चीन कि चाल नही, सीमा कि देखभाल है

421

शंकर सिंह धामी
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय शासक मात्रै क्रुद्ध बनेका छैनन्, भारतीय मिडिया युद्ध मैदानमा उत्रिसकेका छन् । जबकी शान्ति र मित्रता बाहेक केही नचाहने नेपालले भारतसंग वार्ताबाहेकको विकल्प देखेको छैन । दशकौंदेखि नेपाल र भारत दुई देशबीच भूमि र सीमा अतिक्रमणको मुद्दा चल्दैआएको छ । पछिल्लो पटक २०७६ कार्तिक १६ गते (२ नोभेम्बर २०१९) मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै कालापानी क्षेत्रलाई विवादित क्षेत्र नभएको प्रष्ट सन्देश दियो । यति मात्रै होइन, कालापानी क्षेत्रका बारेमा छलफल गर्न समेत भारत तयार देखिएन । यद्यपि औपचारिक वक्तव्यमार्फत वार्ता गर्ने ओठे प्रतिक्रिया भारतले दिदैआएको थियो ।
भारतले राजनीतिक नक्साको आठौं संस्करण जारी गरेपछि लिम्पियाधुरादेखि लिपुलेखसम्मको क्षेत्र मात्रै होइन उस्ले भन्दैआएको नक्कली महाकाली (लिपुखोला) वारीको कालापानी क्षेत्र समेत भारतमा देखाइयो । यतिसम्म कि लिपुखोलाभन्दा पूर्वमा रहेको ओम (ॐ)पर्वत तथा नेपाल र चीनको सिमाना छुट्याउने १ नम्बर पिलर नजिकसम्मको भूभाग भारतीय क्षेत्रमा देखाइयो । भारतको यो हर्कतबाट नेपालमा निराशा छायो । ऐतिहासिक र पारस्परिक सम्बन्धमा विश्वस्त नेपाल सरकारले वार्ताको पहल गर्यो तर छिमेकीले टेरेन । दुईपटक लिखित पत्राचार गर्दा पनि भारत वार्तामा बस्न तयार भएन । जनस्तरबाट उठेको आक्रोस, प्रतिक्रिया र मागलाई सम्बोधन गर्दै नेपाल सरकारले नयाँ नक्सा जारी गर्यो । नेपालले नयाँ नक्सा जारी गर्नमा भारतीय रक्षामन्त्रीबाट लिपुलेक सडकको उद्घाटन र भारतीय स्थलसेना प्रमुखको उत्तेजक अभिव्यक्ति पनि महत्वपूर्ण पृष्ठभूमि थियो ।
नेपालले नयाँ नक्सालाई संविधान संसोधनबाट समेत कार्यान्वयनमा ल्याएपछि भारत छटपटिएको छ । छिमेकी र मित्र देशबाट सदभाव, सहयोग, वार्ता र तथ्यप्रमाणका आधारमा समाधान चाहिरहेको नेपालले बाध्यतापूर्ण कदम चाल्यो । यो कदम निर्विकल्प पनि थियो ।
भारतले छिमेकी नेपालको भूमि अतिक्रमण गर्दा अन्याय नहुने ? भारतले अतिक्रमित भूमिमा सैन्य उपस्थिति र युद्धको तयारी गर्दा गल्ती नहुने ? भारतले एकतर्फी सडक संरचना निर्माण र सडकको उद्घाटन गर्दा फरक नपर्ने ? भारतले नेपाली भूमि समेटेर नक्सा जारी गर्न पाउने ? नेपालले पटक पटक वार्ताको प्रस्ताव गर्दा पनि नटेर्ने ? भारतले नेपालको कुटनीतिक नोटको प्रतिक्रिया नै नदिने ? विशाल लोकतन्त्र भएको भारतका सेनापतिले नेपालप्रति गम्भीर आक्षेप लगाउन पाउने ? तर नेपालले आफ्नो हक र अधिकारको दावी गर्न नपाउने ?
भूगोल, जनसंख्या र सैन्य शक्तिमा बलियो भारतले नेपाललाई यो स्तरमा हेप्नु भनेको नेपालको सार्वभौमिकता समाप्त गर्न खोज्नु हो । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सम्बन्धको आडमा नेपाललाई आफ्नो पञ्जाभित्र राखिरहने र आफ्नो स्वार्थअनुकुल मात्रै चलाउने अभ्यास भारतले गर्दैआएको छ । भारतले नेपालका राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबैक्षेत्रका पात्र र सम्बन्धलाई आफ्नो स्वार्थपूर्तिमा मात्रै केन्द्रीत गर्दैआएको छ । आफु अनुकुलको सम्बन्ध र व्यवहार हरेक देशले गर्न खोज्छ । भारत, चीन, अमेरिका सबैले नेपालबाट आफ्नो हित र अनुकुलको अपेक्षा गर्छन्, जुनकुरा सिद्धान्ततः स्वाभाविक छ । तर नेपाल र नेपालीलाई परिरहेको असरका बारेमा पनि जिम्मेवार हुनुपर्छ । नेपाल र नेपालीको हितलाई कसैले पनि उपेक्षा गर्न मिल्दैन ।
नेपाल र नेपालीको भावनामा मात्रै चोट पुगेको छैन । नेपालको राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि भारतबाट प्रहार भएको छ । नेपाललाई प्रभावमा राख्ने, दबावमा राख्ने र धम्काउनेसम्मको हर्कतमा भारत उत्रिएको छ । भारतिय व्यवहार मात्रै गलत छैन, उसको नेपालप्रतिको नियत नै ठिक छैन । आफु अनुकुलको अवस्था नभए नेपालको शासन व्यवस्था नै परिवर्तन गर्न भारत पछि पर्दैन । नेपालभित्रका शक्ति र पात्रहरुबीच मतभेद श्रृजना गर्न भारत सक्रिय मात्रै होइन, सक्षम पनि छ । २०७२ मा संविधान जारी गरिसकेपछि सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु, मधेश केन्द्रीत पार्टीको एकता र एजेण्डा निर्धारण गर्नु र काग्रेस–कम्युनिष्टहरुभित्रै आफु अनुकुलको तप्का क्रियासिल बनाइराख्नु भारतको सक्रियता नै हो ।
सिंगो देश एकढिक्का भएर राष्ट्रिय सहमतिका साथ नयाँ नक्सा जारी भएको छ, संविधान संसोधन भएको छ । तर यो कुरा भारतलाई पचेको छैन । भारतका एजेन्टहरु यो मुद्दामा पछारिदा छटपटिएका छन् । अधिकांश भारतीय मिडिया र केही नेपालका मिडियाहरुले अहिले रोइलो गर्दैछन् । नेपाल चीनको चालमा चलिरहेको छ, चीनिया इशाराले नेपालमा यो अवस्था आएको हो भन्ने भ्रमपूर्ण र गलत सन्देश फैलाइदैछ ।
सीमाक्षेत्रमा नेपालका सुरक्षाकर्मी पुगेकोमा भारत अचम्मित भएको छ । किनकी विगतदेखि नेपालको सुरक्षा निकायमा पनि भारतको पकड थियो र आफु अनुकुल मात्रै सुरक्षा निकायको क्रियासिलता हुन्थ्यो । यसपटक सीमाक्षेत्रमा सुरक्षाकर्मी पुगेका छन् । असार ३ गते प्रधान सेनापति र सशस्त्र प्रहरी प्रमुखले दार्चुलाको व्यासक्षेत्रमा भ्रमण गरेका छन् । तर भारतीय मिडिया नेपालका सुरक्षा अधिकारीलाई चीनको सेना देखिरहेको छ । यो कुनै भ्रम होइन, भारत र भारतीय मिडिया कुनै भ्रममा छैन । तर भारत र भारतीय मिडिया दुबैले गलत नियतका साथ भ्रम छरिरहेका छन् । आफ्नो भूगोल र सीमाक्षेत्रमा नेपाली सुरक्षा अधिकारी पुग्दा भारतीय पक्षले किन छटपटिनु पर्यो ? नेपालतर्फको बलियो सुरक्षा उपस्थिति र परिचालनले कसरी भारतलाई असुरक्षा हुन्छ ?
नेपालको राजनीतिक नेतृत्वलाई चीननिकट भन्दा केही आंशिक सत्यता हुनसक्छ । किनकी वर्तमानमा नेकपाको सरकार छ र चीनको कम्युनिष्ट पार्टीसंग उस्को वैचारिक निकटता पनि छ । तर सिंगो नेपाल र नेपालको सुरक्षा निकायलाई समेत चीनको चालमा चलेको देख्ने भारतको नियत नै गलत छ ।
नेपालका दलहरुबीच नागरिकता ऐनमा देखिएको विवादलाई भारतीय मिडियाले भारतसंगको सम्बन्धको रुपमा जोडिरहेको छ । भारतमा भएको अभ्यासको नक्कल गरी नेपालमा पनि विदेशी वुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिकता दिने व्यवस्थाको अनुशरण मात्रै गरिएको हो । आफुले गरेको राम्रो अभ्यास पनि नक्कल गर्दा दुःखी र आक्रोसित छ भारत ।
नेपालले सीमाक्षेत्रमा बाटो बनाउदा चीनिया घुसपैठ भएको देख्दैछ भारतीय मिडिया । कोरोनाको संक्रमण र लकडाउनका कारण सीमानाका बन्द भइरहदा चीनको इशारा देख्दैछ छिमेकी । नेपाल र नेपालीले आफ्नो माटो रक्षाका लागि केही पहल गर्दा गम्भीर गल्ती गरेको र मित्रता टुटाएको देख्दैछ भारत । चीनिया पक्षको हाउगुजी देखाएर आफ्नो पञ्जामा मात्रै टिकिरहन नेपाललाई दबाव दिइरहेको अवस्था छ अहिले ।
कोहीकसै नेपाली कुपुत्र वा कुपुत्रीको चाहना होला भारतीय गुलाम बन्ने, कसैको इच्छा र सपना होला चीनको चाकर बन्ने । तर देशको हित र नेपाली माटोको सुरक्षा चाहने आम नेपालीलाई कसैको गुलाम वा चाकर बन्ने इच्छा छैन । भारतको भिख र चीनको चमत्कारले नेपाल बन्दैन । सुखी नेपाली र सम्वृद्ध नेपाल बन्न नेपालीको मिहिनेत चाहिन्छ । भारत होस् कि चिन वा अमेरिका होस् कि रुस कसैसंग पनि शत्रुता चाहदैन नेपाल । संसारमा कोही पनि नेपालका शत्रु छैनन्, सबै मित्र छन् भन्ने खुला मित्रनीति छ नेपालको । नेपाली जनता कसैको पनि अहित चाहदैनन् । साथसाथै, आफ्नो हित र देशको रक्षालाई दाउमा राखेर भारतका दास वा चीनका चाकर पनि बन्न चाहदैनन् । स्वतन्त्र र स्वाभिमानी नेपाली भएर जिउन पाउने र जिउने सक्ने अवस्था श्रृजना गर्नमा वर्तमान राजनीतिक नेतृत्व र नेपाल सरकार चुक्नु हुँदैन । चीनको चाल देखाउने भारतीय फोवियालाई नेपाली समाजले कुनै महत्व दिएको छैन । नेपाल र नेपालीको भारतलाई एउटै सन्देश छ– हामी चीनको चालमा होइनौ, आफ्नो हितमा अडिग छौ, गोर्खालीले आफ्नो स्वाभिमानको रक्षा आफै गर्छन्, अरुको वैशाखी टेक्दैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !