के कालापानी काल्पनिक हो ?

206

गोपालसिंह बोहरा : (३१ जेठमा प्रतिनिधिसभाको दुई तिहाईले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ मानचित्र पारित गर्‍याे । त्यससता नेपालीसँग पश्चिमी भागमा चुच्चोसहितको नयाँ मानचित्र छ । तर, दार्चुलावासी गोपालसिंह बोहराले झण्डै एकदशकअघि १६ असोज–१५ कार्तिक २०६८ को हिमाल खबरपत्रिकामा प्रकाशित एक लेखमार्फत विवादित भूमि नेपालको भएको प्रमाण प्रस्तुत गर्दै नयाँ नक्शाको प्रारुपसेमत तयार पारेका थिए । पहिलो संविधानसभामा तत्कालिन नेकपा (एमाले)का तर्फका समानुपातिक सभासद, माओवादी लडाकु समायोजन गर्न गठित ‘विशेष समिति’ सचिवालयका सदस्य, सेनाका पूर्व सहायक रथी समेत रहेका बोहराले आफू रहँदै सरकारले मान्यता दिएको नयाँ नक्शा जारी गरेको ऐतिहासिक क्षण भने देख्न पाएनन् । ६ माघ २०७१ मा उनको निधन भयो ।)

नेपालका राष्ट्रप्रमुखदेखि गाविसस्तरसम्मका कार्यालयमा गलत सीमा बुझाउने नक्सा झुण्ड्याइएको छ। सुगौली सन्धिअनुसार, लिम्पियाधुरा महाकाली नदीको मुहान र महाकालीको पश्चिम तटसम्म नेपालको भू–भाग हो। तर, अहिले महाकालीको मुहान लिम्पियाधुरा हो भन्ने तथ्यलाई नै गोलमटोल पारिएको छ।

नेपाल–भारत दुवैतिर ‘ब्यास’ भनिने महाकाली नदीको उपल्लो उपत्यकामा नेपालका नौ गाउँ छन्। समुद्री सतहबाट १० हजारदेखि १३ हजार फीट उचाइमा पर्ने यी गाउँमा ६ महिना हिउँ पर्नेहुँदा त्यहाँका बासिन्दा हरेक साल बेसीतिर ‘कुन्चा’ (बसाइँ) झर्छन्।

कैलाश पर्वतदेखि दक्षिणको ब्यास उपत्यकाको वर्णन कैलाशखण्ड महात्म्य, नेपालखण्ड महात्म्य, उत्तराखण्ड महात्म्य र स्कन्दपुराणमा पनि छ। प्राचीनकालदेखि नै कैलाश र मानसरोवर जाने बाटो भएकाले ब्यासलाई ‘स्वर्ग जाने द्वार’ पनि भनिन्छ।

अपी, नम्पा र सैपाल हिमालको उत्तरमा छ, ब्यास। ऐतिहासिक युरोप–चीन ‘सिल्क रोड’ ब्यास उपत्यकाको उत्तरी सीमामा पर्ने तिब्बतको पुराङ्ग काउण्टीहुँदै गएको थियो। उहिले पुराङ्ग काउण्टीको व्यापार मण्डी ताक्लाकोटबाट नेपाल र भारत प्रवेश गर्न लिपुलेक भञ्ज्याङ्ग प्रयोग हुन्थ्यो। यही भञ्ज्याङ्ग भएर परम्परागत नेपाल–भारत हिमालपार व्यापार हुन्थ्यो। नेपाल–तिब्बत आउजाउका लागि १० हजार ८५० फिटको लिम्पियाधुरा, १७ हजार ४०० फिटको लेलोङ्ग र १६ हजार फिटको तिङ्कर भञ्ज्याङ्ग भन्दा १६ हजार ८०० फिटको लिपुलेक बढी चल्तीको नाका थियो।

भारतको छेतो हुँदै पुग्न सकिने व्यास गाविसमा अहिले छाँगरु र तिङ्कर गाउँ मात्र आवाद छन्। छेतोमा भारतीय सेनाको एक गुल्म र अर्ध–सैनिक बल एसएसबीको टुकडी तैनाथ छ। छेतोभन्दा माथि ‘नोटिफाइड’ इलाका पर्ने हुँदा धार्चुलाको सब–डिभिजनल मजिस्ट्रेटबाट विशेष अनुमतिपत्र लिएर मात्र आवतजावत गर्न पाइन्छ। छेतो काटेपछि भारतकै गब्र्याङ्ग गाउँ आउँछ। अङ्ग्रेजको समयमा सम्पन्न भएकाले ‘छोटा बेलायत’ भनिने गब्र्याङ्गलाई अहिले भूस्खलनले उजाड बनाएको छ।

नेपाल र भारतका विशाल उब्जाउ मैदानका सिंचाइ स्रोत हिमालय पर्वत हुन्। हिमालय क्षेत्र अक्षय जलस्रोतले भरिपूर्ण छ। यही हिमालयका ढलान र उपत्यकामा ब्यासी (शौका) समुदायको बसोबास छ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला र नेपालको दार्चुला जिल्लाको व्यास गाविसमा विभिन्न थरका ब्यासीहरू छन्।

स्रोतः हिमाल खबर डटकम

यस क्षेत्रमा शताब्दीयौंदेखि बस्दै आएका ब्यासीहरूले लिम्पियाधुराबाट निस्कने नदीलाई काली र अहिले भारतले कालीनदी भनेर दाबी गरेको नदीलाई ‘खा यंक्ति’ (खा नदी) भन्थे, भन्छन्। तर पछिल्ला दशकमा भारतले ‘खा यंक्ति’लाई काली र ‘तिल्सी’लाई कालापानी भनेर स्थापित गरेको छ। ब्यास उपत्यकाका नेपालीहरू आफ्नै देशको सिमाना थाहा पाउनबाट बञ्चित भएका छन्।

काल्पनिक कालापानी

मार्च १९५९ मा तिब्बती धर्मगुरु दलाई लामा भारत निर्वासित हुनुअघिसम्म ब्यास उपत्यका र सीमावर्ती भारतीय गाउँहरूबीच राम्रो सम्बन्ध तथा स्वतन्त्र आवागमन थियो। खेतीपातीमा काम गर्नेदेखि बौद्ध तीर्थयात्रीसम्मका तिब्बतीहरू नेपाल र भारत दुवैतिर डुलेर फर्किन्थे। दलाई लामाको पलायनपछि यसमा अवरोध आयो। लुक्दै–भाग्दै भारत पस्ने तिब्बतीले लिपुलेक र तिङ्कर भञ्ज्याङ्ग प्रयोग गर्न थाले, जसमा नेपालले चासो नदिए पनि भारतले निगरानी बढायो। सन् १९६२ को भारत–चीन युद्धपछि अवस्था झनै बिग्रेर गयो।

६८ वर्षअघि छाँगरुमा जन्मेको यो पङ्क्तिकारले अनेकौं पटक तिब्बतको ताक्लाकोट र कैलाश मानसरोवरको भ्रमण गरेको तथा त्यसका आधारमा त्यस क्षेत्रको नक्सासमेत बनाएको छ (हे. स्केच)। नैनीताल (भारत) हाईस्कूल बोर्डको परीक्षा दिएपछि अप्रिल १९५९ मा घर फर्केको पङ्क्तिकार बुबासँग तिब्बत गएर करिब एक महिनामा गाउँ फर्कंदा तिल्सी (हाल भारतीय फौजको ब्यारेक रहेको काल्पनिक कालापानी) मा उत्तर–प्रदेश राज्यको ‘आम्र्ड कन्स्टेबुलरी’का १०–१२ जवान प्रहरी तीनवटा पाल टाँगेर बसेका थिए। उनीहरूले ‘कहाँ के रहनेवाले हो ? कहाँ से आए हो ? उधर क्यों गए ?’ भन्दै कडिकडाउ गरे। त्यसपछि गाउँ पुगेर तिल्सीमा भारतीय सुरक्षाकर्मी बसेको सुनाउँदा कसैले गम्भीरतापूर्वक लिएनन्।

यात्रीहरूले तिर्खा मेटाउने र रीतअनुसार ढुङ्गामाथि ढुङ्गा थप्दै आएको तिल्सीस्थित पानीको सानो मूललाई कालीको उद्गम मानिएको छ । लिम्पियाधुराबाट निस्कने पानी पार्वतीतालहुँदै कालीमा बगेको झैं पार्न तिल्सीको मूल थुनेर सानो कृत्रिम ताल बनाइएको छ । पार्वतीतालमा जस्तै तिल्सीमा पनि काली मन्दिर बनाइएको छ ।

 

त्यसबेला पंकौवामा गुन्जी र एरखा तथा पंखामा गब्र्याङ्गवासीका खेतहरू थिए। बाली लगाउने र उठाउने समयमा गाउँलेहरू त्यहीँ बस्थे। तिल्सीमा चट्टानमुनि पानीको सानो मूल थियो। यात्रीहरू त्यहीँ तिर्खा मेटाउँथे र स्थानीय परम्पराअनुसार ढुङ्गामाथि ढुङ्गा थपेर हिँड्थे। अहिले त्यहाँ बसेका भारतीय फौज नेपाल सरकारको सहमतिमा बसेका हुन् कि आफैं, त्यो नेपाल सरकारलाई नै थाहा होला।

स्थानीय बासिन्दाले १९६२ मा चीनबीच लडाईं हुने भएपछि यस क्षेत्रका ठाउँ–ठाउँमा बङ्कर खन्दै भारतीय फौज परिचालित भएको देखेका थिए। १९६५ सम्म यस भेगमा नेपालीको आवतजावतमा बन्देज पनि भएन। तर त्यसपछि, भारतीयहरू तिब्बत जान छाडेसँगै, नेपालीहरूको आवतजावतमा पनि बन्देज लगाइयो। स्थानीयवासीले थुप्रै पटक गुनासो गरे पनि नेपाल सरकार मौन रह्यो।

सूर्यबहादुर थापा नेतृत्वको पहिलो मन्त्रिमण्डलमा वन सहायकमन्त्री बनाइएका मेरा गाउँका स्वर्गीय बहादुरसिंह ऐतवाल नेपाली भू–भागमा विदेशी फौज बसेकोमा सरकारको ध्यानाकर्षण गराउने प्रयास त गर्नुभो, तर त्यससँगै उहाँ पद खोसुवामा पर्नुभो। त्यसपछि त उहाँलाई आफ्नो गाउँ जाँदा भारतीय बाटो प्रयोग गर्न समेत बन्देज लाग्यो। उहाँ कैयन् दिनसम्म निर्जन र अप्ठ्यारा बाटा छिचोल्दै गाउँ–जिल्ला ओहोरदोहोर गर्नुहुन्थ्यो। त्यसबेला काठमाडौंमा भएको वास्तविकता पूर्वप्रधानमन्त्री थापालाई पक्कै थाहा हुनुपर्छ।

आफ्नै गाउँमा चार कक्षा छिचोलेको पङ्क्तिकारले पाँच कक्षादेखि नैनीतालमा पढेको हो। त्यसबेला नैनीताल अल्मोडा जिल्लामा पथ्र्यो। भारतीयहरू ‘कालीनदी कुटी से निकल्ती है’ भन्थे र नक्सासमेत त्यसैअनुसार कोर्न सिकाउँथे। कुटी गाउँभन्दा माथि प्राचीनकालदेखि प्रसिद्ध ज्योलीकाङ्ग (पार्वतीताल) र काली मन्दिर छन्। लिम्पियाधुराबाट निस्कने पानी पार्वतीताल हुँदै कालीनदीमा आउने गाउँलेहरू बताउँथे। कालो चट्टानबाट कालीनदी निस्किन्छ भन्ने स्थानीय किम्बदन्ती छ।

लिम्पियाधुरानिर हिमाच्छादित पर्वत छ, जसलाई ‘छोटा कैलाश’ भन्ने गरिन्छ। कैलाश मानसरोवर जान नसक्नेहरू यसैको दर्शन गर्छन्, पार्वतीतालमा नुहाउँछन् र काली मन्दिरमा पूजा गर्छन्।

अहिले कुटी र पार्वतीतालमा बाह्रै महिना भारतीय फौज बस्छ। गुन्जी गाउँनिरको मनिलाथाङ्गमा भारतले विभिन्न सरकारी कार्यालय बनाएको, हेलिकप्टरबाट निर्माण उपकरण पुर्‍याएको र यस क्षेत्रमा सडक निर्माण तीव्र बनाएको छ। तर, यसबारे नेपाल सरकारले मौनता साँधिरहेको छ।

लिम्पियाधुरा कालीनदीको उद्गमस्थल निर्धारित हुँदा कुटी, नाबी र गुन्जी नेपालमा पर्छन्। यी तीन गाउँका बासिन्दाले नेपाल सरकारलाई तिरो तिरेको स्थानीय पाकाहरू अझ्ै सम्झ्न्छन्। नेपाल सरकारले चाह्यो भने पुराना अभिलेख केलाएर तथ्य एकीकृत गर्न सक्छ। सरकारी स्तरबाट प्रयास भयो भने, हाम्रो पुस्ताले पढ्दाका पाठ्यपुस्तकहरू लखनऊ, मुरादावाद वा आगरामा अझै फेला पार्न सकिन्छ। ती पाठ्यपुस्तकले सुगौली सन्धिमा उल्लेख भएको कालीनदीको उद्गम अहिले भन्ने गरिएको कालापानी होइन, कुटी हो भन्ने पुष्टि गर्न सघाउँछन्।

भारतले ‘खा यंक्ति’लाई कालीनदी भन्ने गरे पनि तिल्सी पुगेर पानीको मात्रा हेर्नासाथ त्यो आँखामा धूलो छ्याप्ने प्रपञ्च हो भन्ने जो–कोहीले बुझ्हिाल्छ। त्यहाँको अनुपम प्राकृतिक उपहार ‘ॐ’ पहाडलाई आफ्नो भूभागमा पार्न पूर्वपट्टि रेखाङ्कन समेत गरेको भारतले तिल्सीको मूल थुनेर सानो कृत्रिम ताल बनाएको छ।

लिम्पियाधुराबाट निस्कने पानी पार्वतीतालहुँदै कालीनदीमा बगेको स्थानीयवासीको भनाइ विपरित तिल्सीको मानवनिर्मित तालबाट कालीनदी बनेको देखाउन यो काम गरिएको हो। तिल्सीमा पार्वतीतालमा जस्तै काली मन्दिर पनि बनाइएको छ।

भारतले गब्र्याङ्गबाट कालीनदीको पश्चिम किनाराहुँदै रोङ्गकाङ्ग र नपल्च्यु गाउँ जाने बाटो १९६२ को भारत–चीन युद्धपछि खनेको हो। त्यसअघि भारतीयहरू नेपालको बाटो हुँदै ‘खा’ नदीको पुल तरेर जान्थे। तिब्बत जाने भारतीय व्यापारी र तीर्थयात्रीहरूको अनुगमन तथा कागजात तयार गर्न अहिले पिथौरागढ जिल्लामा पर्ने मनिलाथाङ्गमा भारतीय सरकारी कार्यालयहरू बनाइएको छ, जबकि सुगौली सन्धि अनुसार यो नेपाली भूमि हो। अब नेपाल सरकारले ‘लिपुलेक भञ्ज्याङ्ग त्रि–देशीय सिमाना बिन्दु होइन’ भन्नुपर्छ।

वास्तविक मानचित्र

यो आलेखमा कालीनदीको माथिल्लो उपत्यकाको वस्तुगत तथ्य उतार्न खोजिएको हो। माथि नै भनियो, सुगौली सन्धिअनुसार नेपालको सिमाना कालीनदीको पश्चिम तटसम्म हो। तर कालीलाई साझा नदी भन्न थालिएको धेरै भइसक्यो। यसो भन्न थाल्नुअघि दुई देशबीच कुन–कुन समयमा के–कस्ता ‘गोप्य’ सम्झौता–सहमति भए, नेपाली जनतालाई थाहा छैन। त्यस्तै, तिल्सीमा भारतीय फौज राख्ने र लिपुलेक पनि दिने सहमति भएको छ भने त्यसबेलाका सरकारी पदाधिकारीहरूले जानकारी दिनुपर्छ।

नेपालले आफ्नो देशको सिमानाको वास्तविकताबारे उदासीन भएर बस्न मिल्दैन, कालीको वास्तविक मुहान निक्र्योल गर्न विज्ञहरूको टोली गठन गर्नुपर्छ। केही वर्षअघि नेपाली पक्ष विना गृहकार्य भारतसँग कालीनदीबारे छलफल गर्न देहरादुन पुगेको थियो। नेपाली टोलीसँग प्रमाणहरूको कमी त थियो नै, ऊ अडान राख्न पनि नसक्ने अवस्थामा रहेको टिप्पणी भारतीय वार्ताकारमध्ये एकले पङ्क्तिकारसँग गरेका थिए। अब कदापि त्यस्तो हुनुहुँदैन।

नेपालको वर्तमान मानचित्रलाई मान्यता दिने निकाय कुन हो ? कैयन् स्थानमा सीमा विवाद नसुल्झिएको अवस्थामा नेपालले भारतमा प्रकाशित मानचित्रहरूलाई प्रयोगमा ल्याउन मिल्छ ? सुगौली सन्धिअनुसार नेपालको नक्सा यहाँ दिइएको नक्सा ‘क’ अनुसार हुनुपर्ने हो (हे.अघिल्लो पृष्ठको नक्सा)।

‘खा’ नदी नै कालीनदी भन्ने भारतको दाबी मान्दा पनि नक्सा ‘ख’ अनुसार सिमाना हुनुपर्छ। तर अहिले जताततै ‘ग’ अनुसारको नक्सा चलाईंदैछ। नेपाल सरकारले कि जनतालाई यो नक्सा स्वीकार्नुको आधार बताउनुपर्छ कि गलत मानचित्रलाई तुरुन्त सच्याउनुपर्छ।

नेपाल र भारत प्राचीनकालदेखिका मित्र हुन्। धर्म, संस्कृति, भाषा आदिबाट प्रगाढ रूपमा बाँधिएका यी दुई देशबीच जनस्तरमा त विश्वमा कतै नभएको अनुपम सम्बन्ध छ। यस्तो सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ भन्नेमा कसैको विमति छैन। तर सीमामा किचलो राखेर सम्बन्ध सुमधुर हुँदैन, बरु बिग्रन्छ। कालीको उद्गमस्थलसम्बन्धी विवाद तत्काल सुल्झाउनु नेपाल र भारत दुवैको हितमा छ। राष्ट्रिय स्वाभिमान र छिमेकी राष्ट्रसँगको सुसम्बन्धका लागि पनि यसलाई यथासक्य सुल्झाउन सकिएन भने अबको पुस्ताले देशको पश्चिमी सीमाको तथ्य नै जान्न पाउने छैन।

(१६ असोज–१५ कार्तिक २०६८ को हिमाल खबरपत्रिका मा प्रकाशित। )

साभारःहिमालखबर डटकम

तपाईको प्रतिक्रिया दिनुहोस् !