तटबन्धमा हालसम्मको प्रगति, वित्तिय ६० भौतिक ८० प्रतिशत

830

दार्चुला, भदौ १२ गते ।
नेपाल सरकारले पाँच वर्षअघि निर्माण सुरु गरेको महाकाली नदी नियन्त्रणको कार्यको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदी किनारमा तटबन्धको संरचना बनाउने मुख्य कार्यमा ‘सन्तोषजनक’ प्रगति भएको छ ।
महाकाली वाढीले २०७० सालमा खलंगाका एकसय भन्दा बढी घरका साथै सयौं स्थानीयको जमिन र सामान समेत बगाएको थियो । नेपाल सरकारले तत्काल नदी किनारको क्षेत्रमा संरक्षणको कार्य थाल्न ३ अरब ५ करोड रुपैयाँको लागत नयाँ आयोजना सुरु गरेको हो ।
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित थालिएको महाकाली नदी नियन्त्रण आयोजनामा हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना प्रारम्भ हुँदा २०७५ असारमा महाकालीको तटबन्ध निर्माण भइसक्नुपर्ने हो । ‘निर्माण सामग्रीको अभाव र भारतीय नाकाबन्दीको असर तटबन्ध निर्माण परेकाले निर्धारित समयसीमाभित्र सबै कार्य पूरा हुन नसकेको’ आयोजना प्रमुख सुशील देवकोटाको भनाई छ । आइतवार मात्रै सरुवा भएर दार्चुला छोडेका देवकोटाले ‘आयोजना सञ्चालनमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएको’ बताउनुभयो ।
आयोजना निर्माणको कार्य सन्तोषजनक भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । ‘अन्य क्षेत्रको विकास निर्माणले गति लिइरहेको छैन तर तटबन्ध निर्माणमा ठेकेदार कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था देखिएन’ आइतवार आयोजना प्रमुख देवकोटाको विदाई तथा नयाँ आयोजना प्रमुख मित्र बरालको स्वागत कार्यक्रममा प्रजिअ आचार्यले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले अन्तर्राष्ट्रिय सीमानदीमा बनाइएको तटबन्धको संरचनामा राष्ट्रिय स्वाभिमान बढाएको बताउनुभयो । उहाँले ‘तटबन्ध निर्माणका लागि नीतिनिर्माता, कर्मचारी र सरोकारवाला सबैको सकारात्मक प्रयास र योगदान रहेको’ बताउनुभयो । ‘आयोजना व्यवस्थापनको नेतृत्व गर्ने अहिलेसम्ममा तिनैजना आयोजना प्रमुखहरुको योगदान महत्वपूर्ण छ’ पत्रकार महासंघ अध्यक्ष धामीले भन्नुभयो ।
आयोजनाको समयावधि २ वर्ष थपिएको छ । तर सुरुको निर्धारित बजेटसीमा भन्दा एक तिहाई कम बजेटमै ८० प्रतिशत भौतिक प्रगति भएको छ । २०७५ असारसम्म १ अरब ८३ करोड ३६ लाख ९० हजार ६० रुपैयाँ आयोजनामा खर्च भएको सुचना अधिकारी एवं इन्जिनियर मुकेश पाठकले बताउनुभयो । हालसम्मको ठेक्का सम्झौताको रकम भने १ अरब ९३ करोड ४५ लाख ६४ हजार ३ सय ७१ रुपैयाँ ५३ पैसा रहेको छ ।
ठेक्का प्रतिस्पर्धामार्फत निर्माण कार्य भएकाले निर्माण व्यवसायीले लागत अनुमानभन्दा कम मूल्यमा कबोल गर्दा कम बजेट खर्च भएको इन्जिनियर पाठकको भनाई छ । हालसम्म १७ वटा ठेक्का सम्झौता गरिएकोमा ९ वटा ठेक्काको निर्माण सम्पन्न भइसकेको छ ।
महाकाली नदी किनारमा आरसिसि टिरेनिङ वाल निर्माण गर्ने, साढे ४ किलोमिटर सर्भिस रोड बनाउने र साढे ८ किलोमिटर ग्याविन जालीसहितको पर्खाल बनाउने आयोजनाको लक्ष्य छ । ४३ दशमलव ५ हेक्टर क्षेत्रफलको महाकाली नदी किनार क्षेत्रमा संरचना निर्माण र संरक्षणको कार्य गरिने आयोजनाले जनाएको छ ।
२०७५ असारसम्म ४ हजार २ सय ८६ मिटर आरसिसि रिटेनिङ वाल निर्माण भइसकेको इन्जिनियर पाठकले बताउनुभयो । ढुंगाको मेसिनरी वाल २ हजार ३ सय १० मिटर बनाइको छ भने ३ हजार ९ सय ९८ मिटर लामो सर्भिस रोड निर्माण सम्पन्न भइसकेको छ । ग्याविनजालीसहितको ५ हजार ७ सय ९ मिटर लामो तटबन्ध महाकाली नदी किनारमा राखिएको छ । हालसम्म ग्याविनजालीका १७ वटा स्पर बनाइएका छन् । नदीको किनार कटान हुनबाट रोक्न नदीको वहावलाई रोक्नका लागि स्पर राखिन्छ ।
आर्थिक वर्षमा हालसम्मकै सर्वाधिक बजेट खर्च भएको छ । ५३ करोड ९७ लाख ९४ हजार गतवर्षको कुल बजेट रहेकोमा पूजीगततर्फ ५२ करोड ६१ लाख २१ हजार ९ सय २ रुपैयाँ खर्च भएको छ । आयोजना व्यवस्थापनका लागि चालुतर्फ ९१ लाख ५५ हजार २८ रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।
आयोजनाको थपिएको दुई वर्षको अवधिमा निर्माण हुन बाँकी २० प्रतिशत भौतिक कार्य गराइने इन्जिनियर मुकेश पाठकले बताउनुभयो । श्रीबगड, कलौन, किम्तडी, धाप, दत्तु, जौलजीविलगायतको क्षेत्रमा पनि नदी नियन्त्रणको संरचना बनाउने योजना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !