दार्चुलाको सिमानामा एसएसवीका १८ पोष्ट

0
933

दार्चुला, असार ३० गते ।
दार्चुला जिल्लाको सिमानामा भारतले सशस्त्र सीमा वल (एसएसवी) का १८ वटा सुरक्षा पोष्ट राखेको छ । नेपाल र भारत दुई देशको सिमाना महाकाली नदीले छुट्याएपछि भारतले आफ्नोतर्फ उच्च सुरक्षा सतर्कता अपनाउदै आएको छ ।
महाकाली नदीको मुहानक्षेत्रमा नेपाल भूमि अतिक्रमण गरिएको छ । उक्त क्षेत्रमा मात्रै एसएसवीका दुइटा ठूला पोष्ट छन् । गुञ्जीमा डिएसपीको कमाण्डमा ८५ जना एसएसवीको फौज रहेको सुरक्षा स्रोतले बतायो । कालापानी क्षेत्रमा इन्सपेक्टरको कमाण्डमा ४० जना सुरक्षाकर्मी छन् । गुञ्जी र कालापानी दुबै नेपालको अतिक्रमित भूमि हो ।
व्यासको छाङरु गाउँको महाकाली पारी गव्र्याङमा इन्सपेक्टरको कमाण्डका एसएसवीका ४० सुरक्षाकर्मी छन् । गव्र्याङको पोष्टबाटै सितापुलमा राखिएको काठेपुलको सुरक्षामा सुरक्षाकर्मी खटाइन्छन् । सितापुलमा नेपाल र भारत जोड्ने काठेपुल रहेको छ ।
गव्र्याङभन्दा ४ किलोमिटर दक्षिण छियालेकमा सईको नेतृत्वमा ४० जनाको पोष्ट छ । छियालेक भारतीय नोटिफाइड एरियाको प्रवेश विन्दु हो । गव्र्याङबाट नजिक भए पनि नोटिफाइड एरिया सुरु हुने भएकाले एसएसवीको ठूलो संख्या छियालेकमा राखिएको नेपालका सुरक्षा निकायको विश्लेषण छ ।
धारचुलादेखि छियालेकसम्मको क्षेत्रमा पनि आधा दर्जन स्थानमा एसएसवीका पोष्ट छन् । बुँदीमा सईको कमाण्डका ४० जना, लामारीमा असइको कमाण्डमा २० जना, गर्वाधारमा सईको कमाण्डमा २५ जना र पाङलामा असईको कमाण्डमा २० जना एसएसवी सुरक्षाकर्मी रहेको नेपाली सुरक्षा निकायको रिपोर्टिङ छ ।
सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी वलको ५० नम्बर गुल्म हेडक्वाटरले भारतीय सुरक्षाकर्मीको उपस्थितिबारे विवरण संकलन गरेको स्रोतको भनाई छ । तिगरम पुलमा सईको नेतृत्वमा २५ जना, दोबाटमा असईको नेतृत्वमा १५ जना र धारचुलामा इन्सपेक्टरको नेतृत्वमा ४० जना एसएसवीको पोष्ट छ । धारचुलाको खोतिला पोष्ट र नेपाल जोड्ने पुलको छेउमै एसएसवीको पोष्ट छ ।
दार्चुला सदरमुकामदेखि दक्षिणतर्फ लालीसम्मको सिमाक्षेत्रमा आधा दर्जन एसएसवीका पोष्ट छन् । गोठी, छारछुम, वलुवाकोट, जोलजिवि, बगडीहाँट र सुनखोलीमा एसएसवीको सुरक्षा पोष्ट छन् । गोठी, सुनखोली र बगडीहाटमा सईको कमाण्ड, जोलजिवीमा इन्सपेक्टरको कमाण्ड र बलुवाकोटमा असईको कमाण्डमा एसएसवीको टोली खटिएको सुरक्षा स्रोतले बतायो । धारचुला नजिकैको छारछुममा भने हवल्दारको नेतृत्वमा एसएवीको टोली छ ।
सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डिएसपी डम्बरवहादुर विष्टले भने कुन कुन ठाउँमा एसएसवीका पोष्ट छन् भन्नेबारे जानकारी भए पनि सुरक्षाकर्मीको संख्या संकलन नभएको बताउनुभयो । ‘सीमा सुरक्षामा हामीले समन्वय गर्ने काउन्टरपार्ट एसएसवी हो, एसएसवीको पोष्ट रहेको तथा सिमानाका भएका क्षेत्रमा आपसी समन्वय भइरहेको छ, सुरक्षाकर्मीको संख्या महत्वपूर्ण होइन’ उहाँले भन्नुभयो ।