तुईन घटनाले जगाएको नेपाली राष्ट्रबाद

427

बिरा दत्त भट्ट, दार्चुला ।
दार्चुलाको उत्तर पश्चिम क्षेत्रमा रहेको ब्यास गाउँपालिकाले प्रत्येक नेपालीलाई पटक–पटक जगाइरहेको हुन्छ ।

भारतले अतिक्रमण गरेको कालापानी लिपुलेक र लिम्पियाधुरा यसै गाउँपालिकाको भुगोल क्षेत्रमा पर्दछन् । ब्यास गाउँपालिकाले बेला–बेला नेपालीलाई सम्झाउने राष्ट्रबाद ज्वालामुखीको ज्वारभाटा जस्तै उठ्छ, त्यसै गतिमा सेलाउँछ पनि । केहि समय अघि भारतले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा छापेको तथा लिपुलेक जोड्ने सडकको उद्धघाटन गरेको अवस्थामा प्रत्येक नेपालीको रगतमा उठेको राष्ट्रबादको ज्वालामुखी सेलाउने क्रममा रहेको देखिन्थ्यो । तर भारतीय बाटो भएर सदरमुकाम आउने क्रममा महाकाली नदीमा तुईन तर्दै गर्दा ब्यास २ का स्थानिय युवा जयसिह धामीलाई गत साउन १५ गते भारतीय एसएसबीले तुईनको डोरी फुस्काएर महाकाली नदीमा खसालेको दुःखद घटनापछि फेरि एक पटक प्रत्येक नेपालीको राष्ट्रबाद जागेको छ । छिनमा जाग्ने र छिनमै विलाउने नेपालीहरुको राष्ट्रबादको ग्राफले सीमा क्षेत्रका नागरिकहरुको समस्या समाधानको दिशा तर्फ नभई हालसम्म झन् बल्झाउने काम मात्रै गर्ने गरेको छ ।
काठमाण्डौमा भारत विरोधी राष्ट्रबादका चर्का नारा लाग्दा सीमा क्षेत्रमा भारतीय एसएसबीले कडाई गर्छ । नेपालीलाई आंतककारी हो झै ब्यवहार देखाउँछ । सीमा पार गर्न लगाइएका तुईनहरु हटाइन्छन् । अनि ब्यासका साधारण जनता नागरिकता बनाउन भारतको बाटो भएर सदरमुकाम आउन समेत सक्दैनन् । ब्यासका जनता राष्ट्रभक्त र देशको माया नगर्ने होइनन् । तर भान्साको नुन ल्याउन देखि नागरिकता बनाउन सम्म तुईन तरेर भारतको बाटो प्रयोग गर्न बाध्य ब्यासका जनता मनमा देशको माया बोकेर चुपचाप भारतीयहरुको दुब्र्यहार सहेर भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।
दार्चुला सदरमुकाममा बस्दा मैले पनि बेला बेला भारतको यस्तो ब्यवहार विरुद्ध सामाजिक सञ्जालमा लेख्ने, समाचार लेख्ने गरेको छु तर गाउँ जाने काम परेका बेला भारतको बाटो भएर जादाँ सोच्छु आखिर नेपाल राष्ट्रको नागरिकता बाहेक म संग के छ र ? गाउँबाट बाहिर जादाँ भारतीय सडक नभई हुदैन, बोल्न नआएपनि टुटफुट हिन्दी बोलेर बजार सम्म पुग्नै पर्यो, खाद्यान्न भारतीय बजारकै छ, विरामी हुदाँ भारतकै अस्पतालमा जानुपर्छ, रोजगारी भारतकै छ ! आखिर सीमाको सिपाही भएर बसेका ब्यासका जनतालाई नेपाल सरकारले खाए–भोको भएको पनि वास्ता गरेको छैन ।
जयसिह धामी प्रकरण पछि एसएसबीले तुईन हटाईदिदाँ ब्यास क्षेत्रमा खाद्यान्नको संकट भइरहेको छ । खाद्यान्न संकटकै विच ब्यास बासिले जेनतेन गौरा पर्व मनाएका छन् । ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले भदौ २ गते गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ज्ञापन पत्र बुझाउदै ब्यासमा खाद्यान्न अभाव भइरहेकाले तत्काल हेलिकोप्टर मार्फत ढुवानीका लागि अनुरोध गरेका थिए । तर हाल सम्म ब्यासका जनताका लागि खाद्यान्न ढुवानी भएको छैन ।
दार्चुलाकै विकट मध्ये एक ब्यास गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग नजोडिएकाले यस क्षेत्रका स्थानियहरु महाकाली नदी माथी जोखिमपुर्ण तुईन तरेर दार्चुला सदरमुकाम आवत जावत गर्ने, खाद्यान्न सामग्री ओसार पसार गर्ने गर्दै आइरहेका छन् । आफ्नो देशमा सडक त परको कुरा हिड्न राम्रो बाटो समेत नभएपछि नेपाली नागरिकता बनाउन समेत तुईन तरेर भारतको बाटो हुदै सदरमुकाम आवत जावत गर्नु ब्यासका प्रत्येक नागरिकहरुको दैनिकी हो । ब्यासका बालबालिका, महिला, युवा देखी बृद्ध,बृद्धा सम्म कोही पनि तुईन संग अपरिचित सायदै होलान् ।
तुईन लाई स्थानिय भाषामा ‘घाट’ भन्छन् ब्यासका बासिन्दाले । ‘घाट’हरु आजभोली लागेका होइनन् । यिनिहरुको पनि लामो इतिहास रहेको ब्यासका पुर्खाहरु बताउने गर्दछन् । उमेरले ८६ बर्ष लागेका मेरा बाजे प्रमान्नद भट्टलाई तुईन कहिले देखि लागेका हुन् बाजे भनेर सोध्दा आफु सानो छदाँ सामान लिन भारतको पिथौरागढ जादाँ महाकाली नदीमा बाबियो ( एक प्रकारको झार) को डोरी बनाएर नदीमाथी लगाइएको डोरीमा झुिण्डएर पहिलो पटक ‘घाट’ तरेको सुनाउनुभयो ।
म सानो छदाँ भारतको सडकमा गाडी गुडेको देख्दा चढ्ने रहर गर्थे, बाजेले गाडी चढ्न ‘घाट’ तर्न सिक्नुपर्छ भन्नुहुन्थयो । मेरो बाल मष्तिष्कमा गाडी चढ्न र बजार जान महाकालीमा ‘घाट’ तर्नुपर्छ भन्ने एक किसिमको छाप नै बसिसकेको अवस्था थियो । सानो छदाँ गाउँघरका रुखहरुमा तुईन बनाएर तर्ने अभ्यास गरेको सम्झना पनि मानसपटलमा ताजै छ ।
नेपालीमा भाषा बोल्दाँ स्थानिय भाषाको लवज मिसाएर बोल्ने मेरा बाजे हिन्दी भाषा भने राम्ररी बोल्नुहुन्छ । पहिले परम्परागत रुपमा भेटघाट गर्न, ब्यापार गर्न, नेपाल–भारत सीमा क्षेत्रमा तुईन लगाइने गरिन्थ्यो । तुईनको डोरी भाचिँएर, कोही तर्न नआएर महाकाली नदीमा खसेका घटनाहरु बेला बेला हुदै आइरहेका हुन् । पछिल्लो केहि बर्ष यता तुईन लाग्ने क्षेत्रमा भारतले एसएसबी तैनाथ गरेपछि भारतीय यातायात ब्यवसायी र एसएसबीको मिलोमतोमा तुईनहरु लगाइदै आइरहेका छन् ।
तुईनबाट तरेर भारतीय सडक हुदै यात्रा गर्ने नेपालीबाट भारतीय यातायात ब्यवसायीहरुले चर्काे भाडा असुल्ने गर्छन । केहि रकम एसएसबी सम्म पनि पुग्ने गरेका दृष्टान्तहरु पनि बेला–बेला सुनिन्छन् ।
तुईन सम्बन्धि हरेक ब्यास बासिका आ–आफ्नै कथा ब्यथा छन् । कसैले तुईनबाट आफन्त गुमाईसकेका छन् भने कोही भारतीय एसएसबी र यातायात ब्यवसायीको दुब्र्यहारमा परेका छन् ।
ब्याँसका नागरिकहरु यति सम्म निरिह छन् कि उनिहरु तुईन तर्दा भारतीय एसएसबी र यातायात ब्यवसायीहरुले गरेको ज्याजती कसै सामु खुलेर भन्न पनि सक्दैनन् ।
भाद्र १३ गते अघि सम्म ब्यासका नागरिकहरुका लागि एक दिन हिडेर सदरमुकाम पुग्न सक्ने विकल्प थियो । भाद्र १३ गते दुँहु गाउँपालिका क्षेत्रमा आएको बाढीले त्यो विकल्प पनि समाप्त पारेको छ । बाढीले ब्यास गाउँपालिका वडा नं ६ मा रहेको दुहु गाउँपालिका हुदै सदरमुकाम खलंगा जोड्ने कालागाड पुल बगाएको छ ।
पुल नहुदाँ बर्षादको यो उर्लिदो नदीमा तर्न सकिने अवस्था पनि छ्रैन । नेपालकै बाटो भएर सदरमुकाम सम्म जान्छु भन्ने ब्यास गाउँपालिकाको बासिन्दाका लागि दुहु गाउँपालिकाको केन्द्र हिकिला हुदै गएमा तीन दिन भन्दा बढी लाग्ने अवस्था सिर्जना भएको छ । ब्यास गाउँपालिकाको वडा नं ५ तिम्रममा नेपाल भारत जोड्ने झोलुङ्गे पुल छ तर पुल सम्म पुग्न वडा नं १ र २ का बासिन्दालाई एक दिन पैदल हिड्नुपर्छ । अन्य ठाउँमा तुईन विस्थापनका लागि उद्धघाटन गरिएका झोलुङ्गे पुलहरु दुई बर्ष देखि निर्माण हुन सकेका छैनन् ।
भाद्र १२ गते गौरा मनाउन भारतको बाटो भएर आफ्नो गाउँ ब्यास गाउँपालिका ४ सुन्सेरा गएको थिए । जयसिह धामी प्रकरण पछि भारतीय एसएसबीले सबै तुईनहरु हटाएको छ । तर यातायात ब्यवसायीहरुले तुईन लगाउन ब्यासका जनताको सहयोग गरेका छन् । राती तुईनहरु लगाएर खाद्यान्न ओसारपसार गर्ने, आवत जावत गर्ने लगायतका गतिविधिहरु भइरहेका छन् । ब्यास क्षेत्रका नेपाली नागरिकहरु राती तुईन तरेर खाद्यान्नको जोहो गर्न र सदरमुकाम क्षेत्रमा आवत जावत गर्न बाध्य छन् । त्यहि बाध्यताको फाईदा भारतका यातायात ब्यवसायीहरुले राम्ररी उठाइरहेका छन् । जयसिह धामी प्रकरण अघि ‘घाट’ सम्म लग्ने गरेको एक सय भाडा बढाएर दुई सय भारु पुर्याएका छन् । भारतको धार्चुलाबाट १८ किलोमिटरमा रहेको तावाघाटका भारतीय नागरिकले एक सय भारु टिकट दिइरहेका छन् भने पाँच किलोमिटर अघि ‘घाट’ भएको क्षेत्र सम्म पुग्ने नेपालीहरुले २ सय भारु टिकट दिइरहेका छन् । भारतीय नागरिकहरुले १८ किलोमिटरको यात्रा गरे वाफतको टिकट नेपाली नागरिकहरु पाँच किलोमिटर यात्रा गरे वाफत दिन बाध्य छन् । टिकट बढाएको विरोध गरे तुईन हटाइदिने डरले ब्यासका बासिन्दा चुँ सम्म पनि बोल्न सक्दैनन् ।
तुईनबारे रिर्पाेटिङ गर्न भन्दै म तुईनका फोटो र भिडियोहरु खिचिरहेको थिए । सुरुमा त स्थानिय तथा तुईन तार्ने ब्यक्तिले फोटो, भिडियो नबनाउन भनिरहेका थिए । मेरो अनुरोध पछि त्यसमा अवरोध गरेनन् । केही बोलीदिन तुईन तार्ने एक जना स्थानिय नेपालीलाई अनुरोध गरे तर उहाँको आक्रोस थियोे– ‘खाद्यान्नको समस्या भइरहेको बर्षादका बेला समाचार लेखे एसएसबीले तुईन काट्ने छन् । समाचारले नत भोको पेट नै भर्छ नत हाम्रो समस्याको सामाधान नै हुन्छ’ । आफु पनि स्थानिय भएकाले समाचारले समस्या समाधान गर्ने नभई बल्झाउने मलाई पनि लाग्यो । घरमा चामल सकिन लागेको छ, बजारबाट ल्याउनु छ है भनेर मम्मीले भनेको मलाई पनि सम्झनामा आयो र समाचारका लागि रिर्पाेटिङ गर्ने सोच बनाइँन । गौरा हेरि फिर्ता भएको एक हप्ता सम्म यसबारे केहि लेख्ने आट नै आएन ।
त्रिदेशीय सीमा क्षेत्रमा बसोबास गरिरहेका ब्यासका जनतालाई यो हद सम्म भारतमा निर्भर बनाउन र निरिह बनाउनमा नेपाल सरकारको प्रमुख भुमिका छ । ब्यासका जनताले सरकार संग गाउँ जाने बाटो र सडक मागेका छन् तर त्यो कहिल्यै पुरा भएको छैन ।
यदि तुईन हुदैनथे र भारतले महाकाली नदी किनारमा सडक नबनाएको हुन्थ्यो भने ब्यासका बासिन्दाले यस क्षेत्रबाट बसाई सर्नुपर्ने अवस्थाको सिर्जना हुने थियो । सीमाको पहरेदारका रुपमा बसेका ब्यासका नागरिकहरुका लागि सरकारले आधारभुत ब्यवस्था गर्न नसक्नुले नेपाल सरकारले सीमा क्षेत्रमा बस्ने नागरिकलाई महत्व नदिएको स्पस्ट हुन्छ ।
हाम्रै पारी भारतले सीमा क्षेत्रमा बस्ने नागरिकहरुका लागि सडक सञ्जाल विस्तार देखि सरकारी जागिरमा आरक्षणको ब्यवस्था समेत गरेको छ । तर नेपाल सरकारले सीमाका पहरेदारहरुलाई चिन्न सकेको छैन ।
आर्थिक बर्ष २०६५/०६६ देखि निर्माण सुरु भएको दार्चुला तिंकर सडकको हाल सम्म ४० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । दार्चुला–तिंकर सडकको निर्माण र तिंकर नाकालाई चीन संगको ब्यापारका लागि खोलिने आसमा ब्यासका जनता यस कठिन भुगोलमा आफ्नो जिवन यापन गरिरहेका छन् । नेपालकै बाटो भएर सडक नभए सम्म नेपाली जनताले भारतमा हेपिने, ठगिने र दुब्र्यहार खेप्ने स्थितिको अन्त्यहुने देखिदैन ।
आफ्नो देशमा बाटो नहुदाँ भारतको बाटो भएर सदरमुकाम आउदाँ एक निर्दाेश नेपालीको तुईन खुस्काएर हत्या भएको छ । अरु नेपालीको पनि त्यस्तै हविगत नहोस भन्ने  सरकारको चाहाना भए तत्काल त्यस क्षेत्र सम्म पुग्ने बाटोघाटो र सडकको ब्यवस्थापनमा राज्यको ध्यान जानुपर्छ । तुईन खुस्कारएर नेपाली युवालाई महाकालीमा फाल्ने भारतीय एसएसबीलाई सरकारले कानुनि कठघरामा उभ्याउन सक्नुपर्छ । जयसिह धामीको परिवारलाई उचित क्षतीपुर्ती दिई वालवालिकाहरुको भविष्य सुनिश्चितताका लागि उचित पठन पाठनको ब्यवस्था गरिनुपर्छ ।
जयसिह धामीको घटना राष्ट्रिय बहशको विषय बनेको छ । त्यस सम्बन्धी समाचारहरुमा आएका प्रतिक्रिया मैले पनि नियालीरहेको छु, धेरैले भनिरहेका छन्, ब्यासका नागरिकहरु त्यो अबैध तुईन किन तर्छन ? भारतको बाटो किन जाने? भारत जस्तो छिमेकीको ठाउँबाट पनि के जानु? नेपालकै बाटो आए हुदैन? त्यस्तो प्रश्नहरु देख्नेबेला मेरो मनमा एउटै कुरा आउँछ, भोको पेट ठुलो कि राष्ट्रबाद ?

 

तपाईको प्रतिक्रिया दिनुहोस् !