कौवाक्षेत्र र तिंकरमा विओपी राखिने

0
1100
फाइल फोटोः कौवा क्षेत्र

दार्चुला, असार ११ गते ।
भारतले अतिक्रमण गरेको नेपाली भूमिको छेउमै सशस्त्र प्रहरीको सुरक्षा पोष्ट (विओपी) राखिने भएको छ । भारतीय सीमा नजिकको कौवाक्षेत्र र चीन सीमा नजिकको तिंकरमा विओपी राख्ने गरी प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला सुरक्षा समितिबाट भारत र चीन सीमा नजिक सशस्त्र प्रहरीको विओपी राख्ने प्रक्रिया अघि बढेको सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो । ‘जिल्लास्तरबाट यसबारे निर्णय गरी हेडक्वाटर पठाइएको छ, निकट भविष्यमै विओपी स्थापना हुन्छन्’ उहाँले भन्नुभयो ।
व्यासको सितापुलबाट करिब ६ किलोमिटर दूरीमा गुञ्जी दोभान रहेको छ । महाकाली र लिपुखोलाको संगम रहेको गुञ्जी दोभानको पूर्वपट्टि कौवाक्षेत्रमा विओपी स्थापना गर्ने योजना छ । सरकारले वैशाख ३१ गते व्यासको छाङरु गाउँनजिकको गागाक्षेत्रमा विओपी स्थापना गरिसकेको छ । छाङरुको विओपीलाई गुल्म बनाएर त्यसअन्तर्गत विओपी थप्नेबारे उच्च सुरक्षा अधिकारीले गृहकार्य गरेका छन् ।
असार ३ गते दार्चुलाको सीमाक्षेत्रमा निरीक्षण भ्रमणमा पुगेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पनि सीमाक्षेत्रमा सुरक्षा बढाइने बताएका थिए ।
अतिक्रमित नेपाली भूमि गुञ्जी र कालापानी क्षेत्रको निगरानीका लागि पनि कौवाक्षेत्रमा सुरक्षा पोष्ट (विओपी) राख्नु आवश्यक ठानिएको दार्चुलास्थित एक सुरक्षा अधिकारीले बताउनुभयो । ‘कौवाक्षेत्रमा भारतीय पक्षले व्यापक वन फडानी गरेको छ, वनजंगलको संरक्षणका लागि पनि सुरक्षा उपस्थिति आवश्यक देखियो’ उहाँले भन्नुभयो ।
व्यासका स्थानीय वासिन्दाले पनि कौवाक्षेत्रमा सुरक्षा उपस्थिति हुनु आवश्यक रहेको बताएका छन् । छाङरुमा विओपी स्थापना गर्नेबेला पनि स्थानीयवासीले कौवाक्षेत्र विओपी राख्न उपयुक्त भएको बताएका थिए । ‘सीमाक्षेत्र भएको र भारतबाट वनफडानी भइरहेकोले कौवाक्षेत्रमा विओपी राख्नु आवश्यक छ, हामीले विगतदेखि यसमै जोड दिएका छौ’ छाङरुका एक स्थानीयले भन्नुभयो ।
लिम्पियाधुराबाट बगेर आउने महाकाली नदी र भारतले भन्दैआएको महाकाली (नक्कली) अर्थात लिपुखोलाको संगमस्थल कौवाक्षेत्रमा अहिले सशस्त्र प्रहरीको टोलीले नियमित गस्ती गर्दैआएको छ । कौवाक्षेत्रमा सशस्त्र प्रहरीको विओपी राखिएपछि गुञ्जी र कालापानी क्षेत्रमा नेपालको सुरक्षा निगरानी बढ्नेछ ।
गुञ्जीमा इन्सपेक्टरको कमाण्डमा एसएसवीको क्याम्प छ भने भारतीय सेना र आइटिविपीको क्याम्प पनि छ । गुञ्जीमा वर्षको ६ महिना उत्तराखण्ड प्रहरीको थाना पनि रहने गर्छ । कालापानीमा भने आइटिविपीको मात्रै क्याम्प छ । गुञ्जी र कौवाक्षेत्र वारिपारी भए पनि आवतजावत गर्न पुल छैन । कौवाक्षेत्रबाट नेपालका सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीसंग भेटघाट वा सम्पर्क गर्नु परे छाङरु नजिकको सितापुल पुग्नुपर्छ ।
छाङरुबाट १२ किलोमिटर दूरीमा रहेको तिंकरमा पनि सशस्त्रको विओपी राखिनेछ । तिंकरको छियालेकमा रहेको भन्सार कार्यालयको जमिनमा विओपी राखिने गुल्मपति डम्बरवहादुर विष्टले जानकारी दिनुभयो । यसबारे गृहकार्य भइरहेको उहाँको भनाई छ ।
छाङरुमा सशस्त्र प्रहरीको व्यारेक र कार्यालय भवन निर्माणको ठेक्का भइसकेको छ । बहुतले भवनमा ३२ कोठा निर्माण हुनेछन् । गुल्म कार्यालय सञ्चालन हुने गरी सशस्त्र प्रहरीको पूर्वाधार निर्माण गरिन लागेको सुरक्षा स्रोतले बतायो । ‘कौवाक्षेत्र र तिंकरमा राखिने विओपीलाई हिउदको समय छाङरुमा सारिने योजना छ’ एक सुरक्षा अधिकारीले भन्नुभयो, ‘अत्यधिक हिमपात भएको समयमा मात्रै सुरक्षाकर्मी छाङरुमा सर्नेछन्, अन्य समयमा भने कौवाक्षेत्र र तिंकरको विओपी सञ्चालन हुनेछ ।’
भारत र चीन दुबैतर्फको सीमा सुरक्षाका सक्रियता र निगरानी बढाउने गरी पूर्वाधार र जनशक्ति व्यवस्थापन भइरहेको छ । सीमा सुरक्षाका साथै सीमाक्षेत्रका वासिन्दाको जनजीवन सहज बनाउन पनि सुरक्षाकर्मीको सक्रियता बढाउने योजना छ । बाटोघाटो, स्वास्थ्य, आपतकालिन अवस्थामा उद्धार जस्ता क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिनेछन् ।