चमेलिया नदीमा बेपत्ता बालकको शव झुलाघाटमा भेटियो

249

दार्चुला, असार २९ गते ।

चमेलिया नदीमा बगेर बेपत्ता भएका एक बालक झुलाघाटको भारततर्फ महाकाली नदी किनारमा मृतावस्थामा फेला परेका छन्।

बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका हुन्।

बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोतल समात्न खोज्दा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिए।

बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ।‘भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ। बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ’ उनले भने।
रासस

तपाईको प्रतिक्रिया दिनुहोस् !