिमिटेडले समेत अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरि प्रक्रिया अघि बढाएको छ । ९५ लाख भारतीय रुपैयाँ लागतमा पाँच सय एलएमपी क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको एनएचपिसि लिमिटेड धार्चुलाका महाप्रबन्धक पीवि मिल्खले गत जेठमा घोषणा गरेका थिए । एनएचपीसी लिमिटेडले निर्माण गर्नुभन्दा पहिले नै विधायक धामीले अक्सिजन प्लान्टको स्थापना गरेपछि तहशिलको अस्पतालमा दुई अक्सिजन प्लान्ट स्थापना हुने भएपछि कुन प्लान्ट राख्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । अक्सिजन प्लान्ट राख्ने भवनको निर्माण दुई महिनामा सम्पन्न गरि विधायक धामीले प्लान्टको समेत स्थापना गरिसकेका छन् । यसको औपचारीक उद्धघाटन तथा प्रयोग भने हुन बाकि रहेको छ । नेपालको दार्चुला सदरमुकाम खलंगासंग सीमानाका जोडिएको धार्चुला बजारमा अक्सिजन प्लान्ट स्थापना भएसंगै नेपालका नागरिकहरुलाई समेत सहजता हुने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !