जानीजानी भित्र्याइएको जोखिम

656

शंकर सिंह धामी
कोरोना भाइरसको महामारीसंग अहिले संसारभरका देश र सरकारहरु जुधिरहेका छन् । मानव जीवनकै सुरक्षालाई चुनौति रहेको कोरोना भाइरसले संसारका सबैजसो देश र सरकार प्रभावित बनेका छन् । विज्ञानको हालसम्मको प्रगति र आविस्कारले समेत कोरोनालाई तह लगाउन सकेको छैन । यद्यपि वैज्ञानिक र अनुसन्धानकर्ताहरुको क्रियासिलता यसका लागि भइरहेको छ ।
आज विश्व कोरोना भाइरसबाट त्रसित मात्रै होइन आक्रान्त बनिरहेको अवस्था छ । करिब २ सय देशमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको संक्रमण भएका नागरिकको संख्या ६ लाख पुगेको छ भने ३० हजारभन्दा बढीको ज्यान गएको छ । अल्पविकसित र विपन्न देशहरु मात्रै होइन विकसित युरोप, अमेरिका र चीन कोरोनाबाट नराम्ररी प्रभावित बनेका छन् । बेलायतका प्रधानमन्त्री जस्ता उच्च ओहोदाका पात्रमा पनि कोरोनाको संक्रमण भएको छ । यी दृष्टान्तबाट प्रष्ट हुन्छ कि कोरोनाले गरिब वा धनी भनेर विभेद गर्दैन । सानो र ठूलो भन्दैन । अहिलेसम्मको अवस्था र परिणामले शक्तिशाली, विकसित र साधनस्रोत सम्पन्न देशमा कोरोनाको संक्रमण बढी फैलिएको छ । र ती विकसित मुलुकमा मानवीय क्षति बढी भएको छ ।
विज्ञानको चरम आविस्कार र प्रयोगको वर्तमान समयमा कोरोनाले सिंगो विश्वलाई हल्लाइ दिएको छ । जसरी विज्ञानले सिंगो मानव जगत र सभ्यतालाई चकित गरेको थियो त्यस्तै रफ्तारमा कोरोनाले अहिले विज्ञानलाई चुनौति दिएको छ । यद्यपि वैज्ञानिक अध्ययन र अनुसन्धानले कोरोनाविरुद्धको संघर्षमा सफलता पाउनेमा आशावादी हुने अवस्था पनि छ । किनकी मानव समाजले अहिलेसम्मका विपत्ति र चुनौतीहरुलाई पार गर्दै आएको छ । कोरोनामा केही समय लाग्न सक्छ ।
कोरोनाको महामारी फैलिएको धेरै समय भएको छैन । छोटो समयमै संसारभर फैलिसकेको कोरोनाको संक्रमणले उत्तरको छिमेकी चीन र दक्षिणको छिमेकी भारतलाई नराम्ररी प्रभावित गरिसकेको छ । कोरोनाको उगदमस्थल रहेको चीन र पछिल्लो संक्रमण प्रसार भएको भारतको बीचमा रहेको नेपालमा पनि अहिलेसम्म ५ जना संक्रमित भेटिएका छन् । विश्व स्वास्थ्य संगठनलगायत सरोकारवाला पक्षको वकालत, खवरदारी र निर्देशनमा विश्व जगतलाई कोरोनाबारे सजगता र जिम्मेवार बनाउने प्रयास पनि संगसंगै देखिन्छ ।
अहिले नेपालको राष्ट्रिय जीवन लकडाउनले बाँधिएको छ । छिमेकी चीनले कोरोनाको संक्रमण रोकथाममा उत्साहजनक सफलता प्राप्त गरेको अवस्था छ । यद्यपि चीनमा ३२ सयभन्दा बढी नागरिकको ज्यान गएको छ । करिब एक लाख नागरिक संक्रमित बनेका छन् । त्यस्तै भारतमा संक्रमितको संख्या ९ सय पार गरेको छ भने २३ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । चीनले कोरोनाको संक्रमण नियन्त्रणमा लिइसकेको अवस्थामा छिमेकी भारतसंगै नेपाल र विश्वका सबैजसो देश कोरोना संक्रमण रोमथाममा केन्द्रीत छन् । भारतमा तीन साता लामो लकडाउन जारी गरिएको छ । मुख्यतः कोरोना संक्रमणको रोकथामका लागि यो लकडाउन गरिएको छ र जुन स्वाभाविक पनि छ ।
सिमाना जोडिएको हिसाबले नेपाल भारत र चीन दुबैसंग सीमा जोडिएको मुलुक हो । नाका संचालनको अवस्था पनि दुबैतर्फ छ । यद्यपि भारतको तुलनामा चीनसंगका नाका थोरै छन् र जटिल पनि छन् । आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र सम्बन्धले पनि नेपाल र भारतको दूरी धेरै कम छ । कोरोनाको संक्रमणले पनि यी आयाम र सम्बन्धलाई पुष्टि गरेको छ । किनकी ३ महिनाअघि चीनमा देखिएको कोरोनाको संक्रमण भारतमा देखिएपछि मात्रै नेपालमा पनि भेटिएको अवस्था छ ।
कोरोनाको औषधि वा खोप पत्ता नलागिसकेको अवस्थामा यसबाट जोगिन सक्नु सबैलाई अनिवार्यता बनेको छ । यसको संक्रमण नियन्त्रणका लागि हरेक देशका सरकारहरु लागिपरेका छन् । छिमेकी भारतमा कोरोनाको संक्रमण नियन्त्रणका लागि भएगरेका अभ्यास र प्रयासहरुको छाया नेपालमा परेको छ । अझ भनौ भारतमा कोरोनाबारे सतर्कता नदेखिदासम्म नेपालमा पनि यसबारे त्यति वास्ता गरिएको थिएन । भारतीय सरकारको जस्तै व्यवहार र नक्कल गरी नेपाल सरकारले आफ्नो क्रियासिलता देखाइरहेको छ ।
वर्तमानमा नेपाल सरकारले भारत र चीनसंगको सबै सिमा बन्द गरेको छ । आवतजावत बन्द गरेको छ । अत्यावश्यक सामग्री ढुवानी बाहेक सबै प्रकारको आवागमन र भौतिक सम्पर्क विच्छेद गरेको छ । जुन स्वाभाविक छ । यद्यपि यो अभ्यास र प्रयास नेपाल सरकारबाट दुई तिन हप्ता अगाडि वा एक महिना अगाडि भइदिएको भए हामी अझै सुरक्षित हुने थियौ । भौगोलिक सिमाना मात्रै अहिले बन्द भएका छैनन् सबै देशहरुसंगको हवाइ सम्पर्क पनि नेपालले विच्छेद गरेको छ । यसबीचमै अत्यावश्यक भनिएको हवाइ उडानबाटै कोरोना संक्रमित व्यक्तिको आगमन भएको पुष्टि भएको छ । यो संक्रमणको पुष्टिले हाम्रो स्वास्थ्य सुरक्षा प्रणाली कति कमजोर र दयनिय छ भन्ने देखाएको छ ।
भारतसंगको नाका बन्द र देशभर लकडाउन गरिरहदा सुदूरपश्चिममा मात्रै १ लाख ४३ हजार नेपाली नागरिक भारतबाट एक महिनाको अवधिमा नेपालको सुदूरपश्चिम भित्रिएको सरकारी तथ्यांक सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको यो तथ्यांक र अवस्थाले हामी कति जोखिममा छौ भन्ने देखिएको छ । देश भित्रिएका करिब डेढ लाखमध्ये एक हजार नागरिक पनि क्वारेन्टाइनमा बसेका छैनन् । यद्यपि प्रदेश, जिल्ला र स्थानीय तहपिच्छे क्वारेन्टाइनको व्यवस्था भएको व्यापक प्रचारप्रसार पनि भइरहेकै छ । हामीले यति वेडको क्वारेन्टाइन तयार गरेका छौ भनेर प्रचार गर्ने सरकार, जनप्रतिनिधि र कर्मचारीलाई थोरै पनि लज्जाबोध भएको छैन । हामीले तयार गरेका क्वारेन्टाइनमा सम्भावित व्यक्ति बसेका छैनन्, किन बसेनन्? किन बसाल्न सकिएन ? भन्नेबारे गम्भीर भएर समीक्षा र मनन गर्नुपर्ने दायित्व सरकार, जनप्रतिनिधि र कर्मचारीको होइन र ?
सुदूरपश्चिमसंगै दार्चुला जिल्लाको सन्दर्भ अझ भयावह छ । भारतसंग सिमाना मात्रै जोडिएको छैन दार्चुलाको प्रत्यक्ष सम्पर्क र सम्बन्ध पनि छ । देशभर लकडाउन भएको भोलिपल्ट दार्चुला सदरमुकामको खलंगा नाका भएर ७८ नेपाली नागरिकलाई स्वदेश भित्र्याइएको छ । नेपाली नागरिकलाई स्वदेश आउने हकअधिकार हुन्छ भन्ने मान्यताले ती नागरिकलाई भित्र्याइएको हो भने ती नागरिकका दायित्व र कर्तव्य पनि संगसंगै छन् भन्ने हेक्का राख्नुपर्ने होइन र ? विवेक, दबाव वा प्रभावमा देश भित्र प्रवेश गराइएका ती नागरिकको अवस्था अहिले कस्तो छ ? ती नागरिकसंगै जोखिम बढेको छ कि छैन ?यसबारे सोच्ने, समीक्षा गर्ने र कदम चाल्ने कस्ले ? अझ दोस्रो पटकमा २ सय २५ नेपाली नागरिकलाई स्वदेश भित्र्याइएको अवस्था छ ।
सिमानाका बन्द र देशभर लकडाउनको अवस्थामा दार्चुला भित्रिएका ३ सयभन्दा बढी नागरिकसंगै थप जोखिम भित्र्याइएको वास्तविकता छ । यद्यपि ती नागरिकमा कोरोनाको संक्रमण छ भनेर ठोकुवा गरिहाल्ने अवस्था छैन । तर पनि परिस्थितिको गाम्भीर्यतालाई हेरेरै सरकारले सिमानाका बन्द र लकडाउनको घोषणा गरिएको वास्तविता हाम्रो सामुन्नेमा छ । कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको मापदण्ड र अभ्यास नेपाल भित्रिएका नागरिकबाट नभएको अवस्था सम्बन्धित निकाय र अधिकारीले देख्नुपर्छ ।
धारचुलामा जम्मा हुनेवित्तिकै सिमानाका खोलेर देश भित्र्याइहाल्ने प्रवृतिले भारतभर रहेका नेपालीलाई गलत सन्देश गएको छ । तपाईहरु जसरी भए पनि धारचुला पुग्नुहोस्, नेपालको प्रशासनले नाका खोलिहाल्छ र देश भित्र आउन दिन्छ भन्ने सन्देश प्रसार भएको छ । यो कमजोरी मात्रै होइन, गम्भीर लापरवाही र गल्ती हो । यो लापरवाही र गल्तीको सजाय महंगो पर्न सक्छ । किनकी नेपाल छिर्न दिएका ३ सयमध्ये एकजनामा पनि कोरोना संक्रमण भयो र यसको प्रसार भयो भने कति मुल्य चुकाउनुपर्ला ? अनुमान गरौ ।
नेपालमा मात्रै होइन भारतभर लकडाउन छ । लकडाउनमा यातायातका साधन त बन्द हुन्छन् नै पैदल यात्रा समेत बन्द हुन्छ । तर भारतको धारचुलामा कसरी दिनहूँ सयौं नेपाली नागरिक पुगिरहेका छन् ? यसबारे नेपालको प्रशासन र सरकारले चाँसो र सरोकार राख्नुपर्ने होइन र ? भारतभर लकडाउन भइरहेको अवस्थामा कसरी नेपाली नागरिक दैनिक रुपमा धारचुलाको सिमाक्षेत्रमा पुगिरहेका छन् ? भन्ने पक्ष र प्रश्न गम्भीर छ । लकडाउनको अवस्थामा भारतीय नागरिकलाई मात्रै घरभित्र बस्न भनिएको र नेपालीलाई घर फर्किन पैदल यात्राको छुट दिइएको अवस्था हो कि ? यसबारे भारतीय पक्षसंग सरोकार र छलफल नगरी कसरी खुरुखुरु नेपाली सिमानाका खोलिदैछ ?
नेपाल सरकारले कोरोना संक्रमणको उच्च जोखिम भयो भन्ने समीक्षा गरेरै सिमानाका बन्द गरेको हो । देशभर लकडाउन घोषणा गरेको हो । तर विडम्बना दार्चुला सदरमुकामको नाकाबाट सयौंको संख्यामा नेपाली नागरिक स्वदेश छिरिरहेका छन् । विभिन्न कारणले भारतमा बसेका नेपालीलाई अहिले जसरी पनि नेपाल छिर्नैपर्ने बाध्यता किन ? के भारतमा बस्न दिइएको छैन र ? नेपालको भन्दा बढी कमाइको लोभमा भारत पसेका नागरिकले अहिले जोखिम मोलेर किन नेपाल पस्नुपर्ने ? कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा किन आफ्नो देश प्रवेश गर्नैपर्ने ? के कोरोनाले स्वदेश फर्किने नागरिकलाई संक्रमण नहुने छुट दिएको छ ?
कोरोनाको संक्रमण बढाउने गतिविधि र हर्कत भइरहदा राजनीतिक र नागरिक समाजको पक्ष चुपचाप देखिन्छ । अझ भनै सिमानाका खुलाएर सयौं नेपालीलाई कोरोनाको जोखिमसंगै स्वागत गर्न आतुर देखिन्छन् । यो गलत मात्रै होइन, निन्दनिय र जोखिमपूर्ण छ । स्थानीय प्रशासनलाई कडाइका साथ प्रस्तुत हुन सुझाव दिनुपर्नेमा सिमानाका खोलेर सयौं नेपालीलाई देश भित्र प्रवेश गराउन उद्दत भइरहेको अवस्थामा राजनीतिक र नागरिक समाजको क्षेत्र देखिन्छ ।
अहिले जो जुन ठाँउमा छन् त्यही सुरक्षित बस्नुपर्ने अवस्था हो । आफु सुरक्षित हुँदै अर्काको सुरक्षाका लागि भूमिका खेल्नुपर्ने अवस्था हो । तर गलत परिस्थिति र समयमा स्वदेश फिर्ता आउने हर्कतमा हाम्रा नागरिक देखिन्छन् । स्वदेश फिर्ता आउन पाउने नागरिकको अधिकार वा मानवीयता जेसुकै नाममा भए पनि कोरोना संक्रमणको उच्च जोखिमका बीच नेपाल भित्र्याउने कार्य गम्भीर गल्ती हो । कतिपय त्रुटी र गल्ती सकारात्मक सोच र प्रयास गर्दागर्दै हुन्छन् तर यो गल्ती जानाजान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !