कोरोना महामारी मानसिक स्वास्थ्य समस्या निम्त्याउदै

248

सन्तोस सिह कोट्टारी ।

पहिलो पटक सन् २०१९ डिसेम्बरतिर चीनको वुहानमा देखिएको नोबल कोरोना (कोभिड–१९) एक किसिमको भाइरसबाट सर्ने प्राणघातक सरुवा रोग हो । यसको संक्रमण केही महिनामै विश्वभर फैलियो र हालसम्म लाखौंले यसकै कारण ज्यान गुमाइ सकेका छन् ।

सिंगो विश्व नै कोरोना महामारी नियन्त्रण र रोकथामका पछाडि दौडिएको छ । यसबाट बच्ने उपायहरु अबलम्बन गर्न बन्दाबन्दी गर्ने, स्वास्थ्य सुरक्षाका सामग्रीहरुको उपयोग गर्ने गरिँदै आएको छ भने पछिल्लो समय भ्याक्सिनको उपयोग गरेर नियन्त्रण गर्ने प्रयास भइरहेको छ । विश्वका शक्तिशाली मानिएका र विकसित राष्ट्रहरुमा समेत कोरोना भाइरसकै कारण लाखांैले ज्यान गुमाइ सकेका छन् भने नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा यसको प्रभाव निक्कै बढी छ । कोरोनाको पहिलो लहरमा २०७६ माघ १० गते नेपालमा पहिलो पटक देखिएको कोभिड–१९ को संक्रमणले प्रायः सबै क्षेत्र अस्तव्यस्त बनायो ।सुरुमा उपत्यका लगायतका क्षेत्रमा देखिएको कोरोना संक्रमण विस्तारै सबै जिल्लामा फैलिन थाल्यो बढीजसो भारतसंग सीमा जोडिएका जिल्लाहरुमा कोरोना संक्रमणको बढी जोखिम निम्तियो । हजारौलेले कोरोनाकै कारण ज्यान गुमाए । मूख्य रुपमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर गर्ने र स्वास प्रस्वास प्रणाली असर गरेर मानिसलाई मृत्युको मुखमा पुर्याउने यो भाइरस पछिल्लो समय मानसिक स्वास्थ्य समस्याको कारण बन्दै छ । यो भाइरसकले मानसिक स्वास्थ्यमा त प्रत्यक्ष असर पार्दैन तर यसको सङ्क्रमणमा परेका र सङ्क्रमणको कारण मृत्यु भएका मानिसका घरपरिवार, साथिभाइ, स्वास्थ्यकर्मी तथा बालबालिकामा मानसिक स्वास्थ्यको समस्या देखिन थालेको छ ।
जनस्वास्थ्य कार्यालय दार्चुला र स्वास्थ्यकर्मीसँग सहकार्य गरेर तयार पारिएको यस लेखमा जन स्वास्थ्यको प्रमुख समस्याका रुपमा रहेको कोरोना संक्रमण, यसको प्रभाव,यसका कारण मानिसमा देखिएको मानसिक समस्या र समस्या समाधानका उपायहरु सुझाइएको छ ।

कोरोना सङ्क्रमण विश्वसँगै हाम्रो पनि प्रमुख समस्या

चीनको वुहान प्रान्तमा पहिलो पटक पहिचान गरिएको कोरोना भाइरसको संक्रमणबाट विश्व मानव समुदाय प्रभावित छ । मानसिको प्रतिरक्षा प्रणाली कमजोर गर्ने र स्वास नलीहरुमा जम्मा भएर फोक्सोलाई संक्रमण गरी संक्रमितको ज्यानै लिने यो संक्रमणबाट विश्वका सबैदेश प्रभावित भए । खासगरी चीन, अमेरिका, इटली, स्पेन, भारत जस्ता देशहरुलाई यसले नराम्ररी प्रभावित पारेका छ तर शक्तिशाली देशहरुले यसका बिरुद्धको खोप समेत नागरिकलाई दिई सकेका छन् । कोरोना संक्रमण बिरुद्ध खोप आविस्कार भई नागरिकसम्म पुग्न सकेपनि हाम्रो जस्तो गरिब देशका लागि सबै नागरिकलाई खोप लगाएर नागरिको ज्यान जोगाउने कुरा अहिले नै सम्भव देखिएको छैन । खोप तत्लका पाउन नसकिने अवस्थाले मात्रै होइन स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु नहुँदा पनि कोरोना संक्रमणले हामीलाई अरु देशको तुलनामा बढी प्रभाव पारेका छ । बन्दाबन्दी गर्ने र स्वास्थ्य सुरक्षाका साधनहरुको अनिवार्य प्रयोगका कारण संक्रमणको अत्यधिक प्रभाव पार्न सकेको छैन तर यसको प्रभावलाई कम आँकलन गर्न मिल्दैन ।

दार्चुलामा कहिले र कसरी भित्रियो संक्रमण ?

त्रीदेशीय सीमा क्षेत्रमा रहेको दार्चुला जिल्लामा पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेन् । पहिलो पटक चीनमा देखिएको कोरोना भाइरस विश्वका सबैजसो राष्ट्र फैलियो र भारतबाट नेपाल प्रबेश गरेको स्वास्थ्यकर्मीको दाबी छ । चीन र भारतसंग सीमा जोडिएको दार्चुला जिल्लामा पनि पहिलो पटक २०७७ जेठ ८ गते पहिलो पटक महाकाली नगरपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । भारतबाट फर्किएर महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका बेला ती पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । जिल्लामा पहिलो पटक कोरोना संक्रमणको स्वास्थ्य कार्यालय दार्चुलाले पुष्टि ग¥यो । जेठदेखि संक्रमण सुरु भएको दार्चुलामा पहिलो चरणमा दार्चुला जिल्लाभरी ३ सय ५८ जनामा कोरोना संक्रमित हुन पुगे । जिल्लामा स्वास्थ्य उपचारका लागि सुविधा नभएपनि कोरोनाका कारण कसैले पनि ज्यान भने गुमाउनु परेन । मंसिर महिनामा भने सबै कोरोना संक्रमित निको भएपछि संक्रमितको संख्या शून्यमा झरेको कोभिड–१९ सम्पर्क व्यक्ति बिरेन्द्रराज भट्ट बताउँछन् ।
पहिलो कोरोना संक्रमित फेला पर्नुभन्दा पूर्व नै नेपाल सरकारले २०७६ चैत्र ११ गते नै देशभर लकडाउन घोषणा गरेको थियो । केही अन्तर्राष्ट्रिय सीमा नाका बाहेक सम्पूर्ण सीमा नाका बन्द मात्रै भएनन् आन्तरिक हवाई उडानदेखि यातायातका सवारी साधन, उद्योग धन्धा, कलकारखाना, विद्यालय, सार्वजनिक स्थलमा भीडभाड, मनोरञ्जन स्थलहरु आवात् जावतमा बन्देज लगाइयो ।
कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० बमोजिम लकडाउन घोषणा गरियो, त्यसको प्रत्यक्ष असर धनीबर्गका व्यक्तिहरुदेखि गरिखाने वर्गहरुमा प¥यो । दैनिक ज्यालामजदुरी गरेर छाक टार्नेहरु अधिक समस्यामा परे, चुलोमा आगो नै नबल्ने स्थिति समेत भयो ।
झिसमिसेमै उठेर नदीजन्य बालुवा निकाल्ने देखि भारी बोक्नेहरु बजार बन्द भएसँगै समस्यामा परे । लकडाउनका कारण दिनभरी घरभित्रै बस्नुपर्दा रोगको भन्दा भोकको चिन्ता दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई प¥यो । सीमा नाका बन्द भएपछि नेपालबाट भारतीय बजार क्षेत्रमा जाने र दैनिक ज्यालादारी गर्नेहरुका लागि बाटो नै बन्द भयो । दार्चुला खलंगा बजार क्षेत्रमै कामको खोजी गर्न पनि सबै जसो बजार क्षेत्र बन्द छ, योजना आयोजना पनि छैनन् । ‘हामीलाई रोगको प्रबाह छैन बिहान बेलुका छाक कसरी टार्ने, छाप्रोमा पर्खिरहेका लालाबालाहरुलाई खानेकुरा कसरी जोहो गर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो’ प्रेम बोहराले भन्नु भयो ।
पहिलो चरणमा जेठतिर संक्रमण देखिएकोमा मंसिर महिनाबाट जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको थियो । जनजीवन विस्तारै सामान्य बन्दै गयो तर दोस्रो भेरिन्ट देखिएसँगै पुनः दार्चुलाको जनजीवनमा कोरोना संक्रमणको प्रभाव परेको छ ।

भारतबाटै भित्रियो दोस्रो भेरियन्ट पनि

२०७७ बाट नयाँ संक्रमित थपिने क्रम रोकिएसंगै सामान्य अवस्थामा पुगिरहेका बेला चैत्र २७ गते खलंगा सीमा नाकामा एक जनाको एन्टीजेन परीक्षा नयाँ भेरियन्टको कोरोना पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति भट्टले बताउनु हुन्छ ।
पहिलो लहरमा पनि भारतबाटै फर्किएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण भेटियो, नयाँ भेरियन्टको कोरोना संक्रमण पनि भारतबाटै आएका व्यक्तिमा पुष्टि भयो । जिल्लाका आधा दर्जन सीमा नाका भएपनि खलंगामा मात्रै एन्टीजेन परीक्षण गर्ने व्यवस्था रहेकाले अन्य नाकाबाट आउनेहरु मार्फत् संक्रमण फैलिएको हुन सक्ने सहजै आंकलन गर्न सकिन्छ ।
नयाँ वर्ष मनाउन भारतबाट फर्किने नेपालीहरुको लर्को लाग्ने गरेको छ । तर सबै नाकामा एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्न सकिएन ।
नयाँ भेरिन्टको कोरोना संक्रमण देखिएसंगै गत बैशाख १६ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरियो । बिस्तारै सबै स्थानीय तहमा फैलिएसंगै बैशाख २५ गते प्रमुख जिल्ला अधिकारीले दार्चुला जिल्लाभरी नै निषेधाज्ञा जारी गर्नु भएको थियो । अझै जेठ मसान्तसम्मका लागि दार्चुलाभरी निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय छ ।
दोस्रो भेरियन्टका क्रममा जिल्लाभरी हालसम्म झण्डै आठ सय जना संक्रमित भएका छन् भने ११ जनाले कोरोनाकै कारण ज्यान पनि गुमाएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक छ ।
कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि गत वर्षकै स्थिति स्मरण गरिरहेका छन् । खलंगा सीमा नाका बाहेक सबै नाका बन्द र लकडाउनकै जस्तो सम्पूर्ण बजार क्षेत्र बन्द गरिएका छन् । विद्यालयहरु बन्द गरिएका छन् । कतिपय विद्यालयहरुमा विद्यार्थीहरुका अन्तिम परीक्षा लिनै बाँकी छ भने अधिकांश विद्यालयहरुले घरमै उत्तरपुस्तिका र प्रश्नपत्र दिएका छन् । बैशाख पहिलो तथा दोस्रो साता दिएका उत्तरपुस्तिका विद्यालयमा कहिले पु¥याउने स्कुले नानीहरुलाई पिरलो छ ।
अर्काेतिर शैक्षिक संस्थाहरु पनि बन्द भएकाले बालबालिकाहरुलाई पनि दिनभरी बस्दाबस्दै बोरिङ फिल हुने गरेको अभिभावकहरुकोे भनाई छ । महिनौसम्म विद्यालय बन्द रहेकाले विद्यालय जाने बालबालिकाहरु बढी प्रभावित भएका छन् । लामो समय विद्यालय बन्द हुदाँ उनीहरु एकोहोरिने, एकान्तमा बस्न रुचाउने, पढाई प्रति रुचि नलगाउने, बरबराउने, आमाबुवाहरुसंग झर्किने जस्ता व्यवहारहरु बालबालिकाहरुले देखाउने गरेको उनीहरु बताउछन् । त्यस्तो व्यवहार देखाउनु नै मानसिक स्वास्थ्यमा असर परेको सामाजिक मनोपरार्श कर्ता एवं तवोबन स्वास्थ्य चौकीका अनमी इन्द्रा ठगुन्नाले बताउनु भयो । अहिले स्वास्थ्यकर्मीको टोली बनाएर होम आइसोलेशनमा बसिरहेकाहरु तथा अन्य व्यक्तिहरुलाई मनोपरार्श दिने गरेकोे सामाजिक मनोपरामर्श कर्ता ठगुन्नाको सुनाउनु हुन्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव र जनशक्ति परिचालन

अहिले सबैको ध्यान कोरोना महामारी नियन्त्रण र रोकथामतिर मात्रै केन्द्रि भएको देखिन्छ तर कोरोना महामारीले समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी अर्को समस्या निम्त्याइरहेको छ । कोरोना महामारीले आफन्तहरुसंगको भेटघाँट, साथीभाईहरुसंगको भेटघाँट, अन्य मनोरञ्जल स्थलमा जान नपाइने, विद्याल बन्द, व्यापारिक उद्योग, कलकारखाना बन्द रहदाँ मानिसहरुमा मानसिक स्वास्थ्यमा समस्या देखिरहेको छ ।
बन्दाबन्दीका कारण न विद्यालय सञ्चालमा छन् न दैनिक मजदुरी गर्ने मानिसहरुको दैनिकी सोचे जस्तो छ । काम गर्न बाहिर जान नमिल्ने तर घरमा आमनदानी नभएका परिवारमा मानसिक समस्या देखिन थालेको छ । यद्यपि विभिन्न संघ संस्थाहरुले यस्ता नागरिकहरुको खाद्यान्नको जोहो गर्ने, सदरमुकाम क्षेत्र मै केही काम (पहिलेको तुलनामा कम) पाइने र गाउँघरमा स–सानो खेतवारी भएका कारण युवा र वयस्कहरुमा मानसिक स्वास्थ्यको असर देखिने गरी पाइएको छैन तर स्वास्थ्यप्रति सचेत, अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुले आफूलाई समस्या परेको बताउन थालेका छन् ।
स्वास्थ्यमर्कीहरु नै सबैभन्दा बढी मानसिक स्वास्थ्य समस्याको सिकार भएको मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण लिएका स्वास्थ्यकर्मी खगेन्द्र कार्कीको भनाई छ । ‘स्वास्थ्यकर्मी एकातिर कोरोना संक्रमितको उपचार गर्नु छ, अर्काेतिर आफूपनि बच्नु छ, त्यसैले मैले देखेको त स्वास्थ्यकर्मीहरुको मेन्टल हेल्थमा असर परेको अनुभूति मलाई छ’ उनले भने । स्वास्थ्यकर्मीहरु नै कोरोनाका कारण बढी मानसिक स्वास्थ्य समस्यामा परेको उहाँको अनुभव छ ।
कोरोना महामारीका कारण सबैभन्दा बढी स्वास्थ्यकर्मी नै प्रभावित हुनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्लाभरी ६० जनालाई स्वास्थ्य कार्यालयले मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिइएको छ । जिल्लाभरी कोरोनाका कारण उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यामा मानोपरामर्शका लागि ६० जना स्वास्थ्यकर्मीलाई मेन्टल हेल्थ सम्बन्धी तालिम दिई परिचालन गरिएको कार्की बताउनु हुन्छ । यस्तै आत्महत्या न्युनीकरणका लागि १५ जनालाई मनोपरामर्शका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
स्वास्थ्यकर्मीहरुले मनोपरामर्श दिएनदिएको बारेमा स्वास्थ्य कार्यालय दार्चुलाले ६ जना थप स्वास्थ्यकर्मी फोन स्वास्थ्य सेवा अन्तरगत परिचालन गरेको छ । फोन स्वास्थ्य सेवा मार्फत कोरोना संक्रमित भई होम आइसोलेशनमा रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिने र मनोपरामर्श दिने कार्य समेत गरिरहेका छन् ।
चन्चले, साथीहरुसंग खेल्ने उमेर समूहका बालबालिका, संक्रमित र संक्रमितका आफन्त, संक्रमितसँग भेटभएका स्थानीयहरुको मानसिक स्वास्थ्यमा समस्या परेको हुन सक्ने स्वास्थ्यकर्मीहरुले आँकलन गरेका छन् । ‘कुनै विशेष उमेर समूह भन्दा पनि सबै उमेर तथा वर्गको मानसिक स्वास्थ्यमा असर परेको देखिन्छ, पाको उमेरका व्यक्तिहरुले माइन्ड म्याकअप गर्न सकेर मात्रै कम जस्तै देखिएको हो’ कार्की भन्नु हुन्छ ।
सबै क्षेत्रलाई अस्तब्यस्त बनाएको कोरोना संक्रमणले शारीरिक स्वास्थ्यमा त असर गरेकै छ यसले मानसिक स्वास्थ्यमा पनि असर पार्न सुरु गरेको छ । संक्रमणसँगै मानसिक स्वास्थ्यका लागि मनोपरामर्श सेवाको आवश्यकता बढेको छ । एकातिर कोरोना महामारीको रोकथामका लागि जनचेतना जगाउने, नागरिकहरुलाई जनस्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन आग्रह गर्नु पर्ने अवस्था छ भने अर्काेतिर मनोपरामर्शको पनि आवश्यकता देखिएको छ । लक्षित वर्गलाई मनोपरामर्श सेवा दिन सकिए मात्रै व्यक्तिको मानसिक स्वास्थ्य स्वस्थ राख्न सकिन्छ ।त्यसैले गाउँ गाउँमा गएर बालबालिका, संक्रमित, संक्रमितका आफन्त तथा संक्रमितसँग भेट भएकाहरुसँग भेटघाट गरी उनीहरुलाई परामर्श दिने कार्यको तयारी गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस्तो कार्यमा सहकार्य र समन्वय गरी मनोपरामर्शका लागि अग्रसर हुनु सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको दायित्व अन्तर्गत पर्दछ । यसका स्वास्थ्य नागरिकले समेत आफ्नो योगदान दिन पछि पर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !