गौरा पर्व सुरु

586

भदौ १६ गते ।
सुदूपश्चिमेलीहरुको महान् पर्व गौरा पर्व विधिवत् रुपमा शुक्रवारदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरुवात् हुने गौरा पर्व यो वर्ष शुक्रवारदेखि सुरु भएको हो ।
शिव र पार्वतीको पूजापाठ गरी शिव गौरीको विवाहको सम्झानामा गौरा पर्व मनाउन थालिएको बुढापाकाहरुले बताउने गरेका छन् ।
सुदूरपश्चिमेलीहरुको महान् पर्वको रुपमा मनाइने गौरा पर्वको पहिलो दिन महिलाहरुले गौरा घर (गौँरे खलो) मा तथा घर–घरमा तामाको भाँडामा बिरुडा भिजाएर गौरा पर्वको सुरुवात् भएको छ । बिरुडा भन्नाले पञ्च नाज अर्थात् पाँच प्रकारका अन्न (केराउ, गहत, गुँरास, गहुँ, कालो मास) लाई बिरुडा भन्ने चलन छ । यो वर्षको पहिलो दिन बिरुडा भिजाई सुदूपश्चिमेली महिलाहरुले गौरा पर्वको सुभारम्भ गरेका छन् । गौरा पर्वको पहिलो दिन महिलाहरुले ब्रत बसेर तामाको भाडाँमा सफा पानीले बिरुडा भिजाएर मनाउने चलन सुदूरपश्चिमेली समाजमा छ ।
हरेक कृष्ण पक्षमा पर्ने गौरालाई अधेरी गौरा र शुक्ल पक्षमा पर्ने गौरा पर्वलाई उजेली गौरा भन्ने चलन रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का स्थानीय मानमती धामीले बताए । त्यस्तै तिथि बढेमा बाटो गौरा र घटेमा धोइ गौरा भन्ने प्रचलन रहेको उहाँको भनाई छ ।
यो वर्षको गौरा पर्व कृष्ण पक्षमा परेकाले अधेरी (अनेरी) गौरा भनिन्छ ।
पञ्चमीका दिन भिजाएको बिरुडा दोस्रो दिन षष्ठीका दिन पानीको मुहान तथा धारामा गई सामूहिक रुपमा धोएर गौरा देवीको प्रतिस्थापन गरि गौरा पर्व मनाउने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई गौरा घर तथा मन्दिरमा भित्र्याएर आ–आफ्नो चलन अनुसार पूजापाठ गरी विवाहित महिलाहरुले दुबधागो चढाउने परम्परा छ ।
यस्तै अष्टमीका दिन ब्रत बसेर महिलाहरुले बिहानैदेखि गौरा पर्व मनाउने स्थल गौरा खलोमा पूजापाठ गर्ने गर्दछन् । अष्टमीका दिनलाई गौरा पर्वको रमाईलो दिनका रुपमा लिइन्छ । गौरा देवीको प्रतिमा निर्माण गरी गौरा देवीको पूजापाठ गरि मनाउने तथा रमाईलो गर्ने भएकाले पनि त्यो अन्य दिनको भन्दा गौरा पर्वको महत्वपूर्ण दिनका रुपमा लिइन्छ ।
सोही दिन साँझ चढाएको दुबधागो अभिषेक गरेर पूजापाठ गरी खाना खाने चलन छ । महिलाहरुले प्रसादको रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यहरुको टाउको पुज्ने र निधारमा बिरुडा थापिदिने चलन रहेको छ ।
आ–आफ्नो परम्परा अनुसार गौरा देवीको सेलाउने गरिन्छ । कुनै ठाउँमा अष्टमीका दिन गौरा देवीको प्रतिमा सेलाउने चलन छ भने कुनै दिन अष्टमीको भोलीपल्ट साइत जुराएर प्रतिमा सेलाउने प्रचलन छ ।
सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी कैलालीमा गौरा पर्व मनाइन्छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा समेत गौरा पर्व मनाइन्छ भने पछिल्लो समय राजधानी काठमाण्डौँमा समेत गौरा पर्व मनाउन थालिएको छ । गौरा पर्व मनाइने जिल्लाबाट बसाई सरी काठमाण्डौँ बस्ने हिन्दु नारीहरुले राजधानीमा पनि गौरा पर्व मनाउन थालेका हुन् । शिव र गौरी देवीको प्रेम तथा विवाहको सम्झनामा महिला पुरुषहरुले सुदूरपश्चिमेली डेउडा खेल्ने चलन छ ।
जिल्ला सदरमुकाम खलंगा सुनसान बन्दै
गौरा सुरु भएसँगै जिल्ला सदरमुकाम खलंगा बस्दै आएकाहरु घर फर्किन थालेपछि जिल्ला सदरमुकाम खलंगा सुनसान भएको छ ।
पढाईको शिलशिलामा तथा रोजगारीको शिलशिलामा जिल्ला सदरमुकाम खलंगा बस्दै आएकाहरु गौरा पर्वका लागि गाउँ फर्किन थालेपछि सदरमुकाम सुनसान हुन थालेको छ ।
जिल्ला सदरमुकाम खलंगामा होटेल व्यवसाय सञ्चालन गर्दै आएकाहरु पनि गाउँ फर्किन थालेका छन् । जिल्ला सदरमुकाम खलंगाको भन्दा गौरा पर्वको बेला गाउँघर तिर चहल पहल बढी हुने भएकाले पनि सदरमुकाम बस्दै आएकाहरु पनि गाउँ फर्किन थालेका छन् ।
त्यस्तै देश विदेशमा रहेकाहरु पनि गौरा पर्वका लागि घर फर्किन थाले पछि गाउँघरति सुदूरपश्चिमेली समाजमा छ । गौरा पर्वलाई दशैतिहारको जतिक्कै महत्वका साथ मनाइने भएकाले पनि देश विदेश तथा घर बाहिर रहेकाहरु पनि गौरा पर्वका लागि घर फर्किने गरेका छन् । मुख्य गरी भारतीय नाकाबाट दैनिक सयौँको संख्यामा नेपालीहरु घर फर्किने गरेका छन् । केही दिनदेखि सीमा नाकाहरुबाट तथा तराईबाट घर फर्किनेहरुको संख्या बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !