आखिर स्यालले आफ्नो सक्ली रुप देखाइ छाड्यो !

251

अर्जुनध्वज अर्याल ।
गत वर्ष अर्थात २०१९ को अन्तमा चीनको वुहानबाट शुरु भएको नोभल कोरोना भाइरस कोभिड -१९ ले सारा विश्वलाइ तहसनहस बनाएको छ । यसको असर नेपालजस्ता देशमा नपर्नेत कुरै भएन । यसबाट जोगिन प्रयाप्त तयारी गर्ने अबसर नपाएको त होइन तर त्यस्लाइ सदुपयोग गर्नुको साटो बिभिन्न अफवाह सिर्जना गर्ने, भ्रम फैलाउने र भ्रष्टाचारजन्य गतिविधिमा लिप्त हुन तल्लिन रहे सत्ता संचालकहरु ।

नेपाल पूर्विय दर्शनमा आधारित भएर चल्ने मुलुक भएकोले यस्ता रोग हाछ्यु गरेर भाग्छन्,तातोपानीले यसको बोसो झार्ने, बेसारपानी यसको अचुक औषधी हो भन्नमै तल्लीन रहे हाम्रा सर्वविज्ञ प्रधानमन्त्री केपी शर्मा ओली र उनका ढोके, बैठके, हुक्के, छत्रेहरु । जनतालाइ ओठे जवाफ दिनुनै आफ्नो सफलता भएको ठान्ने मन्त्रीहरुले कहिले क्वारेन्टीन त कहिले आइसोलेसनका गीत गाइरहेका छन् फुर्सदमा भएका काम नपाएकाहरु ।

अब एकदुइ दिन आइसियु र भेन्टिलेटरका गीत गाँउछन मात्र भन्नेकी घरमा पाहुना आएकोले संचारकर्मीसंग बोल्ने फुर्सद नभएको गैरजिम्मेवार अभिव्यक्ति दिनमै रमाइलो मान्ने । शासनको बागडोर समालेका मन्त्री कतिसम्म गैर जीम्मेबार बने भने नेपाल कोरोना मुक्त देश हो भनेर प्रचारप्रसार गर्नुपर्छ र नेपाल भ्रमण वर्ष २०२० लाइ सफल बनाउने उत्तम अबसर हो भन्दै डढेलोले छट्पटाइ रहेको मुलुक अष्ट्रेलिया पुग्दा नराम्रोसंग फर्किनु पर्ने अवस्था सिर्जना भयो । तैपनि कुनै आत्म ग्लानी र पछुतो छैन।  नेपालमा एउटा मानिसमा कोरोना संक्रमण देखिदासाथ सरकारले बिना तयारी २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दि घोषणा गर्यो । चैत्र ६ गतेदेखि हुने भनिएको एसइई परीक्षा स्थगित भयो । विश्वविद्यालयका शुरु भएका र शुरु हुने तैयारीका परीक्षाहरु स्थगित भए र भइरहेका छन् । एसलीसि अर्थात कक्षा १२ को हालत त्यस्तै छ । यसको निकास दिन सरकार र शिक्षामन्त्रालय चिर निद्रामा छन् ।जेष्ठ मसान्तसंम आइपुग्दासंम कोभिड संग लड्ने कुनै ठोस योजना र तैयारि केहि गरेन सरकारले । असार १ गतेबाट आंशिक रुपमा बन्दाबन्दि खोलेको सरकारले साउन ७ बाट पूर्णरुपमा बन्दाबन्दी खोल्न पुग्यो । सरकारले गरेको बन्दाबन्दीको मारमा सबै परे। त्यसमा बढी मारमा परेका भनेका भूइमान्छे जो आज कमाएर आजै खाने हुन। उनीहरुको उचित व्यवस्थापन गर्नपट्टि सरकारले आवश्यक ठानेन र गरेन।

पूँजीवादी भनिएका मुलुकहरु अमेरिका, बेलायत लगाएतका युरोपियन मुलुकले जनतालाइ राहत प्याकेज दिएका छन । तर दुर्भाग्य संविधानमा नै समाजवाद उल्लेख गरेका र जन्मदै समाजवाद नाम जपेर जन्मिएका कथित कम्युनिष्टहरुले चलाएको दुइतिहाइको सत्ताको हालत भने यस्तो छ ।

प्रधान्मन्त्री भन्दछन यति राम्रो काम गर्दापनि मेरो बचाउ नगर्ने? खालि बिरोधमात्रै गर्नै? जन्मेकै बिरोध गर्न हो ? गरिब भूइमान्छे एक छाक खानका लागि खुल्लामञ्चमा लाइन लाग्दै गर्दा संगैको सैनिक मञ्चमा करोडौको तक्मा बाँड्नु त्यो पनि आसेपासेलाइ राम्रो हो सरकार?के यो वर्ष तक्मा नबाँडेको भए जहाज डुब्ने थियो ? के यो तक्मा नबाँडेको भए हाम्रा तक्मा खोइ भन्दै सडकमा आउने थिए नारा लाउदै? ती तक्मा बाँडेपछी काममा प्रगति कति भयो सरकार प्रोत्साहित भएर तक्मा पाउनेहरुको? के कुनै लेखाजोखा गर्ने विधि र पद्दति छ? होइन भने ति तक्मा बाँड्नूको ओचित्य के?

यो रकम खुल्लामञ्चमा खाना खुवाइरहेका सामाजिक अभिन्तालाइ दिएको भए कति राम्रो हुँदो हो र जनता सडकमा केपी सरकार जिन्दाबाद भन्दै हिड्ने थिए। सरकार गरिब दुःखीका लागि रहेछ भन्ने थिए। एकदिन पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ एकाएक खुलामञ्चमा खाना खुवाउने ठाँउमा देखापरे ।त्यसैगरी अरु नेताहरु एकएक दिन खुलामञ्च पुगेका भएपनि गरिब दुःखीलाइ ४ र ६ महिना खाना खुवाउन सकिने थियो । उल्टै भट्टराइलाइ सामाजिक सञ्जालमा उल्लाउने र खुइल्याउने काम भयो । सरकार गैरजिम्मेवार हुँदैगर्दा दलहरु त जिम्मेवार हुनुपर्ने त्योपनि हुन सकेन ।

केहि समय पहिले स्वास्थ्यमन्त्रालयका प्रवक्ताले बेहोस भए वा हुन लागेमात्र अस्पताल आउनु भनेर भन्दै गर्दा सरकारको नीयतमाथि शंका उठेकै थियो । सो शंकामाथि प्रवक्ता जागेश्वर गौतमको मिति २०७७/-७/२ को नियमित पत्रकार सम्मेलनले झनै तातोपानी खन्याउने काम गर्यो । जसबाट जनता थप आक्रोशित भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको असोज २५ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै गौतमले भने -होम आइसोलेसनमा मृत्यु हुने मानिसको शव व्यवस्थापन आफ्न्तले नै गर्न पर्ने । सुरक्षा मापदण्ड अपनाउनु पर्ने । नजिकको सुरक्षा निकाय र जनप्रतिनिधिलाइ खबर गर्नु पर्ने । असपतालमा मृत्यु हुनेलाइ एकपटक हेर्छू भन्दापनि अनुमति नदिने सरकार कसरी रातारात यती निष्ठुरी बन्नपुग्यो । कसरी सर्बसाधारणले सुरक्षा मापदण्ड पुरा गर्न सक्छन् ? यसबाट कोरोना नियन्त्रण हुन्छकि फैलिन्छ सरकार? नेपाललाई इटालिकै हालतमा पुर्याउन खोजिएको हो ? सडकमा ,अस्पतालमा यत्रतत्र सर्बत्र लाशैलाश । सरकारमा बस्ने र उनका आफन्त त बिरामिनै पर्दैनन् । परेपनि मर्दैनन् । मरेपनि व्यवस्थापन गर्ने सुरक्षा निकाय छँदैछन् ।

गौतमले असोज १९ गतेको मन्त्रीपरिषदको निर्णय भन्दै थपे(आर्थिक रुपले विपन्न,अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक,असहाय एकल महिला,अति अपांगता भएका नागरिक, जेष्ठ नागरीक, अग्रपंक्तिमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने । यदि उनीहरुले कोरोना विमा गरेका रहेछन भने लाग्ने खर्च सोहि विमाबाट काटिनेछ । बाँकि जनताले सरकारी वा नीजि अस्पतालमा उपचार गर्दा लाग्ने खर्च संबन्धित व्यक्तिले बहन गर्नुपर्नेछ ।

सरकारको पछिल्लो निर्णयले जनस्वास्थ्य ऐन र सर्वोच्च अदालतको आदेशको खिल्लि उडाएको भन्दै जनस्वास्थ्य विज्ञ र आम सर्वसाधारणले चर्को आपत्ति जनाएका छन् भने जनता थप निरास भएका छन् ।नेपालको संविधानले स्वास्थ्यलाइ मौलिक हक मानेको छ । स्वास्थ्य संबन्धि हकको १ नम्बरमा लेखिएको छ-प्रत्येक नागरीकलाइ राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाइ पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन। त्यसैगरी ३ नम्बरमा लेखिएको छ-प्रत्येक नागरीकलाइ स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । त्यसैगरी जनस्वास्थ्य ऐन २०७५ ले सरुवा रोगको निःशुल्क उपचारको व्यवस्था गरेको छ । साथै सर्वोच्च अदालतले पनि भर्खरै मात्र कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न सरकारको नाममा आदेश जारी गरेको थियो । उसले थप भनेको थियोकि-नीजि प्रयोगशालाहरुमा हुने पिसिआर परीक्षणलाइ पनि निसशुल्क बनाइ उपचारको व्यवस्था मिलाउनु। यसका बाबजुद सरकार यो गलत निर्णय लिन केले बाध्य भयो? के समाजवादी राज्यको चरित्र यही हो? जनता अप्ठेरोमा परेकाबेला पिठ्यु फर्कायर हिड्नुनै समाजवाद हो? के यो निर्णयले संविधान र सर्वोच्च अदालतको मान राखेको छ? सरकारको पछिल्लो निर्णयमा प्रतिक्रिया दिँदै नेकपा नेतृ रामकुमारी झाक्रिले ट्वीटरमा लेखेकिछन् -हार मानेको र हात उठाएको हो भने यो तपाइको असफलता र असक्षमता हो। तपाइ छोड्नुस सक्षम मान्छे आएर समाल्छन् । नेका नेता धनराज गुरुङ ट्वीटरमा लेख्दछन्-परीक्षण तथा उपचार आफै गर्नु भन्ने उर्दी जारी गरेर प्रम ज्यु हदैसम्मको गैरजीम्मेवार बन्नुभयो। तपाइको अक्षमताको शिकार जनतालाइ कहिलेसम्म बनाइ राख्ने ? र कांग्रेस सभापतिलाइ प्रश्न सोधेका छन् -नालायक सरकारको बिरुद्द प्रतिपक्ष कहिले उठ्ने? अहिले सरकारको चाला पूजापाठ गराउने ब्राहमणको जस्तै लाग्न थाल्यो। दिनभर बाजेले माछा खानु हुदैन,मासु खानु हुदैन भनेर भट्भट्याछन। साँझ भान्सामा माछा र मासुका परिकार पनि रहेछन् ।

खाना खान दिनेले बाजेले त माछामासु खानुहुन्होला नि भनेर सोधेछन।बाजेले जवाफ फर्काएछन् र भनेछन् खान नहुनेत पुस्तकका माछामासु पो हो त । बास्तबिक माछामासु त खानहुन्छ। ल्याउ खान्छु । के संविधान र स्वास्थ्य ऐनका प्राव्धान ती बाजेका पुस्तकका मछामासु जस्तै हुन सजाएर राख्ने? कार्यन्वयन गर्न नपर्ने? सरकारलाइ मन लागे कार्यन्वयन गर्ने नभए नगर्ने? प्रतिपक्ष त इतिहासकै नालायक र लाचार छाँया मात्रै भयो। सानतिना नियुक्तिमा भागबण्डा खोजेर अरु सारा मुद्दालाइ श्रदाञ्जली दिने। अब जनताले आस कोबाट गर्नै? वास्तवमा सरकार र प्रतिपक्ष दुबै इतिहासकै नालायकनै सिद्द भए । कम्युनिष्ट जन्मिदै समाजवादी र साम्यवादी हुन्छन्न भन्ने भनाइ र बुझाइ थियो आमसर्वसाधारणको । उनीहरुले आफ्ना भाषण र दस्तावेजमा बोल्ने र लेख्ने गरेको पनि पाइन्छ ।

आम जनताले त्यसैलाइ विश्वास गरेर झण्डै दुइतिहाइ सिट पनि सुम्पीए गएको निर्वाचनमा । अहिले पछुताएर आफ्नै पुर्पुरो हान्दैछन् र भन्दैछन गम्भिर गल्ती पो गरिएछकी? हुनत विकल्पको भनिएको प्रतिपक्षको सरकार पनि पटकपटक भोगेकाले उता फर्किने अवस्था छैन भन्दै गुनगुनाउदै एउटा छट्टु स्यालको कहानी सम्झिदैछन् । एक दिन एउटा छट्टु स्याललाइ उसको दुस्मनले लखेटेछ । लखेट्दा लखेट्दै स्याल अतालिएर एउटा घरभित्र पस्न पुगेछ । घरमा रंग लगाउदा लगाउदै छोडिएको रहेछ । हतारहतार दौडिदै आएको स्याल चिप्लिएछ र उसको शरीरभरि रंग पोखिएछ। रंगको कारणले चिन्न नसकिने भएको स्याल जंगलतिर लागेछ । अनौठो जीव देखेपछि जंगलका अरु जनावर डराएको र तर्सिएको चाल पाउन स्याललाइ कुनै आइतबार परेन । उसले आफूलाइ प्राप्त मौकाको फाइदा उठाउने निर्णय गर्यो र भन्यो -अबदेखि यस जंगलको राजा म हुँ । अब सबैले मैले भनेको कुरा मान्नु पर्दछ र बेलाबेला भेट्न आउनु र आउदा आ–आफ्ना भएका वस्तुभाउ लिएर आउनु । आज यहाँ नभएकालाइ पनि यो सन्देश पुर्याउनु । उस्ले आफ्नो कुरा नसक्दै नजिकै स्याल जोड जोडले कराउन थालेछ । स्यालको जातमा जब एउटा कराउन शुरु गरेपछि उसका आसपासमा भएका सबै कराउन शुरु गर्दछन् । त्यसैले अघिसम्म राजा भनिएको स्याल पनि जोडजोडले कराउन शुरु गर्यो । उसले विर्षियोकि उ राजा हो भन्ने कुरा । जम्मा भएका सबैले उ स्याल भएको चाल पाउनसाथ लखेटे ।

के हाम्रा दुइतिहाइ धारि कम्युनिष्ट त्यही स्यालनै हुन त ? समाजवाद र साम्यवाद देखाउने भुत्ते दारा मात्र हो? के सरकारको समाजवाद हुँदै साम्यवादमा पुग्ने वयलगाडामा भएका पाटपुर्जामा खिया लागेकै हो? नटबोल्ट खुकुलो मात्र नभएर खुस्केकै हुन् त? राष्ट्रवादले घुम्टो उघारेकै हो त ?अस्थिर सरकार भएर काम गर्न नसकिएको कुरा केबल बहानबाजी मात्रै हो?अर्को पटकको सत्तारोहणको सपना सकिएकै हुन् ?सत्तामा भएकाले त तर मारे मारे बाहिर बसेकाहरु थप्पडि मार्दैमा चित्त बुझ्यो? संसारका तानाशाहाका इतिहास पढेर र आफ्नै देशका तानाशाहसंग पैठेजोरी खेलेका नेताहरु यति छीट्टै पत्रु भएकै हुन् त? हुन त विस्टर्न चर्चिलले भनेका थिए रे । Socialism is the philosophy of failure, the creed of ignorance, and the gospel of envy. Its inherent virtue is the equal sharing of misery.  बुढाले पहिल्लै भनेका रहेछन् हामीले पो गलत बुझेका रहेछौकि ?

 

तपाईको प्रतिक्रिया दिनुहोस् !