टिंकर नाका सञ्चालनको पूर्वाधार खै ?

0
495

शंकर सिंह धामी
लामो प्रयासपछि उत्तरतर्फको मित्रराष्ट्र चीन परम्परागत रुपमा यसअघि सञ्चालनमा रहेका टिंकरसहितका सबै नाका सुचारु गर्न सहमत भएको छ । यसका लागि सिमाक्षेत्रका वासिन्दाले पटक–पटक काठमाण्डौंसम्मको यात्रा गर्नुपर्यो । स्थानीय सरकारदेखि जिल्लाको प्रतिनिधित्व गर्ने नेताहरुले पनि सिंहदरबारका ढोकाहरु ढकढक्याए । नेपाल सरकार स्वयंले विभिन्नस्तरमा पहल र प्रयास गरिरह्यो । केही ढिलो भए पनि मित्रराष्ट्र चीन परम्परागत रुपमा चल्दैआएका नाकाहरु सञ्चालनमा ल्याउन तयार भयो ।
हिजोअस्ति मात्रै नाका सुचारु गर्नेबारे गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार गरिएको छ । सिमावर्ती क्षेत्रमा चीनिया पक्ष (प्रशासन)संग समन्वय गरी नाका सुचारु गर्न, गराउन भनिएको छ । यसअनुसार दार्चुलाको टिंकर नाका सुचारु गर्ने, गराउने जिम्मेवारी जिल्लास्तरमा आइपुगेको छ ।
भौगोलिक दूरी र विकटताले चीनिया पक्षसंग छिटो र सहज सम्पर्क गर्न समस्या छ । यद्यपि सरकार–सरकार संयन्त्रमा सम्पर्क गर्ने, समन्वय गर्ने र नागरिकको हित एवं सुविधाको लागि सक्रिय हुने महत्वपूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालयसंग मात्र छ । अन्य कोही व्यक्ति वा निकायले यो भूमिका निर्वाह गर्न सक्दैनन् ।
भौगोलिक दूरी र विकटता जस्ता चुनौती संगसंगै हामीसंग केही सकारात्मक अवसर र संरचनाहरु पनि छन् । पहिलो, व्यासक्षेत्रका स्थानीय वासिन्दाको तााक्लाकोट बजारसम्म सहज पहुँच र सम्पर्क । यस्तो पहुँच, चिनजान र सम्पर्कले दुई देशका प्रशासनलाई जोड्ने कार्यमा पनि योगदान पुग्छ । स्मरणीय के छ भने २०७५ सालमा व्यासक्षेत्रकै व्यवसायीहरुको समन्वयमा नेपाल र चीनका सुरक्षा अधिकारीहरुको समन्वय बैठक ताक्लाकोटमा आयोजना भएको थियो ।
दोस्रो, उत्तरतर्फका हिमाल र भञ्ज्याङ छिचोलेर चीनको स्वशासित क्षेत्र तिब्बतमा पुग्नुपर्ने अवस्था र बाध्यता सबै जिल्लामा छ । ताक्लाकोट बजारमा आवतजावत हुने नेपाली नाकाहरु तीनवटा छन्– हुम्लाको हिल्सा, बझाङको उरै भञ्ज्याङ र दार्चुलाको टिंकर नाका । अन्य जिल्ला र नाकाको तुलनामा यो पाटोमा दार्चुलासंग लामो अनुभव छ । हामीसंग दशकौं होइन सदियौंदेखिको आवागमन र व्यापारको परम्परा छ ।
तेस्रो, हाल नेपाल र चीनबीच ३ वटा औपचारिक नाका सञ्चालनमा छन्– रसुवागढी, हिल्सा र तातोपानी । मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङगोला नाका पनि औपचारिक रुपमा पहिचान भइसकेका छन् । यी बाहेक उत्तरतर्फ सिमा र सम्पर्क जोडिएका आधा दर्जनभन्दा बढी जिल्लाका नाकाहरु परम्परागत रुपमा चल्दैआएका छन् । दार्चुलाको टिंकर नाका पनि यसअन्तर्गत पर्दछ । सडक सुविधा विस्तार भइनसकेको अवस्थामा पनि पैदल यात्राबाट तिब्बती बजारसम्म सहज आवागमन गर्न सकिने विशेषता टिंकर नाकासंग छ ।
चौथो, टिंकर नाका जोडिने व्यास गाउँपालिका वडा नम्बर १ मा २०३४ सालदेखि सिमा प्रशासन कार्यालय सञ्चालन हुँदैआएको छ । यद्यपि पछिल्लो समय सिमा प्रशासन कार्यालय सदरमुकाममा राखिदैआएको छ । कर्मचारीको सहजता र सुविधाका लागि व्यासको सिमा प्रशासन कार्यालय वर्षौदेखि खलंगामा राखिएको अवस्था छ ।
पाचौं, चीनको सिमाक्षेत्रबाट करिब ७–८ किलोमिटरको दूरीमा व्यास गाउँपालिका वडा नम्बर १ टिंकरको छियालेकमा दशकौंअघिदेखि नेपाल प्रहरीको सिमा प्रहरी चौकी सञ्चालन हुँदैआएको छ । पछिल्लो समय सशस्त्र प्रहरीको विओपी राख्न भवन लगायतको संरचना पनि बनाइएको छ । यद्यपि उक्त भवनमा सशस्त्र प्रहरीका सुरक्षाकर्मी बसिसकेका छैनन् ।
छैठौं, उत्तरी सिमानाका नजिकको छाङरु गाउँमा फोरजी मोबाइल सेवा र तिंकर गाउँमा स्काई फोन र भिस्याट फोनसेवा पुगेको छ । छाङरुदेखि तिंकर गाउँसम्मको १२ किलोमिटर लामो घोरेटो बाटो र तिंकर गाउँदेखि नेपाल–चीन सिमानाका रहेको १ नम्बर पिलरसम्मको ८ किलोमिटर लामो घोरेटो बाटो दुरुस्त छ । सहज रुपमा आवतजावत गर्न सकिन्छ । मान्छे मात्र होइन, भारी बोक्ने घोडा–खच्चरको आवागमन पनि सहज रुपमा हुन्छ ।
सातौं, व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङदेखि वडा नम्बर १ छाङरुसम्मको घोरेटो बाटो निर्माण र मर्मतको कार्य पनि धेरैजसो ठाउँमा भइरहेको छ । केहीस्थानमा बाटो मर्मत गर्नुपर्ने आवश्यकता पनि छ । टिंकर नाका सञ्चालनमा आउदा छाङरुदेखि दुम्लिङसम्मको घोरेटो बाटो पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ । किनकी नागरिकको आवतजावत धारचुलादेखि गब्र्याङ–सितापुलसम्मको भारतीय मोटरमार्ग भएर गर्न सकिएला, तर ताक्लाकोटबाट ल्याइने चीनिया सामान ढुवानीका लागि नेपालकै बाटो आवश्यक देखिन्छ ।
चीनको सामान सदरमुकाम खलंगासम्म ढुवानी गर्न भारतको मोटरमार्ग प्रयोग गर्न पाइएला त ? नेपाली सुरक्षाकर्मी र भरियाहरुका लागि पनि नेपालतर्फको घोरेटो बाटो सञ्चालनमा ल्याउनु जरुरी छ । गाइवस्तु र भेडाबाख्राको ओहोरदोहोरका लागि पनि नेपालतर्फको पैदल बाटोको विकल्प छैन ।
टिंकर नाका सञ्चालनसंग सम्बन्धित पहिलोदेखि सातौं क्रमसंख्यासम्मका विषय÷सन्दर्भहरुले महत्वपूर्ण प्रश्न पनि संगसंगै उठाएका छन् । यी विशेषता र अवस्थाहरु भए पनि हामीले तत्काल केही गर्नैपर्ने कामहरु उजागर भएका छन् ।
व्यास जोड्ने पैदल बाटो सञ्चालन, तिंकरमा सशस्त्र प्रहरीको विओपी सञ्चालन, सिमा प्रशासन कार्यालय व्यासक्षेत्रमै सञ्चालन जस्ता कार्यहरु तत्काल गरिहाल्नुपर्छ । यति मात्र होइन, छाङरुको सितापुल र तिंकरमा भन्सार कार्यालय स्थापना, पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्न पनि ढिला गर्नु हुँदैन ।
तिंकर गाउँका साथै छियालेक, डोङकाङ र टाटाक्षेत्रसम्म कभरेज हुने गरी मोबाइल सेवाको विस्तार पनि अत्यावश्यक छ । किनकी ५ हजार २ सय मिटरको हिमालय क्षेत्रमा यात्रा गर्दा विपदको अवस्था पनि आउन सक्छ । हिमपात, हिमपहिरोको जोखिम तथा तत्काल उद्धारका लागि समेत मोबाइल सेवाको विस्तार अत्यावश्यक देखिन्छ ।
टिंकर नाका सञ्चालनका लागि गर्नैपर्ने कार्यहरुको फेहरिस्त अझै बढ्न सक्छ । तत्काल नगरि नहुने कार्यहरु प्रारम्भ गर्न ढिलाइ गर्नु हुँदैन । पूर्वाधार र तयारीविना नाका सञ्चालन मात्र गरिदा त्यो सुरक्षित हुनेछैन, व्यवस्थित हुनेछैन, दीगो र भरपर्दो पनि हुने छैन ।
निर्धारित कार्य र भूमिका निर्वाह गर्न सरकारका संयन्त्रहरु जिम्मेवार बन्नुपर्छ, सक्रिय बन्नुपर्छ । चार वर्षदेखि आवागमन ठप्प रहेको टिंकर नाका सञ्चालन आउनु खुशीको कुरा हो । तर, यसको व्यवस्थित र दीगो सञ्चालनका लागि सरकारका संयन्त्र गम्भीर बन्नैपर्दछ । जिल्लास्तरमा यी सबै कार्य र भूमिकाहरुको संयोजन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालयको हुन्छ । प्रभावकारी समन्वय, सम्पर्क र संयोजनबाट नै सिमाक्षेत्रमा यो महत्वपूर्ण दायित्व पूरा गर्न सकिन्छ । यसमा ढिलाइ गर्ने र यी विषयवस्तुहरुलाई अनदेखा गर्ने छुट देखिदैन ।