काठमाण्डौलाई कालापानी किन दुख्दैन ?

546

नेपालको पश्चिमोत्तर सीमाक्षेत्रमा भारतबाट नेपाली भूमिअतिक्रण भएको विषयलाई उठान गर्ने राष्ट्रवादी नेता स्वर्गिय प्रेम सिंह धामीको अन्तिम लेख काठमाण्डौंबाट प्रकासित जनआस्था साप्ताहिकको वर्ष ३, अंक २८, २०५४ साल भाद्र २५ गते (सेप्टेम्बर १०, १९९७) को पहिलो र अन्तिम पृष्ठमा प्रकासित भएको थियो । स्वर्गिय नेता धामी तत्कालिन नेकपा (एमाले)का केन्द्रीय सदस्य, महाकाली अञ्चल इन्चार्ज तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थो । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा उहाँ आवाश तथा भौतिक योजना राज्यमन्त्री पनि रहनुभएको थियो । यो लेख प्रकासित भएको पर्सिपल्ट अर्थात २०५४ भदौ २७ गते उहाँले नुवाकोट जिल्लाको मदानपुर गाविसमा जीपदुर्घटना परी निधन भएको थियो ।

नोट अफ डिसेन्ट
प्रेम सिंह धामी
जनआस्थाको गतांकमा प्रकासित खवरको एउटा हरफले मेरो मुटु छोएको छ । त्यसमा लेखिएको थियो, ‘कालापानीको विषयलाई लिएर दार्चुलामा किन एउटा पनि जुलुस प्रदर्शन हुँदैन ?’ एकजना सुरक्षाकर्मीको हवाला दिदै यो खवर लेखिएको रहेछ । सुरक्षाकर्मी हुनुहोस् वा शिक्षाकर्मी वा स्वास्थ्यकर्मी, उहाँको भनाई र सोच यथार्थपरक छ । यसर्थ उहाँलाई हार्दिक नमन गर्दछु ।
हाम्रो प्रशासनतन्त्रको सबभन्दा दुखद् पक्ष के हो भने आफुलाई एउटा मान्छेको रुपमा बचाइ राख्नुलाई मात्र हामीहरु पर्याप्त ठान्दछौ । २०३० सालदेखि श्री ५ को सरकारका निकायहरुमा यस विषयले दस्तावेजीय जानकारी छ तर नाम कोही बताउन चाहदैनन्, किन ? हो, यही किन तपाई हाम्रो दुर्भाग्य हो । उहाँ जस्ता कथित शिक्षित सुरक्षाकर्मीले आफुले राष्ट्रमाथि भएको वलात्कार देखिरहनुभयो, बोल्न आट आएन या बोल्न चाहनु भएन । नाम बताउन नचाहनेहरुको कुरामा सनाखत नहुँदासम्म कसरी विश्वास गर्ने ?
इ.स. १९६२ सम्म महाकालीपूर्वको भूभाग (जस्लाई नेपाल भनिन्छ) सम्पन्न थियो । खाद्यान्न प्रशस्त उत्पादन हुन्थ्यो, घिउ, जटिबुटी, खाद्यान्न, बाख्रा, अन्य उपभोग्य कुराहरु महाकाली पारीको भूभागमा (जस्लाई भारत भनिन्छ) पैठारी गरिन्थ्यो । भारतका गाउँलेहरु टाउकोमा गान्धी टोपी र काँधमा बोरा बोकेर हाम्रो गाउँघरमा बेसाहा भर्न आउथे । यो घटना दुबैपट्टिका नागरिकहरुलाई आज कल्पना जस्तो लाग्न सक्छ । त्यो क्षेत्रमा वारिपारी आउनजान निस्फिक्री खुला थियो ।
भारतीयहरुको सौभाग्य नै भन्नुपर्छ १९६० मा नेपालमा प्रजातन्त्रको हत्या भयो । तिब्बतमा आधुनिकीकरणको लहर चल्यो । त्यो लहर आफुलाई थाम्न नसकेर दलाई लामा भारतको शरणमा गए । भारतले टनकपुरबाट तावाघाटसम्म सडक बनाउने योजना बनायो । तीन वर्षमा पूरा गर्यो र तावाघाट भएर सेनाको टुकडी लिम्पियाधुराभित्र छिरायो । तिब्बत–भारतको सामरिक महत्वको नाकामा घेराबन्दी गर्यो । टनकपुर–तावाघाट सडक बनाउने काममा नेपालीहरु कार्यरत रहन पुगे ।
दैनिक रुपैयाँ पाउन थालेपछि कृषिको वार्षिक उत्पादनमा ध्यान दिन सकेनन् । फलस्वरुप नेपालको जनसंख्या बढ्ने र कृषि उत्पादन घटने परिस्थिति बन्न गयो । भारतमा सडक बनिसकेको कारण दैनिक उपभोग्य वस्तु सहज आपुर्ति हुनथाल्यो र नेपालीहरु पनि दैनिक ज्यालाबाट प्राप्त रकमले वस्तु किनेर ल्याउन थाले । उत्पादन घट्यो, परिस्थिति ठ्याक्कै उल्टो भयो । अब नेपालीहरु टाउकाको टोपी खल्तीमा राखेर काँधमा कोम्रा बोकेर भारत जान र सामान ल्याउन थाले । यस परिस्थितिको लाभ उठाएर भारतले सन् १९५० को सन्धिको उलंघन गर्दै नेपालीहरुलाई भारत आवतजावत गर्न परमिट व्यवस्था लागू गर्यो । आजसम्म पनि नेपालीले भारतको त्यसक्षेत्रमा प्रवेश गर्न भारतीय अधिकारीबाट परमिट लिनुपर्दछ । १९६२ मै लिम्पियाधुरामा राखेको आफ्नो सेनालाई भारतले विस्तारै कालापानी क्षेत्रसम्म फैलाउन थाल्यो ।
ती नाम उल्लेख गर्न नचाहने सुरक्षा अधिकारीलाई जानकारी हुनुपर्ने हो– ‘प्रत्येक वर्ष भारतीय पक्षबाट नेपालको केही भूभाग च्याप्ने काम गरिन्छ । कथित सुरक्षाकर्मीहरुले प्रतिवेदन पठाउनुहुन्छ र घुम्ने मेचमाथि बसेका भारतीय चश्मा लगाएकाहरुले त्यो प्रतिवेदन पढ्ने कष्ट गर्नुहुन्न । २०५१ सालको आमनिर्वाचनपछि कालापानी क्षेत्रको बारेमा नेपाली जनमानसमा चर्चा हुनथाल्यो । १८१६ मा त्यहाँ सीमा निर्धारण भए पनि व्यवस्थित नक्सा गरी सिमांकन गर्ने कार्य २०५१ (१९९४) सम्म हुँदै भएन । हाल आएर सिमांकन गर्न टोली बनेको छ । त्यसले कार्य गर्न थालेको छ ।
यताका केही वर्षमा कालापानीको जब चर्चा हुन थाल्यो, किशोरजी तपाईलाई थाहा छ– कालापानीको चर्चा सार्वजनिक रुपमा नाम बताउन नचाहनेले होइन, बकाइदा नाम उल्लेख गरेर हामीले सार्वजनिक गराएका हौ । संसद्को १२औं अधिवेशनमा दार्चुलाको सांसदको वक्तव्य सुन्ने हरकसैलाई थाहा छ– उस्ले दार्चुलाको त्यो क्षेत्रमा भारतले सीमा सारेको र सेनाको संख्यामा बढोत्तरी गरेकोबारे ध्यान आकृष्ट गराएको थियो ।
एकातिर जब राष्ट्रको छातिमाथि विदेशी सेना रहेको बारेमा स्वर घन्किन थाल्यो, तब प्रतिक्रियावादीहरुका कान ठाडा भए । भारतीय सुक्ष्मदृष्टिले सांसदका गतिविधिहरु अवलोकन गर्न थाले ।
साउनमा दार्चुलाको सदरमुकाममा महाकाली नदीले कटान गरेका कारण सदरमुकाम ध्वस्त हुने अवस्था आयो । सांसदले आवाज उठायो–हेलिकोप्टरमा सो क्षेत्रको निरीक्षण गरेर नदी कटानलाई रोक्ने काम भयो । यो सबैलाई थाहा छ ।
सांसदले दार्चुलाबाट काठमाण्डौं आइपुगेर त्यहाँ भएको भोकमरी र सरकारले खाद्यान्न आपुर्ति गर्न नसकेकोबारे संसदमा बोलेका कुरालाई लिएर आपुर्ति मन्त्रीले उसका नेताहरुसित उमाथि कारवाहीको माग गरे ।
दार्चुलामा विगत तीन वर्षदेखि खाद्यान्न वाली प्राकृतिक कारणले घटिरहेको छ । सरकारलाई उजुर, निवेदन, विन्तिपत्र गर्दा ऊ सुन्दैन । उसका कान फुटेका छन् । जनताले भारतबाट प्रहरीलाई छलेर, खुशी पारेर खाद्यान्न ल्याएर खानुपर्ने अवस्था छ । भारतले खाद्यान्न ल्याउन नदिए दार्चुलाका जनता खान नपाएर मर्ने स्थिति छ ।
यो अवस्था सिंहदरबारका शासकलाई जतिसुकै भनोस् ती सुन्दैनन् । यही कमजोरीको फाइदा उठाएर दार्चुलाको सदरमुकाममा भारतीय भाडाका टट्टु आएर भित्ते लेखन गर्छन्– ‘जनता भोकै मर्दैछन्, धामी हेलिकोप्टर चढ्दैछन् ।’ ती नाम उल्लेख गर्न नचाहने सुरक्षाकर्मीको नजरमा यो भित्तेलेखन चढेन ? यो कसले लेखेको ? कसले लेख्न लगायो ?
किशोरजी, यही पंक्तिकार हो दार्चुलाको सांसद ! जसको काँधमा दार्चुलाका जनताहरुलाई दैनिक उपभोग्य वस्तु सुलभ तरिकाले उपलब्ध गराउने जिम्मेवारी छ । नदी कटानबाट सदरमुकाम बचाउने जिम्मेवारी छ र सबभन्दा बढी देशको भूभागको रक्षा गर्ने अभिभारा छ । उसले आफ्नो समयको बढी भाग कालापानीको मुद्दामा खर्च गरेको छ । यो साँचो कुरा हो ।
किशोरजी, सिक्किम भारतमा विलय हुँदा आन्दोलन गर्ने काठमाण्डौ, भियतनाममा अमेरिकी सेना जादा आन्दोलन गर्ने काठमाण्डौ, क्यारिबियन देशहरुमा अमेरिकी सेना पस्दा विरोध गर्ने काठमाण्डौ, कालापानीमा भारतीय सेनाको उपस्थितिमा किन मौन छ ? खोइ, असन र इन्द्रचोक, लखनखेल र जावलाखेल तातेको ? के कालापानीको घाउले दार्चुलालाई मात्र पोल्नुपर्छ ? कालापानी काठमाण्डौलाई दुख्दैन ? कालापानी पद्मरत्नलाई दुख्दैन ? कालापानी सुशील प्याकुरेललाई दुख्दैन ? कालापानीका लागि दार्चुलाले मात्र ब्युझिनुपर्छ ?
किशोरजी, मलाई भन्न मन लागेको छ– सिंहदरबारको कुर्सीमा नेपाल होइन, अरु कोही बस्ने गर्छ र त कालापानीमा भारतीय सेना अघि बढिरहदा पनि दार्चुलामै जुलुस प्रदर्शनको माग गरिरहन्छ । सिंहदरबारले एकातिर दार्चुलावासीलाई भारतकै भर पर्न विवश पारेको छ र कालापानीको विषयलाई लिएर दार्चुलामा जुलुस हुँदैछ । त्यतिमात्र होइन, कालापानीका बारेमा बोल्नेका विरुद्ध व्यापक षडयन्त्र गरिन्छ ।
किशोरजी, आज बाघको छालामाथि स्यालको रजाई छ । यो स्थिति धेरै दिन रहन सक्ला जस्तो लाग्दैन ? हामीसित गौरवमय इतिहास छ, सुन्दर भविष्य छ र साथै नपुंसक वर्तमान पनि छ । यसकै विरुद्ध लड्नु आजको दायित्व हो भन्ने मलाई लाग्छ ।
के हो– जुलुस प्रदर्शन भनेको ? जब जनताको मनमा आगोमा फिलिंगा छन् । हामीभित्र उथलपुथल छ । सिंहदरबार विवेकशुन्य छ । लाचार भएर कुरिबसेको छ । दार्चुलामा मोटर पुर्याउने जति पैसा प्रधानमन्त्रीको च्याम्बरमा चिया खर्च मात्र हुन्छ । तर, दार्चुलामा मोटर पुर्याउन नदिने षडयन्त्र हुँदैछ । र, त्यहाँका जनतालाई जोरजुलुमका साथ भारतको भर पर्न लगाइन्छ र आशा गरिन्छ कि त्यहीबाट जुलुस प्रदर्शन होस् । यो कुरा सुन्दा रमाइलो लाग्न सक्छ ।
किशोरजी, दार्चुलाका जनताले कालापानीको स्थितिका बारेमा संसारको ध्यान तानेको छ । यो कुनै जुलुसभन्दा कम छ र ?

तपाईको प्रतिक्रिया दिनुहोस् !