काठमाण्डौलाई कालापानी बल्ल दुख्यो, दुखिरहोस्

411

शंकर सिंह धामी
दार्चुला जिल्लाबाट तत्कालिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेता प्रेम सिंह धामीको २०५४ भदौ २५ गते जनआस्था साप्ताहिकमा ‘काठमाण्डौंलाई कालापानी किन दुख्दैन ?’ भन्ने शीर्षकमा लेख प्रकासित भएको थियो । निरन्तर संसद, सडक र मिडियाबाट राष्ट्रियताको मुद्दा उठान गर्दैआएका नेता धामीको त्यो नै अन्तिम लेख बन्न पुग्यो । काठमाण्डौंलाई कालापानी किन दुख्दैन ? भन्ने लेख प्रकासित भएको तेस्रो दिन अर्थात भदौ २७ गते नुवाकोट जिल्लाको मदानपुर गाविस वडा नम्बर ३ केउरिनीभीरमा उहाँको जीप दुर्घटनामा निधन भयो ।
तत्कालिन नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा महाकाली अञ्चल इन्चार्जसमेत रहेका नेता प्रेम सिंह धामी राष्ट्रियताका लागि निरन्तर संघर्षरत थिए । २०५३ असोजमा पारित भएको महाकाली सन्धि हुँदा राष्ट्रिय हित, महाकाली नदीको मुहान र नेपाली भूमि अतिक्रमणबारे सशक्त खवरदारी गरेको अभिलेख तत्कालिन सञ्चारमाध्यम, संसदीय रिकर्ड र उहाँका सहयात्रीबाट प्रष्ट हुन्छ । महाकाली सन्धिमा देश हितको कुरा उठाउदा आफ्नै पार्टीभित्र अल्पमतमा परेको तितो यथार्थबाट नेता धामी पीडित थिए । पार्टीको केन्द्रीय कमिटी र प्रतिनिधिसभाका साथै सञ्चारमाध्यमबाट राष्ट्रियताको विगुल फुकिरहेका थिए । मिडियाको विकल्पमध्ये जनआस्था साप्ताहिक पत्रिका र उक्त पत्रिकाका सम्पादक किशोर श्रेष्ठ (हालका प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष) नेता धामीका सारथी थिए । सडक संघर्षको सिलसिलता र अनुभव भने २०४८ सालमै टनकपुर सम्झौताविरुद्धको आन्दोलनबाट सशक्त थियो ।
राष्ट्रियता, जनजीविका र सीमा अतिक्रमणबारे संघर्ष गर्दागर्दै ४५ वर्षको उमेरमा नेता प्रेम सिंह धामीको निधन भयो । २०४६ सालको परिवर्तनपछि मात्रै खुला राजनीतिमा आएका धामीले ८ वर्षको छोटो अवधिमा राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, मनमोहन अधिकारी नेतृत्वको सरकारमा आवाश तथा भौतिक योजना राज्यमन्त्री, नेकपा (एमाले)को केन्द्रीय सदस्य, महाकाली अञ्चल इन्चार्ज, २०५३ सालमा तत्कालिन सरकारले गठन गरेको माओवादी समस्या समाधान सुझाव कार्यदलको संयोजक जस्ता महत्वपूर्ण जिम्मेवारी पाएका थिए ।
जनआस्था साप्ताहिक पत्रिकाको नियमित स्तम्भ ‘नोट अफ डिसेन्ट’ मा उहाँका सान्दर्भिक लेखहरु प्रकासित भइरहन्थे । यही क्रममा काठमाण्डौंलाई कालापानी किन दुख्दैन ? भन्ने लेख प्रकासित भएको थियो । यो लेखमा उठाइएको विषय र सन्दर्भ भने राष्ट्रियता, जनजीविका, भूमि अतिक्रमण, राज्यको दायित्व र स्थानीय जनताको भूमिकाबारे थियो । कालापानीमा भारतीय फौजका बुट बजिरहदा काठमाण्डौं जाग्नुपर्छ, भूमि अतिक्रमणको विषय काठमाण्डौं अर्थात सिंगो नेपाललाई दुख्नुपर्छ भन्ने आशय थियो । विभिन्न विषय र सन्दर्भमा आवाज उठाउने, संघर्ष गर्ने र जाग्ने काठमाण्डौं कालापानीमा भएको नेपाली भूमि अतिक्रमणका सन्दर्भमा किन सुतिरहेको छ ? भन्ने कुरा नेता प्रेम सिंह धामीले उठाएका थिए । नेपाली भूगोलमा भारतीय अतिक्रमण भइरहदा र सीमा क्षेत्रका जनताको जीविकोपार्जन कष्टकर बनिरहदा सिंहदरबारले आखा खोल्नुपर्ने सन्दर्भलाई जोड दिइएको थियो ।
आफै देशको मन्त्री भइसकेपछिको समयमा सुदूरपश्चिम अझै नेपाल बन्न सकेन भन्ने गहन र मर्मस्पर्शी लेख पनि उहाँले लेख्नुभएको थियो । नौ महिने एमाले सरकारमा दार्चुला सदरमुकाम जोड्ने सडक निर्माणमा प्राथमिकतासहित बजेट विनियोजन नहुँदा मन्त्रीको जिम्मेवारी आफुलाई प्रिय नभएको भन्दै पार्टी र संसदको भूमिकामा क्रियासिल रहने भन्दै मन्त्री पदबाटै धामीले राजीनामा दिएको विषय पनि धेरै रोचक छ । आफ्नो गृहजिल्ला र सीमाक्षेत्रका जनताले शिरको नेपाली टोपी लुकाएर भारतीय बजारबाट नुन र चामल किन्नुपरेको बाध्यतालाई उहाँले उजागर गर्नुभएको थियो । भारतीय निर्भरताको अन्त्य गरी सीमाक्षेत्रका जनताको सुविधाका लागि नेपाली भूमिमा सडक निर्माण उहाँको प्राथमिकतामा थियो ।
वर्तमानमा दार्चुला सदरमुकाम महाकाली लोकमार्गको कालोपत्रे सडकले जोडिएको छ । जिल्लाका अधिकांश भूगोलका जनताले नुन र चामल किन्न भारत जानुपर्ने बाध्यता टुटेको छ । बैतडीको सीमावर्ती क्षेत्र गोकुलेश्वर बजारदेखि दार्चुला सदरमुकामसम्म ७२ किलोमिटर लामो सडक छ । यो सडकको आधा क्षेत्र गोकुलेश्वरदेखि शंकरपुरको थक्तोलीसम्मको ३६ किलोमिटर लामो सडक निर्माण नेता धामीले २०५४ सालमै थालनी गराएका थिए । २०५४ भदौ २७ गते उहाँको निधन भयो भने थक्तोलीदेखि खलंगासम्मको बाँकी ३६ किलोमिटर सडक निर्माण सम्पन्न हुन दार्चुलावासीले २०६३ साल कुर्नुपर्यो । २०५२ देखि २०५४ सम्मको दुई वर्षे अवधिमा गोकुलेश्वरदेखि शंकरपुरसम्मको ३६ किलोमिटर लामो सडक निर्माण गरिएको थियो ।
काठमाण्डौंलाई कालापानी किन दुख्दैन ? शीर्षकको लेखमा नेता प्रेम सिंह धामीले दार्चुला सदरमुकाम क्षेत्र महाकाली नदीको कटानले असुरक्षित रहेको विषय उठाएका थिए । उहाँको चाँसो र चिन्ता २०७० सालको महाकाली वाढीले पुष्टि गरिदियो । नेपाल सरकारले पछिल्लो समय निर्माण गरेको ५ किलोमिटर लामो महाकाली नदीको तटबन्ध संरचनाले अहिले दार्चुला सदरमुकाम सुरक्षित छ । अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा बनाइएको तटबन्धको संरचनाले देशको प्रतिष्ठा र स्वाभिमान बढाएको छ । छिमेकी भारतबाट समेत तटबन्ध संरचनाको प्रसंसा भइरहेको छ ।
दार्चुलाको सडक निर्माण र महाकाली नदीमा तटबन्ध निर्माण भए पनि राष्ट्रियताको प्रमुख मुद्दा कालापानीको भूमि अतिक्रमणबारे २३ वर्षसम्म खासै प्रगति हुन सकेन । मातृभूमि र जनजीविकाबारे संघर्ष गर्दागर्दै ज्यान गुमाएका नेता धामीको कालापानी मुद्दालाई वल्ल सिंगो नेपालले आत्मसात गरेको छ । त्यतिबेलाको लेखमार्फत सोधिएको प्रश्न काठमाण्डौंलाई कालापानी किन दुख्दैन ? को जवाफ बल्ल प्राप्त भएको छ । अहिले काठमाण्डौं अर्थात सिंगो देशलाई कालापानी दुखेको छ । ३ करोड नेपालीको मुटु दुखेको छ । ‘कालापानी नेपालको मुटु हो’ भन्ने प्रेम सिंह धामीले शंखघोषले आज ३ करोडको मुटु दुखिरहेको छ ।
तत्कालिन नेकपा (एमाले)को केन्द्रीय कमिटी र सात सदस्यीय कार्यदलमा राष्ट्रियताको पक्षमा संघर्ष गर्ने नेता धामीको त्यतिबेलाको मिहिनेत, संघर्ष र दूरदृष्टि अहिले सत्य सावित भएको छ । पार्टी केन्द्रीय कमिटी र कार्यदलमा प्रेम सिंह धामीको आवाजलाई नसुन्ने, सम्बोधन नगर्ने सिनियर नेता (केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल) नै आज नयाँ नक्सा निर्माणको नेतृत्व गर्दैछन् । महाकाली सन्धि गर्नेबेला केन्द्रीय कमिटीमा अल्पमतमा परेका नेता प्रेम सिंह धामीले केपी ओली नेतृत्वको सात सदस्यीय कार्यदलमा बहुमत पाए । तर पनि आफ्नो एजेण्डा कार्यान्वयन गर्न पाएका थिएनन् । किनकी केपी ओली, भरतमोहन अधिकारी र झलनाथ खनाल धामीभन्दा सिनियर नेता कार्यदलमा थिए । कार्यदलमा रहेका खगराज अधिकारी, हिरण्यलाल श्रेष्ठ र ऋषिराज लुम्सालीले भने नेता धामीलाई साथ दिएका थिए ।
नयाँ नक्सा जारीसंगै व्यासको छाङरुमा सशस्त्र प्रहरीको विओपी राखिएको छ । तिंकर सडक निर्माणमा नेपाली सेना परिचालन गरिदैछ । यो एकदमै सकारात्मक र सान्दर्भिक छ । तर, तुलना गर्छु कि प्रेम सिंह धामी जीवित भएको भए व्यासमा दह्रो सुरक्षा उपस्थिति २०५४÷५५ सालमै हुन्थ्यो । दार्चुला सदरमुकामसम्मको सडक निर्माण त्यतिबेला सम्पन्न भएर तिंकर सडकमा अहिले यातायात सञ्चालन भइरहेको हुन्थ्यो । किनकी जनप्रतिनिधिको सशक्त भूमिकामा प्रेम सिंह धामी हुने थिए । उहाँको निधनपछि दार्चुला र सीमाक्षेत्रले प्राथमिकता पाउन दुई दशकभन्दा बढी समय लाग्यो । अझै पनि थुप्रै अन्यौलता र चुनौतीहरु छन् ।
भारतीय शासक र भारत सरकारको बेलाबेलाको हर्कतले नेपाल र नेपालीलाई झक्झक्याएको छ । आफ्नो भूमिको रक्षाका लागि सचेत बनाइदिएको छ । यद्यपि नेपालको मिडिया क्षेत्र र केही देशभक्त नागरिकले भूमि अतिक्रमणको विषयलाई स्थापित गर्नमा योगदान गर्दैआएका छन् । नयाँ नक्सा जारीसंगै भारतसंगको कुटनीतिक पहल र संवाद अबको राष्ट्रिय कार्यभार बनेको छ । संगसंगै दार्चुला सदरमुकामभन्दा उत्तरको सीमाक्षेत्रमा राज्यको उपस्थिति र क्रियासिलताले प्राथमिकता पाउनुपर्छ । देश हाक्नेहरुको दृष्टि र प्राथमिकता सीमाक्षेत्र पर्नु जरुरी छ । सीमाक्षेत्रका वासिन्दाले दैनिक रुपमा भोगिरहेको खाद्यान्न, बाटो, स्वास्थ्य, सञ्चार जस्ता आधारभूत सेवाको अभावलाई तत्काल सम्बोधन गरिनुपर्छ । कुटनीतिक पहल र वार्ताको एउटा पाटो छ भने अर्को गम्भीर र अत्यावश्यक पाटो सीमाक्षेत्रमा राज्यको अनुभूति गराउनु रहेको छ ।
सिंहदरबारको कुर्सीमा आसिन पात्रहरु र ३ करोड नेपालीलाई अहिले कालापानी दुखेको छ । यो दुखाई भूमि अतिक्रमणको अन्त्य नभएसम्म सधैभरी दुखिरहोस् । विभिन्न घटना, परिस्थिति र समयक्रममा फेरि भूमि अतिक्रमण र सीमाक्षेत्रको मुद्दा ओझेल नपरोस् । देशभक्त नेता प्रेम सिंह धामीसंगै कालापानीको भूमि अतिक्रमणमा विशिष्ट योगदान पुर्याउने स्वर्गिय नेता वहादुर सिंह ऐतवाल र गोपाल सिंह बोहरा (संविधानसभा सदस्य तथा नेपाली सेनाका पूर्व सहायक रथी) प्रति श्रद्धाञ्जली ।

तपाईको प्रतिक्रिया दिनुहोस् !