टिंकर नाका र टिंकर सडक मेरो उच्च प्राथमिकतामा : बडू

0
1257

दार्चुला ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले टिंकर नाका र दार्चुला–टिंकर सडक निर्माण आफ्नो उच्च प्राथमिकतामा भएको बताएका छन् । दार्चुलाको मात्रै नभएर सुदूरपश्चिम प्रदेशकै लागि सम्वृद्धिमा योगदान पुग्ने भएकोले टिंकर नाका सञ्चालन र टिंकर सडक सडक निर्माणमा आफु केन्द्रीत भइरहेको उहाँले बताउनुभयो ।
कोभिड महामारीले बन्द हुँदैआएको टिंकर नाकाबाट परम्परागत रुपमा जिल्लावासीको आवागमन ताक्लाकोट बजारसम्म गराउन सम्भव भइरहेको उहाँको भनाई छ । ‘केही दिनभित्रै दार्चुलाका व्यापारी ताक्लाकोट पुग्छन्, यसका लागि गृहकार्य भइरहेको छ’ गृहजिल्ला दार्चुला पुग्नुभएका नेता बडूले भन्नुभयो ।
वाणिज्य र परराष्ट्र मन्त्रालयमार्फत टिंकर नाका खुलाउन आफुहरुले निरन्तर प्रयास गर्दैआएको उहाँको भनाई छ । प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीसंग समेत नाका सञ्चालनबाट आफुले भेटघाट गरी पहल गरेको नेता बडूले बताउनुभयो । ‘स्थानीय तहका जनप्रतिनिधि र अन्य पार्टीका नेता साथीहरुले पनि आफ्नो ठाउँबाट भूमिका निर्वाह गरे, हामी सबैको प्रयत्नले स्थानीय जनताको माग र आवश्यकता सम्बोधन हुन लागेको छ’ उहाँले भन्नुभयो ।
तत्काल परम्परागत रुपमा टिंकर नाका सञ्चालन हुने तयारीमा छ । टिंकर नाकालाई वैधानिक नाकाको रुपमा सञ्चालन गर्न आफुले प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीसंग भेटेर कुरा गरेको नेता बडूको भनाई छ । ‘केही महिनाअघिनै भेटघाट गरेर हामीले कुरा राखेका छौं, प्रधानमन्त्रीज्यूको आसन्न चीन भ्रमणमा पनि टिंकर नाका वैधानिक रुपमा सञ्चालनको विषय प्रवेश गराउन पहल गरेका छौं’ उहाँले भन्नुभयो ।
टिंकर नाका वैधानिक रुपमा सञ्चालन गर्नका लागि नेपालतर्फ सुरक्षा व्यवस्थापन र विओपीको पूर्वाधार निर्माण भइसकेको छ । सिमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रुपान्तरण गर्नका लागि पनि आफुले पहल गर्ने उहाँको भनाई छ । नेपालतर्फ सुरक्षा व्यवस्थापन, अध्यागमन र भन्सार कार्यालय लगायतका संरचना तयार गरेपछि वैधानिक रुपमा टिंकर नाका सञ्चालन सम्भव रहेको नेता बडूले बताउनुभयो ।
टिंकर नाकाभएर पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न सकिएमा दार्चुला र सुदूरपश्चिम प्रदेशको पर्यटन र आर्थिक सम्वृद्धिमा योगदान पुग्ने पूर्वमन्त्री बडूको भनाई छ । ‘टिंकर नाका भएर कम खर्चमा कैलाश यात्रा गराउन सकिने अवस्था छ, यसका लागि निरन्तर प्रयास गर्छौ’ उहाँले भन्नुभयो ।
टिंकर नाका वैधानिक रुपमा सञ्चालनका लागि चीन सरकारको सहमति चाहिने भएकोले प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो विषयलाई समावेश गराउने गृहकार्य भएको उहाँले बताउनुभयो । ‘हामीले आन्तरिक व्यवस्थापन र तयारी पनि गर्नुपर्ने देखिन्छ । सुरक्षा उपस्थिति, अध्यागमन र भन्सार कार्यालय स्थापनाको गृहकार्यमा तत्कालै ध्यान दिनुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो ।
दार्चुला–टिंकर सडक निर्माण ५ वर्षभित्र सम्पन्न गराउन आफुले केन्द्रीयस्तरमा पहल गरिरहेको नेता बडूले जानकारी दिनुभयो । ‘भौतिक योजना मन्त्रालयका साथै नेपाली सेनाको विकास निर्माण निर्देशनालयसंग पनि यसबारे पटक–पटक छलफल गरेका छौं, अबको ५ वर्षभित्र टिंकरसम्मको सडक निर्माण गरिसक्नुपर्ने विषयलाई जोड दिएका छौं’ उहाँले भन्नुभयो । टिंकर सडक निर्माणमा बजेटको अभाव हुन नदिन र पाँच वर्षभित्र सडक निर्माण पूरा गर्नेगरी कार्य गर्न आफुले निरन्तर प्रयास गर्ने नेता बडूको भनाई छ ।
पूर्वमन्त्री एवं सांसद बडूलाई व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले टिंकर नाका र टिंकर सडक लगायतको माग राखेर मंगलवार ज्ञापनपत्र बुझाएका छन् । व्यास क्षेत्रको विकासका लागि आवश्यक पहल गर्न नेता बडूसंग माग गरिएको छ ।