चमेलिया र नौगाडको डिपिआर स्वीकृत

612

दार्चुला, असार १२ गते ।
चमेलिया र नौगाड नदीमा तटबन्ध तथा संरक्षणको संरचना निर्माण गर्न डिपिआर (विस्तृत योजना प्रतिवेदन) स्वीकृत भएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले तयार गरेको डिपिआर जलस्रोत तथा सिँचाई विभागले स्वीकृत गरेको हो ।
सरकारले गतवर्षको बजेट मै चमेलिया र नौगाड नदी संरक्षणको संरचना बनाउने घोषणा गरेको थियो । बजेट वक्तव्यमा दुबै नदी किनारमा संरचना निर्माणका लागि डिपिआर तयार गरिने उल्लेख थियो । महाकाली नदी नियन्त्रण आयोजनाले तयार गरेको डिपिआर जेठ २७ गते विभागबाट स्वीकृत भएको आयोजना प्रमुख रणवहादुर बमले बताउनुभयो ।
आयोजनाको प्राविधिक जनशक्तिबाट दुबै नदीको डिपिआर तयार गरिएको उहाँले बताउनुभयो । ‘प्राविधिक अध्ययन र फिल्डस्तरको स्थलगत भ्रमण गरी डिपिआर तयार गरिएको हो, विभागका महानिर्देशक ज्यूबाट स्वीकृत भएको छ’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख बमले भन्नुभयो ।
महाकाली नदी किनारमा बनाइएको तटबन्धको संरचना जस्तै गोकुलेश्वरस्थित चमेलिया नदीमा संरचना बनाइने छ । विभागले स्वीकृत गरेको डिपिआरअनुसार चमेलिया नदी नियन्त्रणको कुल लागत ९९ करोड ८८ लाख ४८ हजार रहेको छ । गोकुलेश्वर बजारको क्षेत्रमा आरसिसि रिटेनिङ वाल (सिमेन्टको पक्की संरचना) बनाउने लक्ष्य छ । ‘चमेलिया नदी किनारको दार्चुलातर्फ १२ सय मिटर र बैतडीतर्फ ३ सय मिटर लामो पक्की संरचना बनाइनेछ’ आयोजना प्रमुख बमले बताउनुभयो ।
चमेलिया नदीका अन्य क्षेत्रहरुमा पनि संरक्षणको काम गरिनेछ । ‘गोकुलेश्वर बजार बाहिरको क्षेत्रमा ग्याविन तारजालीको काम हुनेछ’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख रणवहादुर बमले भन्नुभयो ।
चमेलिया नदीको सहायक नदी नौगाडको छुट्टै डिपिआर तयार गरिएको छ । नौगाड गाउँपालिकाको वडा नम्बर ३ जामिरदेखि वडा नम्बर ६ धुलिगडाको खेडासम्म नदीको किनारमा संरचना बनाइनेछ । ‘आवश्यकताअनुसार नदीको दुबैतर्फ संरचना बनाइने’ आयोजना प्रमुख बमले बताउनुभयो । नौगाड नदी नियन्त्रणका लागि ३३ करोड ३० लाख ८३ हजार लागतको डिपिआर स्वीकृत भएको छ ।
नौगाड नदीमा २०७० र २०७५ सालमा ठूलो वाढी गएको थियो । वाढीबाट दर्जनौ घरपरिवार विस्थापित भएका छन् भने सयौं रोपनी जमिन र सडकको संरचनामा क्षति पुगेको थियो । गोकुलेश्वरमा चमेलिया नदीको कटानले गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर अस्पताल, हवाइमैदान र बजार क्षेत्रसमेत जोखिममा छ ।
नौगाड र चमेलिया नदीमा तटबन्धको संरचना निर्माण गर्न राजनीतिक र प्रशासनिकस्तरबाट पहल भएको थियो । नेपाल सरकारको बजेट प्रणालीमा यी दुबै नदी संरक्षणका आयोजना समावेश भइसकेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । ‘दुबै आयोजना बजेट प्रणालीमा समावेश भइसकेकाले सरकारले आगामी वर्षदेखि नै यसको कार्यान्वयन गरिन्छ’ आयोजना प्रमुख बमले भन्नुभयो ।
हाल महाकाली नदीमा संरक्षणको संरचना निर्माण गरिरहेको महाकाली नदी नियन्त्रण आयोजनाले नै चमेलिया र नौगाड नदीको काम गर्नेछ । दुबै नदीको डिपिआर स्वीकृति भइसकेपछि खरिद गुरुयोजना तयार भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाले नौगाड नदी नियन्त्रणमा १० करोड र चमेलिया नदी नियन्त्रणमा ३० करोड बजेटको माग गरेको छ । ‘आगामी तिनवर्षको खरिद योजना निर्माण गरी कार्यान्वयन गर्ने गृहकार्यमा छौ, अर्थ मन्त्रालयको सहमतिमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबाट खरिद योजना स्वीकृत भएपछि कार्यान्वयन चरणमा जान्छौ’ आयोजना कर्मचारी करन सिंह धामीले बताउनुभयो ।
डिपिआर अनुसारको संरचना पाँच वर्षभित्र निर्माण गरिनेछ । बहुवर्षिय ठेक्का प्रणालीबाट चमेलिया र नौगाड नदीमा संरचना निर्माणको कार्य गरिने आयोजनाले जनाएको छ । महाकाली नदी किनारको कार्य भने आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !