आम जनताका प्रश्न

467

कल्यानसिह कार्की ।
(नौगाड गाउँपालिका वडा नम्बर १, दार्चुला ।)

सुन्दर सुदूरपश्चिम वीर, वीर सपुत दशरथ चन्द र भीमदत्त पन्त जन्मेको भूमिमा जन्मेको एक सर्वसाधारण किसान हुँ । वर्तमान राजनीतिक भूगोलका हिसाबले म दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा नम्बर १ मा बस्ने गर्दछुँ ।


आदरणीय पाठक महानुभावहरुमा मेरो नमस्कार छ । सबैभन्दा पहिले त नेपाली क्रान्तिको इतिहास २००७ देखि २०६३ सम्मका सम्पूर्ण आन्दोलनमा सहभागि सबैमा सम्मान तथा सहिदप्रति श्रद्धासुमन व्यक्त गर्दछुँ । नेपाली जनताको चाहाना थियो– सुखी जीवन र स्वाभिमानसहित स्वाधीन राज्य तथा सीमानाहरुको रक्षा, सुरक्षा । देशले नयाँ संविधान पाएको छैठौँ वर्ष पूरा गरेर सातौँ वर्षमा प्रवेश गरेको छ तर के यी अपेक्षाहरु राज्य सञ्चालन गर्ने सरकार र तिनका प्रतिनिधिहरु, दलहरुले पूरा गरेका छन् ? यी अपेक्षाहरु यिनीहरुले पूरा गर्न सके कि सकेनन् ? यी प्रश्नहरु जनताले नसुनिने गरी भएपनि उठाउन थालेका छन् । क्रान्ति गर्दा एक अर्का राजनीतिक दलसँग सहमति, मेलमिलाप, सल्लाह सुझावको पाटोसहित मातृभूमिप्रति माया कस्तो थियो ? परराष्ट्रनीति र देशका सानसीमानाको निगरानी के कस्तो छ ? रोजगार, शिक्षा, स्वास्थ्य निशुल्क के कति छ ? पार्टीहरुको सुदृढीकरण मात्रै भयो कि नागरिकले पाउने शिक्षा स्वास्थ्यको गुणस्तरतिर पनि ध्यान दिइएको छ ? क्रान्तिमा होमिएका कार्यकर्तादेखि मन्त्री नेतासम्म बलिदानी थियो । कयौंले यिनै कुराहरुका लागि आफ्नो ज्यान अर्पण गरेका थिए र सहिद भए । ती सहितहरुका हत्याराहरुलाई दण्ड जरिवाना गरिएको छ कि छैन ? क्रान्तिका बेला शासकहरुले जनसमर्थन पाएका थिएनन् । तर अहिले तिनै शासकहरुसँग घाटि जोडिएको सम्बन्ध छ । क्रान्तिमा लागेकाहरुलाई सहिद बनाउनेहरुसँग घाटि जोड्नु पर्ने भए कुन क्रान्ति केका लागि थियो ? त्यो क्रान्तिबाट के अधिकार पाए ? क्रान्तिमा मर्ने जनता को हुन् ? मार्ने को हुन् ? मार्नेले किन मार्यो ? मर्ने किन मर्यो ? यी प्रश्नहरुको हेक्का नराखेर सत्ता भए पुग्यो भन्ने मनसायले सरकार मात्रै चलाउने कि जनताका दुःखदर्द पनि हेर्ने ? २००७ सालपछि क्रान्तिको प्रतिफल के पाए ? त्यो क्रान्तिको प्रतिफल के थियो ? उक्त क्रान्तिपछि जनतालाई सुहाउँदो शासन पाएका थिए वा अहिले पाएका छन् ? पञ्चायत कालमा जनताले सेवा सुविधा के कति पाएका थिए ? त्यतिबेलाको मुलुकी ऐन र संविधानले जनतालाई के दिएको थियो र अहिले के भिन्न छ ? २०३६ सालको जनमत सङ्ग्रहमा नेपाली काँग्रेस र वाममोर्चाले के कस्तो सफलता पाएका थिए ? के अधिकार स्थापना गर्न उक्त जनमत सङ्ग्रह गरिएको थियो ? त्यसका एजेण्डाहरु के के थिए ? २०४६ सालको आन्दोलनपछि कुन कुन पार्टीका नेताहरु प्रधानमन्त्री भए ? जनताले के पाए ? बहुदलीय व्यवस्था ल्इाउने क्रान्तिमा निर्दलीयहरुले रजाई गरी शासन गरेको जग जाहेरै छ । अहिले पनि क्रान्तिलाई दमन गर्नेहरु कै रजाई भएको देखिन्छ । त्यसमाथि क्रान्ति गर्नेहरु नै क्रान्ति दमन गर्नेहरुसित मिलेर सरकार चलाउँदै छन् । यसरी नै मिलेमतोमा सरकार चलाउने भए नेपाली जनताका छोराछोरीहरुलाई बलि किन दिइयो ?२०४७ सालको संविधान र २०७२ सालको संविधानमा अधिकारका दृष्टिबाट के के अधिकार थपघट छन् ? अधिकारका दृष्टिले त्यो संविधान र यो संविधानमा भिन्नता जनताले कसरी गरेका छन् ? क्रान्ति गर्ने वामपन्थी दलहरुले २०४७ देखि २०६३ हुँदै हालसम्म के कति र कस्ता अधिकारहरु जनताका लागि जनतासामु ल्याए ? यस कुराको समीक्षा गर्नु पर्ने भएको छ । जनतालाई सधैं परिवतर्न, क्रान्तिको नाममा लडाई राख्ने र नेताहरुले सत्ता चलाइरहने प्रवृत्ति दोहोरिएको कुरालाई गम्भीतापूर्वक लिनु पर्ने हुन्छ । नेपालको कुन क्रान्तिले गणतन्त्र, संघीयता, संविधान सभाबाट संविधान ल्यायो र कुन कुन राजनीतिक दलहरुले एकै थलोमा बसेर नेपाल र नेपाली जनताका लागि आत्मसमर्पित भएका छन् ? २००७ सालदेखि हालसम्म सबै दल नेताहरुको हरहिसाब नेपाली जनताले राखेका छन् ।
आदरणीय पाठक महानुभावहरु ! देशमा क्रान्ति किन गरिन्छ ? क्रान्तिबाट के पाइन्छ र हामीले के के पायौँ ? जनताले अझै पनि आधारभुत आवश्यकताका लागि सङ्घर्ष गर्नु परेकै छ । यस्तो अवस्थाले नेपाली जनताको समृद्धिका लागि गरिएको भनिएको क्रान्ति कुन अवस्थामा छ र कुन अवस्थामा क्रान्ति गरिन्छ ? नेपाल प्राकृतिक स्रोतसाधनबाट सुसम्पन्न भएपनि किन गरिब छ ? किन बेरोजगारी छ ? नेपालको जलस्रोत, खनिज खानी, जटिबुटी, वन जङ्गल आदिमा आधारित उद्योग नखोलीकन वा यिनको सदउपयोग नगरी देश सम्पन्न समृद्धितिर जान सक्दैन तर यसतिर हाम्रा शासकहरुले किन ध्यान दिन सकेका छैनन् ? अब आम नागरिकले यस्ता विषयवस्तुहरुतिर नेताहरुको ध्यान तान्नु पर्ने बेला आएको छ ।
आदरणीय पाठक महानुभावहरु ! मैले गरेका यी प्रश्नहरु तपाईँहरुका पनि हुन् । क्रान्तिका नाममा ज्यान उत्सर्ग गर्ने तर एकसरो लुगा र एकछाक टार्न समस्या झेल्ने आम नेपालीहरुका पनि हुन् । यसको जवाफ अब यस देशको राज्य ढुकुटि रित्याउनेहरुले र नयाँ देशको शासनको भार लिनेहरुले नेपाली जनतालाई दिनु पर्दछ । हामीले जवाफ माग्नु पर्दछ । हामीले अहिले बोल्न नसक्ने हो, स्थानीय तहदेखि केन्द्रसम्मका शासकहरुलाई यी प्रश्नहरुको कठघरामा उभ्याउन नसक्ने हो भने नेपाली जनता र नेपालको पछौटेपन, अन्धविश्वास र गरिबी कुरीतिको सिकार भई नै राख्ने छन् । अब यो भुमरीबाट देशले, नागरिकले, तपाईँ हामीले उम्कनु पर्दछ र त्यसका लागि राज्यमा रजाईँ गर्नेहरुलाई जवाफ दिन बाध्य बनाउनु पर्दछ । यस देशका म हुँ भन्ने दल र नेता कार्यकताहरुको हिजोका जस्ता आनिबानि रहिरहेसम्म देश नयाँ कदापि बन्न सक्दैन । यो कुरा ठोकुवा नै हो । त्यसैले सबैले बिचार गरेर अहिलेका शासकहरुले गरेका कामकारवाहि यस्तै रही रहे भ्रष्टाचारमा डुब्दै गएको देश उभो लाग्न सक्दैन भन्ने कुरामा एकमत हुनु पर्ने हुन्छ । अब भाषणबाट होइन रासनबाट जनताको भोक मेटाइ दिने शासक र शासन चाहिएको कुरा नेताहरुलाई चेताउनु पर्दछ । सन्त नेताहरुको हातमा राज्य सञ्चानको जिम्मेवारी भएमा देशले प्रगति गर्न पाउने छ । फटाहा प्रवृति रहेका नेताहरुका खोक्रो भाषण मात्रै हुन् । आम नेपाली दाजुभाइहरुले यो कुरामा मनन गर्नु हुनेछ भन्ने विश्वास लिएको छुँ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !