आधिकारिक पत्र विना बजेट बाँडफाँडमा सहभागी

0
2303

दार्चुला, माघ १२ गते ।
सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशी आधिकारिक पत्रविना बजेट बाँडफाँडमा सहभागी भएका छन् । चालु आर्थिक वर्षको प्रदेश पूर्वाधार विकास कार्यक्रमको ३ करोड बजेट बाडफाँडमा उपसभामुख जोशी सहभागी भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नियमावलीअनुसार कुन निर्वाचन क्षेत्रको निर्देशक समितिमा सदस्य बस्ने हो भन्नेबारे कार्तिक २० गतेभित्र प्रदेशसभाका समानुपातिक सदस्यले लिखित जानकारी गराउनुपर्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्देशक समितिमा यसबारे लिखित जानकारी गराउने नियमावलीको नियम ३ को उपनियम (३) मा उल्लेख छ ।
प्रदेश सरकारले चालु वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ३ करोड बजेट दिएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा समानुपातिक सदस्यहरु सम्मिलित कार्यक्रम छनौट तथा निर्देशक समिति रहने नियमावलीको व्यवस्था छ ।
दार्चुलाको क निर्वाचन क्षेत्रको समितिमा सहभागी उपसभामुख निर्मला बडाल जोशीले लिखित पत्र नदिएको जिल्ला समन्वय अधिकारी मोहनसिह धामीले बताउनुभयो । कार्यक्रम छनौट तथा निर्देशक समितिका संयोजक गेल्बुसिह बोहराले पनि लिखित रुपमा समितिलाई पत्र उपलब्ध नभएको बताउनुभयो ।
उपसभामुखसमेत रहनुभएका प्रदेशसभामा समानुपातिकतर्फबाट सदस्य निर्मला बडाल जोशीले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र निर्देशक समितिका संयोजक बोहरालाई आफुले पत्र बुझाएको बताउनुभयो । उपसभामुख जोशी प्रदेशसभामा समानुपातिक सदस्यको हैसियतमा निर्देशक समितिको सदस्य बनेका हुन् ।
निर्देशक समितिमा सचिव रहेका जिल्ला समन्वय अधिकारी मोहनसिह धामीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कुनै पनि प्रदेशसभा सदस्यबाट कुन समितिबाट बस्नेबारे पत्र प्राप्त नभएको बताउनुभयो ।
‘लिखित पत्र नआए पनि गृहजिल्ला र गृहक्षेत्रकै प्रदेशसभा सदस्य भएकोले उपसभामुख जोशीलाई बैठकमा बोलाइएको’ संयोजक गेल्बुसिह बोहराको भनाई छ । ‘गतवर्ष पनि उहाँ समितिमा हुनुहुन्थ्यो, विगतकै अभ्यास भएको र गृहक्षेत्र समेत भएकोले धेरै औपचारिकता हेरिएन’ बोहराले भन्नुभयो ।
कार्यक्रम छनौट तथा निर्देशक समितिको पहिलो बैठक कार्तिक २३ गते बसेको थियो । उक्त बैठकमा संयोजक बोहरा र सदस्य जोशी दुबैको उपस्थिति छ । प्रदेशसभा क गृहक्षेत्र भएका प्रदेशसभा सदस्य नन्दा बम भने बैठकमा भएका छैनन् ।
बजेट बाडफाँडबारे अनौपचारिक छलफलमा सहभागी भए पनि बैठकमा माइन्युटहरुमा उहाँको दस्तखत छन् । यद्यपि उपस्थितिमा नाम भने लेखिएको छ । कार्यक्रम छनौट तथा निर्देशक समितिमा बस्नेबारे प्रदेशसभा सदस्य बमबाट पनि पत्र प्राप्त नभएको जिल्ला समन्वय अधिकारी मोहनसिह धामीले बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफुले निर्देशक समितिमा बस्नेबारे पत्र बुझाएको प्रदेशसभा सदस्य बमको भनाई छ । बैठकमा अनुपस्थित तर बजेट बाडफाँडबारे अनौपचारिक छलफलमा सहभागी भएका प्रदेशसभा सदस्य नन्दा बमको प्राथमिकतामा बजेट भने दिइएको छैन ।
निर्देशक समितिका संयोजक गेल्बुसिह बोहरा र सदस्य निर्मला बडाल जोशीको सहमतिमा मंसिर २९ गते बैठक गरेर ३ करोड बजेट बाँडफाँड गरिएको छ ।