चुच्चे नक्शा जसले सीमा क्षेत्रका नागरिकलाई चिथोर्छ मात्रै !

291
फाइल फोटोः तिंकर गाउँ

जगबहादुर बुढा ।

दिउँसोको करीब दुई बज्दै थियो । दार्चुलाको खलङ्गा बजारमा पारिलो घाम लागिरहेको थियो । खलङ्गा बजार घुम्दै जाँदा म तिंकर खेडा पुगें । तिंकर खेडा अर्थात् तिंकर क्षेत्रका व्यासी सौकाहरूको टोल । घुम्दै जाने क्रममा एउटा कपडा पसलको छेउ एकजना बूढा बा घाम तापिरहेका भेटिए । मैले उनीसँग गफिन चाहें र उनको छेउमा पुग्दै अभिवादन टक्राएँ ।

बूढा बा एकछिन अक्मकिए । मैले आफ्नो परिचय दिएपछि मात्रै उनी सहजरूपमा कुराकानी गर्न तयार भए । उमेर ९१ वर्ष । व्यास गाउँपालिकाको तिंकरका स्थायी बासिन्दा तर, विगत दुई दशक यता दार्चुला खंलगामा बसिरहेका शौभन सिंह तिंकरी । ‘बुढेसकाल लाग्यो, अब तिंकर जान नसक्ने भएँ, त्यसैले खलङ्गामै बसिरहेको छु’, उनले भने । एकजना पाका मान्छे भेटिएकोले म उनको जीवन भोगाइ र अनुभवहरु सुन्न आतुर थिएँ ।

शौभन सिंह तिंकरी (९१ वर्ष)

मानवशास्त्री रोबर्ट देस्जारलेसको पहिलो चोटि ‘कुराग्राफी’ भनेर ह्योल्मो जातिको बारेमा ‘सेन्सरी बायोग्राफिज: लाईफ एण्ड डेथ अमोङ नेपालस् ह्योल्मो बुद्धिस्ट‘ भन्ने किताब सम्झिएँ । त्यहाँ दुईजना ह्योल्मोहरू म्हेमे लामा उर्फ घाङ लामा (८५ वर्ष) र किसाङ ओमु (८१ वर्ष) सँगको कुराकानी समेटिएको छ । उनीहरूको जीवन भोगाइ र संसार हेर्ने दृष्टि (वर्ल्ड भ्यू) बारेमा कुरा गर्दै लेखकले धेरै कुरा प्रष्ट पारेका छन् । त्यसबाट प्रभावित भएर होला म गाउँतिर पुग्दा त्यहाँका बूढा आमाबाहरुको जीवन भोगाइबारे धेरैभन्दा धेरै सुन्न प्रयास गर्छु ।

सीमा साँघुरिएको देखेका शौभनको बयान

वास्तव पाका उमेरका मानिसहरू आफैंमा जीवित इतिहास हुन् । उनीहरूले जीवनको कैयौं हिउँद र वर्षाहरू पार गर्दै अनुभव र भोगाइहरू संकलन गरेका हुन्छन् । म पनि यसो समय पाउँदा पाका उमेरका मानिसहरूसँग गफिन थाल्छु ।

मैले कोट्याउन चाहें ९१ वर्षीय शौभनका पुराना प्रसंगहरू । उनी अनुभवका पत्रहरूलाई विस्तारै कोट्याउन थाले । ‘जीवनमा धेरै कुराहरू भोगें । लामो दूरीको नुनको व्यापार गरें । त्यसपछि प्रहरीको जागिर पनि खाएँ । अनि राजनीति पनि गरें ।’

व्यापारको सिलसिलामा उनी ताक्लाकोटसम्म पुगेका रहेछन् । त्यहाँबाट नुन ल्याएर चामल लिन तल कैलाली कन्चनपुरसम्म जानुपर्ने रहेछ । ‘त्यहाँबाट चामल, खुवा (भेली) आदि लिएर चैत वैशाखमा माथि व्यास फर्किन्थ्यौं । त्यसबेला नेपालबाट बाटो थिएन । उता इन्डियाबाट जानुपर्थ्यो । व्यापारपछि मैले पुलिसको जागिर पनि खाएँ । त्यहीबेला हो मैले सीता पुलमा इन्डियन पुलिसलाई पिटेको ।’

सीमा छेउका मान्छेको जीवनसँग जोडिएका हुन्छन् यससँग जोडिएका घाउहरु । ‘के गर्ने हाम्रो नेपालको धेरै भूभाग भारतले लगे । पहिला हाम्रो नेपालको सीमा उता पिथौरागढसम्म थियो’, उनले विगत सम्झेर दुःख मान्दै भने, ‘उता टनकपुरसम्म थियो । अल्मोडासम्म गोरखा किल्ला थियो । तर पछि विस्तारै भारतले अतिक्रमण गर्दै लग्यो ।’

सीमा पारि विकास छ । सुविधा छ । तर पनि एकबारको जीवनमा कति दुःख काट्नु, उतै सरिदिऊँ भन्ने भावना उनलाई कहिल्यै आएन । ‘आफ्नो देशलाई छोडेर उता जान मन लागेन । मलाई त एकचोटि भर्ती हुन पनि प्रस्ताव आएको थियो । पोखरामा एउटा क्याप्टेनसँग मेरो दोस्ती थियो । उनले मलाई भर्ती हुनुपर्‍यो तपाईं पनि भने, तर मैले मानिनँ । अर्का देशमा जाँदिनँ, अर्काको नमक खाँदिनँ भनेर म गइनँ ।’

‘कहिलेकाहीं आजभोलि त्यतिबेला गोर्खा भर्तीमा गएको भए राम्रो हुने रहेछ भन्ने जस्तो लाग्छ कि ?’ मेरो प्रश्न भुईंमा नखस्दै उनले भने, ‘मैले त जिन्दगीमा देशको निम्ति ज्यानको बाजी लगाएँ र तक्मा पाएँ- २०३२ सालतिर । तक्मा राजा वीरेन्द्रले दिनुभयो । तक्मा पाएपछि आफ्नो देश भने त्यही भएर २०३४ सालमा जिल्ला सदस्यमा चुनाव लडें र जितें । त्यो बेला राजाको आदेश अनुसार जनताले पाउने हो । त्यही बेला महाकालीको बाटो दार्चुला खलङ्गादेखि तिंकरसम्म बनाएँ । त्यसपछि प्रजातन्त्र आयो, बाटोको लागि रुपैयाँ दियो तर बाटो बनेन । अहिले पनि कोहीले भन्ने गर्छन्, तपाईं जिल्ला सदस्य हुँदा व्यासको बाटो थियो । बाटो मर्मतसंभार हुन्थ्यो । तर अहिले त व्यास जाने बाटो नि छैन । अहिलेको जमाना खालि पैसा मात्र भन्छ । आमा बेचेर हुन्छ कि बुवा बेचेर हुन्छ पैसा नै चाहियो । संसार पैसामा बिकेको छ ।’

पारिलो घामको न्यानो ताप्दै म उनको कुरा सुनिरहेको थिएँ । एकछिन खोक्न रोकिएका उनी पुनः अतीततिर फर्किए । ‘उस बेला त ताक्लाकोटीले हामीलाई दशैंको बेला दुईवटा खसी सित्तैंमा दिने गर्दथ्यो । तर आज भोलि कहाँ देला । उ बेला ताक्लाकोट जान पनि हामीलाई रोकतोक हुँदैनथ्यो । हामी तिंकारी र छाङ्ग्रायललाई अहिलेको जस्तो ‘पास’ भन्ने चाहिंदैनथ्यो ।’

सीमा क्षेत्रमा चुच्चे नक्शाको प्रभाव

सडकमा मानिसहरू यताउति हिंडिरहेका थिए । हामी सडकपेटीको छेउमा गफिंदै थियौं । त्यसैबेला दिपु तिंकरी पनि आएर हाम्रो गफमा जोडिए । हामी बसेको सडकपेटीको आडमै थियो दिपु तिंकरीको कपडा पसल । ३९ वर्षका दिपु (दिपक तिंकरी) ६ महीना माथि ताक्लाकोटमा व्यापार गर्दा रहेछन् भने ६ महीना खलङ्गामा कपडा पसल गर्दा रहेछन् । विगत दुई वर्षयता भने कोभिडको कारण ताक्लाकोट जान नपाएको गुनासो पोखे । कुराकै सिलसिलामा आफ्नो केही आक्रोश पोख्न थाले ।

‘कहिले कोभिड, कहिले चुच्चे नक्शाले हामीलाई गाह्रो बनाएको छ । हामी पनि चुच्चे नक्शाको पक्षमै हो । हाम्रो नेपालको भूभाग हो । तर सीमाको मुद्दा भोट बटुल्ने राजनीतिसँग जोड्नुहुँदैन । सीमा क्षेत्रका नागरिकको व्यवस्थापन नगरी जथाभावी मुद्दा उठाउँदा हाम्रो जीवन प्रभावित भइरहेको छ । यहाँ हाम्रो सरकारको उपस्थिति कमजोर छ । सबै कुरामा त्यही भारतमै भर पर्नुपर्छ । अरु त ठीकै छ तर आफ्नो गाउँठाउँ जानको लागि बाटो समेत भारतकै प्रयोग गर्छौं । पारिबाट जान्छौं । जथाभावी सीमा विवाद निकाल्दा हामी अप्ठ्यारोमा परिरहेका हुन्छौं । हामीलाई सरकारको सपोर्ट गर्ने कि नगर्ने भन्नेमा द्विविधा हुन्छ । हाम्रो समस्या छ । राष्ट्रवाद र देशभक्तिको आदर्शले मात्र जीवन चल्दैन रहेछ ।’

सरकारले कुनै तयारी नगरी नक्शाको कुरा ल्याएको भन्दै स्थानीयहरूले गुनासो गरे ।

‘सीमामा छैन सरकार’

दिपुको कुरा नसकिंदै आइपुगिन् पारती बुढाथोकी । उनको गुनासो र आक्रोश पनि उस्तै थियो । उनले भनिन्, ‘तिंकर गाउँमा एकदम समस्या छ । छाङारुबाट तिंकर पुग्नलाई १३ किलोमिटर पर्छ । सरकारले हाम्रो तिंकरलाई केही गरेको छैन । मंसीर पहिलो हप्ता तल खलङ्गा झर्छौं र वैशाख पहिलो हप्ता माथि तिंकर जान्छौं । वैशाखमा माथि गयो भने एउटा सिटामोल पनि पाउँदैन । स्वास्थ्य सेवाको अभाव छ । स्वास्थ्यकर्मीहरू पुग्नलाई गाह्रो नै छ । सरकारले हाम्रो क्षेत्रमा ध्यानै दिएको छैन । हामी पनि नेपाली जनता हो । हामीलाई राज्यले आधारभूत सेवा सुविधाको व्यवस्था गर्नु पर्‍यो ।’

सरकारसँग आशा मरेपछि आशाहरु विस्तारै आक्रोशमा बदलिने रहेछन् । ‘सरकारसम्म हाम्रो कुरा पुगोस् । २१औं शताब्दीमा आएर पनि जनतालाई आधारभूत सेवा नहुनु त एकदम दु:खको कुरा हो । आँखा भएर पनि हेर्न नसकेको जस्तै हो । हामी तिंकर र छाङारुका सौका समुदाय खेती किसानीको लागि त्यहाँ जाने गर्छौं । हामीले यहाँ एकसाथ चीन र भारतसँगको सीमामा रक्षकको भूमिका निभाइरहेका छौं । यदि हामी त्यहाँ बसेनौं भने भारत र चीनबाट पनि दबाव आउँछ र यो क्षेत्रको अस्तित्व संकटमा पर्न सक्छ । हामी बसोबास गरेकै कारण तिंकर र छाङारु अझैसम्म नेपालमै छ ।’

‘सीमाको नारा लगाउन सीमा क्षेत्रमै आऊ’

केहीबेरको मौनतापछि उनी पुनः बोल्न थालिन्, ‘धेरै खेतीपाती पनि हुँदैन । फापर, आलु, नापाल तीन बाली मात्र हुन्छ । त्यो उत्पादनले वर्षभरि खान पनि पुग्दैन । हिउँदमा एकदम चिसो हुन्छ । अलि अलि पानी परेसँगै हिउँ पर्न थालिहाल्छ । तैपनि हामी आफ्नो जन्मभूमि र जन्मथलो भनेर जाने गर्छौं । निरन्तर रूपमा जाने खेती गर्ने र सिमानाको सुरक्षा गर्ने गरिरहेका छौं । पशुपालनको लागि तिंकर बस्नुपर्छ । हामी हिमालमा हुर्केकाहरू गर्मी सहन पनि सक्दैनौं । सुविधा केही पनि छैन तर पनि हामी आफ्नो गाउँठाउँमा ६ महीनाको लागि भए पनि जान्छौं । मान्छे बिरामी भयो भने एउटा सिटामोल पनि पाउँदैन । कति मान्छे अकालमै मर्छन् । पारि (भारत)का नागरिकहरू सिकिस्त बिरामी भएमा भारत सरकारले हेलिकप्टरको व्यवस्था गर्छ । उनीहरूको ठाउँमा गाडी पुगेको छ । गाडीबाट पनि लग्छन् ।’

हाम्रो संवादमा जोडिए अर्का एक स्थानीय । उनी रहेछन् ३८ वर्षीय कृष्ण तिंकरी । अरुजस्तै उनी पनि ६ महीना ताक्लाकोट र ६ महीना खलङ्गामा व्यापार गर्ने रहेछन् । उनको गुनासो पनि त्यस्तै थियो ।

‘विद्यालय छैन, हस्पिटल छैन, खानको लागि पर्याप्त उब्जाउ छैन । दुवै गाउँका मानिसहरू बाँच्नको लागि छिमेकी देशको भर पर्नुपर्नेछ । भारतमै आश्रित छौं, हाम्रो दुर्गम ठाउँ छ । न रासनको व्यवस्था छ न अरु केही छ । नेपालबाट खाद्यान्न आउने बाटो छैन । नागरिकता बाहेक राज्यले केही दिएको छैन । नेताहरू चुनाव लागेपछि मात्र आउँछन्, यो गर्छु त्यो गर्छु भनेर जान्छन् । दार्चुला खलङ्गादेखि व्यास हुँदै चाइनासम्म बाटोहरू जोडेर स्थानीयको जीवनपद्धति बदल्ने उनीहरुको तातो आश्वासन चुनाव सकिएपछि सेलाउँदै हावामा विलाउँछ । अब त हामीलाई नेताको झूटो आश्वासन र सपनाको गफ सुन्ने आदत नै परिसक्यो ।’

अब बोल्ने पालो दिपुको । उनले थपे, ‘अहिलेसम्म हाम्रा पुर्खाहरूले सीमाको रक्षा गर्दै आएका छन् । पहिला यो ठाउँमा कुनै सुरक्षाकर्मी थिएनन् । दुई गाउँका जनताले हामी नेपाली भनेर हिंड्थ्यौं । पासको चलन चलेको १०-१५ वर्ष जति भयो होला । आफ्नो भूमि हो भनेर नक्शा जारी गर्नुपूर्व हाम्रो अवस्था बुझ्नुपर्दैनथ्यो सरकारले ? नागरिकको अवस्था वास्ता नगरी राजनीतिका लागि जमीनको कुरा गर्ने ?’

उनले भारततिर देखाउँदै भने, ‘पारिका जनता आरक्षण सिट पाएर ठूलाठूला पोस्टमा पुगेका छन् । रासन कार्डको व्यवस्था छ । बत्ती छ, विद्यालय छ । अस्पताल छ । बाटोघाटो अनि रोड छ । सबै सेवा सुविधाहरू छ । तर यता केही छैन । आफ्नै गाउँठाउँ जान पनि भारत भएर जानुपर्ने । यो भन्दा पनि लाजमर्दो विषय के होला ! आफ्नै देशमा जान अर्को देशको बाटो भएर जानुपर्ने ।’

दिपुलाई कृष्णले सघाए । ‘सरकारले हामीलाई सुविधा दियो भने न हामी पनि विरोध गर्थ्यौं । तर यहाँ दुई गाउँको व्यवस्था र विकास अनि बाटोघाटो विनाको कागजी नक्शा जारीले गर्दा हामी झन् समस्यामा पर्‍यौं । छाङारु र तिंकरका जनता कसरी बाँचेका छन्, सदरमुकामदेखि व्याससम्म कसरी पुग्छन्, आफ्नो जीविका कसरी चलाइरहेका छन् भनेर सरकारले कहिल्यै पनि सोधेको छैन तर खालि काठमाडौंमा बसेर ‘हाम्रो कालापानी, हाम्रो लिम्पियाधुरा, हाम्रो लिपुलेक’ भनेर कागजी नक्शा जारी गरेर हामीलाई झन् अप्ठ्यारोमा पारेको छ । जबजब उता काठमाडौंका सडकहरूमा मानिसको नाराजुलूस शुरु हुन्छ, तबतब यता भारतले हामीलाई समस्यामा पार्छ । सडकमा उफ्रेर नारा लगाउनेहरू काठमाडौंको सडक छाडेर माथि सीमामा गएर लगाउनु पर्‍यो । सरकारले बाह्रै महीना सीमा सुरक्षाकर्मी राख्नु पर्‍यो । उता भारतले माथि लिपु लेकमा बाह्रै महीना सीमा सुरक्षाकर्मी राखेको छ । भूमि चाहिं हाम्रो हो भन्ने अनि सुरक्षा चाहिं नगरेर हुन्छ त ? हाम्रो सरकारको नियत के हो ?’ उनी आक्रोशपूर्ण प्रश्न तेर्स्याएर मात्र चूप लागिन् ।

कुरा तात्दै जाँदा मौसम सेलाउन थाल्यो । किनकि घाम अस्ताउने सुरसार गर्दै थियो । गफिने साथीहरु विस्तारै वासस्थानतिर लाग्न थाले । म पनि आफू बस्ने होटलतिर लागें ।

होटलमा फर्केपछि अघि तिंकर खेडाका सौका समुदायका प्रतिनिधिहरूको संवादले मलाई चिमोट्न थाल्यो । आदिवासी जनजाति सौकाहरूको आक्रोश पढेपछि मैले एउटा निष्कर्ष निकालें- राज्यले भूगोलको मात्र ख्याल गरेर हुँदैन रहेछ, त्यहाँ बस्ने जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्ने रहेछ । कुनै पनि पूर्व तयारी विना हचुवाको भरमा र राष्ट्रवादी भावना भड्काउन नक्शा र सीमा चलाउनुहुँदैन । सौकाहरूको दैनिक जीवनमा बाधा पुग्नेबारे सोच्न सक्ने सरकार चाहिन्छ ।

सीमामा बस्ने नागरिकहरू जन्मजातै सीमारक्षक हुन् । उनीहरू पुर्खौंदेखि स्थायी रूपमा सीमामा बसेर सीमारक्षा गरेका छन् । उनीहरूको आधारभूत आवश्यकतालाई पूरा गर्न सके सीमा सुरक्षामा सीमामा बस्ने नागरिकहरू आफैं जागरुक भएर लाग्नेछन् ।

सीमा क्षेत्र भनेको कुनै पनि देशको अत्यन्तै संवेदनशील क्षेत्र हो । सीमा क्षेत्रका नागरिकहरूलाई विशेष सुविधा सहित पूर्वाधारहरू खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, बाटोघाटो यावत् कुराहरूको व्यवस्था गर्नु सरकारको दायित्व हो । सरकार सीमा विवादका विषयहरू उठाउँदा सदियौंदेखि सीमा क्षेत्रमा बस्ने नागरिकहरूको आवश्यकताको पहिचान गरी त्यसलाई सम्बोधन गर्न पछि पर्नुहुँदैन । त्यहींका नागरिकहरूको सहभागितामा सीमा विवादका समस्याहरू सुल्झाउन सक्नुपर्छ ।

सीमामा बस्ने सौका समुदायको यावत् समस्यालाई थाती राखेर एकैचोटि नक्शा जाहेर गरेकोमा सौका समुदाय आक्रोशित छन् । स्थानीय जनताको सहभागिता विना र काठमाडौंमा बसेर काठमाडौंबाट नै नक्शा जाहेर गर्ने र काठमाडौंका सडकपेटीबाट चर्को नारा र भाषणले सीमामा बस्ने नागरिकहरूको दैनिक जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने रहेछ । काठमाडौंले यही कुरा बुझेको छैन र त छाङारु र तिंकरवासी सौका समुदाय आक्रोशित छन् ।

(लेखक मानवशास्त्री हुन् ।)

अनलाईनखबरबाट

तपाईको प्रतिक्रिया दिनुहोस् !