छिमेकीका कुरा मिठा, व्यवहार नमिठा

258
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, पुस ७ गते । 

नेपालसंग सहज र नजिकको सम्बन्ध भएको छिमेकी भारतले कुरा मिठा गरे पनि व्यवहार नमिठो गर्ने गरेको छ । सीमावर्ती क्षेत्रमा भारतीय प्रशासनिक निकायदेखि उच्च राजनीतिक तहसम्मले नेपालसंगको मित्रता र घनिष्ठताबारे जहिले पनि मिठा कुरा गर्छन् । तर नेपाल र नेपालीसंगको व्यवहार भने जहिले पनि नमिठो र तल्लोस्तरमा हुने गरेको छ ।

मंसिर ४ गते शनिवार मात्रै भारतीय रक्षामन्त्री राजनाथ सिंहले दार्चुलाको सीमावर्ती पिथौरागढ जिल्लामा भ्रमण गरेका छन् । पिथौरागढ जिल्ला सदरमुकामको झौलखेत मैदानको खुला कार्यक्रममार्फत भारतीय रक्षामन्त्री सिंहले ‘नेपालसंगको सम्बन्ध खराव हुन नदिने’ उद्घोष गरेका छन् ।

भारतको उत्तराखण्ड सरकारले सञ्चालन गरेको शहिद सम्मान यात्राको उद्घाटन गर्न पहिलो पटक पिथौरागढ पुगेका रक्षामन्त्री सिंहले नेपाल र भारतको बीचको सम्बन्धलाई महत्व दिदै सम्बोधन गरेका छन् । ‘पडोसी देश नेपाल से हमारे रोटी बेटी के सम्बन्ध है । कुछ बाहरी शक्तियां नेपाल और भारत के सम्बन्ध खराब करने की कोशिस कर रहे हैं’ भारतीय रक्षामन्त्री सिंहले पिथौरागढको कार्यक्रममा भनेका छन् ।

‘दुई देशको सम्बन्ध खराब गर्ने षडयन्त्रलाई सफल हुन नदिने’ रक्षामन्त्री सिंहले उद्घोष समेत गरेका छन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरेपछि दुई वर्षअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभणेले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको बताएका थिए । त्यसलगत्तै देहरादूनमा आयोजित एउटा कार्यक्रममा भारतीय रक्षामन्त्री सिंहले सेना प्रमुखको भनाईलाई सच्याएका थिए । त्यतिबेला पनि रक्षामन्त्री सिंहले नेपालसंग भारतको गहिरो र आत्मिय सम्बन्ध भएको बताएका थिए ।

भारतीय पक्षले बोलीमा नेपाल र नेपालीलाई फकाउने गरेको छ । नेपाल र नेपालीप्रति जहिले पनि सकारात्मक र आकर्षक कुरा गर्ने गरेका छन् । तर व्यवहार भने कहिल्यै पनि सम्मानजनक भएको छैन । सीमाक्षेत्रमा हुने दैनिक भेटघाट र सम्पर्कदेखि परराष्ट्र मन्त्रालय र दूतावासस्तरबाट हुने सम्पर्क, समन्वयमा पनि नेपाली पक्षसंग मिठो व्यवहार भएको छैन ।

जय सिंह धामीको तुइन प्रकरण होस् वा कालापानी र सुस्ता लगायतको सीमा अतिक्रमणको विषयमा वार्ता गर्ने विषय होस् जुनसुकै विषयमा पनि भारतीय पक्षले नेपालसंग सम्मानजनक व्यवहार गरेको छैन । सीमाक्षेत्रमा दुई देशको प्रशासनिक संयन्त्रबीच समन्वय र सम्पर्क भइरहन्छ तर नेपाली प्रशासनले कहिल्यै पनि भारतीय पक्षबाट राम्रो व्यवहार पाएको छैन । सीमाक्षेत्रमा हुने भेटघाट, छलफल, बैठक र पत्राचारहरुमा भारतीय पक्षले नेपाली पक्षलाई सम्मान नगरेको दार्चुलास्थित एक सुरक्षा अधिकारी बताउँछन् । ‘भारतको पिथौरागढ प्रशासनसंग धेरै पटक धेरै विषयमा छलफल र पत्राचार भएका छन्, तर जहिले पनि भारतीय पक्षको व्यवहार हेपाहा रहदैआएको छ’ ती सुरक्षा अधिकारीले भन्नुभयो ।

कोरोना संक्रमणको बेला नाका खोल्ने विषयमा पनि नेपाली पक्षसंग भारतीय प्रशासनको नमिठो व्यवहार भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका एक कर्मचारीको अनुभव छ । ‘जुनसुकै विषयमा पनि भारतीय पक्षले आफुलाई माथि देखाउन खोज्छ, आफ्नोतर्फको कमजोरी कहिल्यै स्वीकारेको छैन, नेपाल छुट्टै देश भए पनि हिन्दी भाषामा पत्राचार गर्दैआएको छ’ ती कर्मचारीको भनाई छ । ‘भारतले हिन्दी भाषामा पत्राचार गरेपछि नेपाली प्रशासनले पनि नेपाली भाषामा पत्राचार गर्दैआएको छ’ उनको भनाई छ ।

भेटघाट, सम्पर्क र बैठकमा भारतीय पक्षले बोली र कुराकानी भने मिठो गर्ने गरेको छ । ‘दुई देशबीचको आपसी सम्बन्ध, जनस्तरको सम्बन्ध, सांस्कृतिक सम्बन्ध आदिलाई देखाउदै मिठा कुरा गरिन्छन् तर व्यवहार जहिल्यै पनि नमिठो हुन्छ’ नेपाली अधिकारीहरुको अनुभव छ ।

नेपालको जनगणनामा भारतीय त्रास र असहयोग

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको सीमावर्ती जिल्ला पिथौरागढ पुगेर नेपालसंगको मित्रताको वर्णन गरिरहदा नेपालको सरकारी पक्ष र जनस्तरले भने असहयोग र दुव्र्यवहार खेप्नुपरेको छ । केन्द्रीय तथ्यांक विभागले सुरु गरेको राष्ट्रिय जनगणनाप्रति भारतीय प्रशासन त्रसित र सशंकित बनेको छ । अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी, नाभी र कुटी गाउँमा जनगणनाको चर्चा भएपछि सीमाक्षेत्रमा भारतीय प्रशासन र सुरक्षा निकाय अलर्टमा बसेका छन् । नेपालको जनगणनालाई केन्द्रीत गरी भारतीय प्रशासन, सुरक्षा निकाय र गुप्तचरहरु सक्रिय बनेका छन् ।

भारतीय पत्रिका हिन्दुस्तान दैनिकले नेपाल सरकारले घुसपैठ गरी गुञ्जी, नाभी र कुटी गाउँको जनगणना गर्ने तयारी गरेको भन्दै झुटा समाचार नै छापेको छ । व्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने छाङरु र टिंकर गाउँको जनगणनाका लागि टोली खटाउन लागेकोमा भारतीय प्रशासनले भारतको बाटो भएर व्यासक्षेत्र जान दिएको छैन । छाङरु र टिंकरको नाममा गुञ्जी, कुटी र नाभी गाउँमा पनि नेपाली टोलीले जनगणना गर्ने भारतीय पक्षले आशंका छ । भारतीय गुप्तचर संयन्त्रको हवाला दिदै हिन्दुस्तान दैनिकले यसबारे समाचार लेखेको छ ।

दार्चुला जिल्ला प्रशासनले व्यासको छाङरु र टिंकर जाने जनगणना टोलीलाई भारतीय बाटो हिड्ने अनुमति दिन पिथौरागढ जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । तर भारतीय पक्षबाट पत्रको जवाफ नै आएन । भारतीय क्षेत्रमा बाटो मर्मतको कार्य भइरहेकोले केही दिनपछि मात्रै उक्त क्षेत्रमा जान सकिने मौखिक जवाफ भारतीय पक्षले नेपालको प्रशासनलाई दिएको छ ।

जनगणना टोली व्यास पठाउनमा भारतीय बाटो हिड्न नपाएपछि नेपालकै बाटो भएर गणना टोली व्यास पठाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो । तीन सदस्यीय जनगणना टोली आइतबार व्यासको छाङरु पुगिसकेको छ । मंगलवार टिंकर गाउँमा जनगणना सम्पन्न गरी गणना टोली छाङरु फर्किएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताउनुभयो । बाटोको अभावमा जनगणना टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत व्यासबाट खलंगा ल्याइएको छ ।

अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी, नाभी र कुटी गाउँमा जनगणना गर्ने कुनै तयारी नभएको पाण्डेले बताउनुभयो । भारतीय बाटो प्रयोग गरी छाङरु र टिंकर गाउँका लागि मात्रै जनगणना टोली पठाउने प्रयास गरिएको उहाँको भनाई छ ।

नेपालतर्फको व्यास जोडने पैदलबाटो ठाउँ ठाउँमा भत्किएको छ । नेपालतर्फ पैदल हिडडुल गर्न समेत असम्भव छ । धेरै जोखिम मोलेर जनगणना टोली व्यास पठाइएको जनगणना कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो । भारततर्फ भने महाकाली नदीको किनारैकिनार सडक मार्ग खुलाइएको छ । अतिक्रमित नेपाली गाउँहरु गुञ्जी, नाभी र कुटीसम्म सडक पुगाइएको छ भने व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु गाउँको पारी गव्र्याङ क्षेत्रमा पनि सडक पुगेको छ ।

नेपालतर्फको पैदल बाटो मर्मत हुन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार विभागले गत आर्थिक वर्षमा ३ करोड ३२ लाख रुपैयाँको बाटो मर्मतरसञ्चालनको ठेक्का सम्झौता गरे पनि हालसम्म कुनै प्रगति भएको छैन । व्यासक्षेत्रका वासिन्दाका साथै व्यासक्षेत्र जाने सरकारी कर्मचारीहरुले समेत भारतीय प्रशासनको लिखित अनुमति लिएर भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था छ ।

भारतको धारचुला तहसिलअन्तर्गत छियालेकक्षेत्रभन्दा माथि नोटिफाइड एरिया (निषेधित क्षेत्र) बनाइएको छ । सन् १९६२ को भारत–चीन लडाइदेखि नै उक्त क्षेत्रलाई निषेधित बनाइएको छ । निषेधित क्षेत्रमा नेपाली नागरिक मात्र नभई भारतीय नागरिकलाई पनि भारतीय प्रशासनको लिखित अनुमति विना प्रवेश गर्न निषेध छ । अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी, नाभी र कुटी गाउँका साथै भारतीय सैनिकको क्याम्प रहेका कालापानी र नाभीढाग क्षेत्र पनि निषेधित क्षेत्रमा राखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !