कालापानीमा सडक पिच गर्दै भारत

154
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, पुष १६ गते । 

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसंगको सम्बन्ध सुधार गर्न ‘शिर नै झुकाउने’ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहदा अतिक्रमित नेपाली भूमि कालापानीमा सडक पिच (कालोपत्रे)को काम भने सुरु भएको छ । भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा सडक संगठन (विआरओ)ले सडक कालोपत्रेको काम थालेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार प्रकासित गरेको छ ।

चीन सीमासम्मको आवागमन सहज हुने भन्दै भारतीय पत्रिकाले समाचारमा महत्व दिएको छ । २०७६ को कार्तिकमा भारतीय रक्षामन्त्री सिंहले नै भिडियो कन्फरेन्समार्फत घटियाबगड–लिपुलेक सडकको उद्घाटन गरेका थिए । सन् २००८ देखि निर्माण सुरु भएको ७६ किलोमिटर लामो घटियाबगड–लिपुलेक सडक निर्माणमा भारतले उच्च महत्व दिदै आएको छ । कैलाश–मानसरोवर यात्रा र चीनसंगको व्यापारका लागि भन्दै ट्रयाक खुलाइएको कच्ची सडकलाई एक वर्षभित्रै कालोपत्रे गरिसक्ने तयारीमा भारत छ । भारतले यो सडकलाई कैलाश–मानसरोवर मार्ग (सडक) नामांकरण समेत गरेको छ ।

नोभेम्बर २८ अर्थात मंसिर १२ गतेदेखि अतिक्रमित नेपाली भूमिमा गुञ्जीमा सडक कालोपत्रे कार्य सुरु गरिएको छ । अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी र नाभी गाउँ जोड्ने सडक खण्डमा प्रथम चरणमा कालोपत्रे गरिन लागेको समाचारमा उल्लेख छ । अतिक्रमित नेपाली भूमिमा गुञ्जीदेखि कालापानी हुदै नाभीढाँगसम्म २२ किलोमिटर सडक लिपुखोलाको किनारैकिनार बनाइएको छ । लिपुलेक भञ्ज्याङबाट कालापानी हुँदै बग्दै आएको लिपुखोला गुञ्जी दोभानमा वास्तविक महाकाली (कुटी नदी)मा मिसिन्छ । भारतले आफैले निर्धारण गरेको नक्कली महाकाली (लिपुखोला)को सीमा समेत मिचेर कालापानीमा लिपुखोलाभन्दा पूर्व समेत अतिक्रमण गरी सुरक्षा क्याम्प राखेको छ ।

गुञ्जी दोभानबाट दक्षिण–पूर्वतर्फ रहेको महाकालीको मुहान लिम्पियाधुरासम्म पुग्ने अर्को सडक पनि भारतले बनाएको छ । कुटी नदी (महाकाली)को किनारैकिनार २९ किलोमिटर सडक बनाइएको छ । अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी, नाभी र कुटी तिनवटै गाउँ जोड्ने गरी यो सडक बनाइएको छ । गुञ्जीदेखि नाभीसम्मको दूरी ४ किलोमिटर र कुटीसम्मको दूरी १७ किलोमिटर छ । सडक कालोपत्रको सुरुवाती यसै सडक खण्डमा गरिएको हो । अन्तिम गाउँ कुटीभन्दा १२ किलोमिटर अगाडि जोलिङकाङक्षेत्रसम्म कच्ची सडकको ट्रयाक खुलाइएको छ । कुटी, नाभी र गुञ्जीमा स्थानीयको वसोवास भए पनि कालापानी, नाभीढाँग र जोलिङकाङमा सुरक्षा क्याम्प राखिएको छ ।

अत्यधिक चिसो मौसममा पनि सडक कालोपत्रेको काम सीमा सडक संगठनले गरिरहेको छ । मौसम खुलेको र घाम उदाएको बेला दैनिक ४ देखि ५ घण्टा कालोपत्रेको काम भइरहेको भारतीय सेनाको सडक निर्माण कम्पनी विआरओलाई उधृत गर्दै हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । वर्षा र हिमपातले सडक कालोपत्रेको काम चुनौतीपूर्ण भए पनि निर्माण कार्य निरन्तर भइरहेको जनाइएको छ ।

हिउँदमा पनि सडक कालोपत्रेको काम निरन्तर गरिराख्न भारतको विहार राज्यका सयौं मजदूर परिचालन गरिएका छन् । मजदूर टोलीहरुलाई आवाश र भोजनको सुविधा दिइएको छ भने दैनिक ८ सयदेखि १ हजार भारुसम्म मजदूरी दिइएको छ । यसअघि कच्ची सडकको ट्रयाक खुलाउदासम्म नेपाली मजदूरहरुबाट समेत काम गराइन्थ्यो । दुई वर्षअघि सडक उद्घाटन र नक्सा विवाद भएपछि नेपाली मजदूरलाई त्यसक्षेत्रमा जान दिइएको छैन ।

कच्ची ट्रयाक खोलिएको सडकलाई चौडा बनाउने काम पनि एकसाथ भइरहेको छ । दुइलेनको सडक निर्माण गरी सन् २०२२ भित्र लिपुलेकसम्मको सडकलाई कालोपत्रे बनाइसक्ने भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले बताएका छन् । रक्षा राज्यमन्त्री भट्टले कार्तिक तेस्रो साता कालापानीक्षेत्रको भ्रमण समेत गरेका छन् । सडक उद्घाटन र नक्सा विवादपछि अतिक्रमित क्षेत्रमा भ्रमण गर्ने रक्षा राज्यमन्त्री भट्ट पहिलो उच्चस्तरीय भ्रमण गर्ने पात्र हुन् । गुञ्जी गाउँमा आयोजित ३ दिने शिव महोत्सवको समापनमा रक्षा राज्यमन्त्री अजय भट्ट प्रमुख अतिथि समेत रहेका थिए ।

सडक कालोपत्रेका लागि गुञ्जीको मनिला चौरमा अत्यधिक निर्माण सामग्री संकलन गरिएको छ । करिब ४ वर्गकिलोमिटरको मनिला चौरमा ढुंगा, गिट्टी, वालुवा, अलकत्राका ड्रमहरु र दर्जनौ मेसिनहरु राखिका छन् । महाकाली र लिपुखोला दुबैको किनारैकिनार निर्माण भएको सडकलाई कालोपत्रे गर्दै अतिक्रमित नेपाली भूमिमा भारतले थप रजाइ गरिरहेको छ ।

महाकाली र नक्कली महाकाली रहेको लिपुखोला किनारबाट निर्माण सामग्री संकलन भइरहेको छ । भारतीय सेनाको ट्रकहरुमा पिथौरागढ र धारचुला क्षेत्रबाट दैनिक रुपमा निर्माण सामग्री ढुवानी भइरहेको छ । धारचुलादेखि गुञ्जीसम्मको सडकमा दैनिक भारतीय सेनाका सयौं ट्रक र गाडीहरु ओहोरदोहोर गरिरहेका छन् । सडक निर्माण र कालोपत्रे कार्यको नेतृत्व सीमा सडक संगठनका कमाण्डर (कर्णेल) एनके शर्माले गरिरहेका छन् । प्राविधिक नेतृत्व चिफ इन्जिनियर एमएनवी प्रसाद छन् ।

गुञ्जी, कुटी र नाभीका स्थानीय वासिन्दा चिसोका कारण धारचुलामा बसाइ सरेका छन् । प्रत्येक वर्षको हिउदमा स्थानीयवासी जाडो छल्न धारचुला झर्ने गरेका छन् । तर सेनाले हिमपातमा पनि सडक निर्माणको कामलाई निरन्तरता दिएको छ । रक्षामन्त्री राजनाथ सिंहले मंसिर २८ गते मात्रै उत्तराखण्डको राजधानी देहारादूनको एउटा सार्वजनिक समारोहमा बोल्दै शिर झुकाएर पनि नेपालसंगको मित्रता कायम गरिराख्ने बताएका छन् । यसअघि मंसिर ४ गते पिथौरागढ जिल्ला मुख्यालयमा पुगेर पनि सिंहले नेपालसंगको सम्बन्ध जुनसुकै हालतमा पनि बिग्रिन नदिने बताएका थिए ।

रक्षामन्त्री सिंहले मंसिर पहिलो साता नेपाल र चीनसंग सिमा जोडिएको पिथौरागढको पहिलोपटक भ्रमण समेत गरेका थिए । नेपालसंगको सम्बन्ध सुधार गर्ने र सुमधुर बनाइरहने भाषण भइरहदा अतिक्रमित नेपाली भूमिमा धमाधम संरचना निर्माणको काम पनि भइरहेको छ । अचम्म त के भने रक्षामन्त्री सिंहले नै घटियाबगड–लिपुलेक (कैलाश–मानसरोवर) सडकको उद्घाटन गरेका थिए । ७६ किलोमिटर सडकमध्ये २२ किलोमिटर सडक अतिक्रमित नेपाली भूमि (गुञ्जीदेखि कालापानी हुँदै नाभीढाँगसम्म) मा पर्छ । गुञ्जीबाट लिम्पियाधुरातर्फको महाकाली किनारैकिनार अर्को २९ किलोमिटर सडक पनि निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !