अतिक्रमित क्षेत्रका तीन गाउँको अवस्था यस्तो छ

295

दार्चुला, भदौ १४ गते ।
छिमेकी भारतबाट अतिक्रमित कालापानी क्षेत्रमा पर्ने तिन गाउँहरु कुटी, नाभी र गुञ्जीको नाम धेरै सुनिएको छ । तर ती गाउँको बसोवास, जनसंख्यालगायत सामाजिक पक्षबारे अहिलेसम्म कुनै पनि तथ्य उजागर हुन सकेको छैन । भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउछ । त्यसकारण कुनै पनि नेपालीले त्यसक्षेत्रमा भ्रमण गर्ने र वस्तुस्थितिबारे जानकारी राख्ने विषय असम्भवप्रायः छ ।
लिम्पियाधुरादेखि बगेर आउने महाकाली नदीको पूर्वीक्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जी गाउँका वासिन्दासंग अहिले भारतीय नागरिकता छ । तिनवटै गाउँका वासिन्दा आफुलाई भारतीय नागरिक भन्दछन् । भारत सरकारले दशकौंदेखि खाद्यान्न, रोजगारी र अन्य आधारभूत सुविधा दिएर त्यसक्षेत्रमा आफ्नो उपस्थिति जनाइरहेको छ । २०५० को दशकसम्म पनि गुञ्जी र नाभी गाउँका वासिन्दा नेपालको दार्चुला जिल्ला सदरमुकाम र धुलिगडा तथा देथला गाविसको क्षेत्रमा कुञ्चा (बसाइसराई) सर्ने गर्थे । महाकाली नदीपूर्वको नेपाली भूभागमा तीनवटा गाउँ (वस्ती)का साथै दुइटा सैनिक वस्ती भएका ठाउँ पनि छन् । ती हुन्— कालापानी र नाभिढाँग । गुञ्जी दोभानबाट पूर्वतर्फ पर्ने कालापानी र नाभिढाँगमा सुरक्षा उपस्थिति मात्रै छ । गुञ्जीको मनिला र कुटी गाउँ तथा त्यसभन्दा उत्तरतर्फ पनि सैनिक उपस्थिति रहेको छ ।
प्रशासनिक संरचना यस्तो छ
अतिक्रमित नेपाली भूमिमा भारतको सैनिक उपस्थिति मात्रै छैन । दशकौंदेखि भारतीय शासन व्यवस्थाकै अभ्यास भइरहेको छ । पंचायत व्यवस्थाअन्तर्गत अतिक्रमित क्षेत्रमा तिनवटा ग्राम पञ्चायत छन् । लिम्यिाधुराबाट बगिआउने महाकाली नदीको पूर्वी किनारमा रहेको गुञ्जी गाउँ र पश्चिमी किनारमा रहेको नपलच्यु गाउँको क्षेत्र जोडेर गुञ्जी ग्राम पञ्चायत बनाइएको छ । महाकालीको दुबै किनारको वस्तीलाई एकसाथ जोडेर ग्राम पञ्चायतको संरचना बनाउदा भारतीय पक्षले चलाखी गरेको देखिन्छ । महाकाली नदीको दुबैतर्फको वस्तीलाई भारतकै क्षेत्र देखाउने उद्देश्यले पञ्चायतको यस्तो संरचना बनाइएको व्यासक्षेत्रका वासिन्दा बताउँछन् ।
गुञ्जी गाउँभन्दा २ किलोमिटरको दूरीमा नाभी गाउँ छ । नाभी गाउँ महाकालीको नदीको पूर्वमा छ भने पश्चिमी किनारामा रोङकाङ गाउँ छ । वास्तविक महाकाली नदीले सिमाना छुट्याउदा नाभी नेपालमा पर्छ भने रोङकाङ भारतमा । तर यहाँ पनि दुबै वस्तीलाई समेटेर नाभी ग्राम पञ्चायतको संचरना बनाइएको छ ।
नाभीबाट १६ किलोमिटरको दूरीमा कुटी गाउँ छ । हिमालीक्षेत्रको अन्तिम गाउँ कुटीमा छुट्टै ग्राम पञ्चायत छ । कुटीभन्दा ११ किलोमिटरको दूरीमा जोलिङकाङ र पार्वती सरोवर पर्दछ । त्यसक्षेत्रमा भारतीय सुरक्षाकर्मीका क्याम्प भए पनि हिउको समयमा अत्यधिक हिमपातका कारण कुटी गाउँमा सर्ने गर्दछन् ।
जनसंख्या कति ?
भारतका राष्ट्रिय जनगणना सन् २०११ मा भएको थियो । सन् २०२१ मा फेरि अर्को जनगणनाको तयारी छ । नौ वर्षअघिको जनगणनाअनुसार अतिक्रमित क्षेत्रमा पर्ने कुटी गाउँको जनसंख्या ३ सय ६३ छ । जसमध्ये पुरुष १ सय ९८ र महिला १ सय ६५ छन् । ६ वर्षमुनिका वालवालिका २७, दलित ३१ र जनजाती (सौका समुदायका) २ सय ९१ जना छन् । १ सय १५ घरधुरी रहेको कुटी गाउँको साक्षरता दर ८७ प्रतिशत रहेको पिथौरागढ जिल्ला प्रशासन कार्यालयले प्रकासित गरेको तथ्यांक छ ।
कुटी गाउँको जनसंख्यामध्ये ९३ जना श्रमशक्ति (काम गर्नसक्ने) रहेका छन् । सीमान्तकृत श्रमशक्ति २४ जना रहेको विवरण पिथौरागढ जिल्ला प्रशासनले सन् २०१४ मा सार्वजनिक गरेको छ ।
नाभी ग्राम पञ्चायतअन्तर्गत महाकाली पूर्वको नाभी गाउँमा ३२ घरधुरी छन् भने महाकाली पश्चिमको रोङकाङ गाउँमा ३५ घरधुरी छन् । नाभी गाउँको जनसंख्या ७८ छ । सबैजना सौका समुदायका छन् । ४५ पुरुष र ३३ महिला तथा ६ वर्षमुनिका २ वालवालिका रहेका छन् । साक्षरता प्रतिशत ८५ रहेको नाभी गाउँमा ६९ जनाको श्रमशक्ति र ६ जना सिमान्तकृत श्रमशक्ति रहेका छन् ।
नाभी ग्राम पञ्चायतमा पर्ने महाकाली पश्चिमको रोङकाङ गाउँमा ३५ घरपरिवार र १ सय १८ जनसंख्या छ ।
गुञ्जी ग्राम पञ्चायतमा पर्ने गुञ्जी गाउँमा १ सय ९४ घरधुरी छन् । २ सय २९ पुरुष र १ सय ६ महिला गरी ३ सय ३५ जनसंख्या रहेको छ । ६ वर्षमुनिका १९ वालवालिका र दलित समुदायका ११ नागरिक गुञ्जीमा बसोवास गर्दछन् । ८७ प्रतिशत साक्षरता रहेको गुञ्जीमा २ सय ७१ श्रमशक्ति छ भने सिमान्तकृत श्रमशक्ति ४२ रहेको छ ।
अतिक्रमित नेपाली भूमिका तिनवटै गाउँको जनसंख्या ७ सय ७६ छ भने घरधुरी संख्या ३ सय ४१ रहेको छ । जनसंख्यामध्ये महिला ३ सय ४ र पुरुष ४ सय ७२ छन् । तिनवटै गाउँमा सौका समुदायको जनसंख्या मात्रै ५ सय ६३ रहेको सरकारी अभिलेख छ ।
एक वर्षअघि भएको थियो निर्वाचन
ग्राम पञ्चायतको संरचनाअन्तर्गत पिथौरागढ जिल्लाको यसक्षेत्रमा एक वर्षअघि निर्वाचन भएको थियो । सन् २०१९ अक्टोवर १६ मा भएको निर्वाचनबाट कुटी र गुञ्जीमा महिला ग्राम प्रधान चयन गरिएका छन् । कुटी ग्राम पञ्चायतमा सरितादेवी कुटियाल ग्राम प्रधान छन् । गुञ्जीमा अर्चना गुंज्याल ग्राम प्रधान छन् । नाभी ग्राम पञ्चायतमा हरिश सिंह नबियाल ग्राम प्रधान रहेका छन् ।
मतदाता कति ?
भारतको उत्तराखण्ड निर्वाचन आयोगले सन् २०१९ को डिसेम्बरमा मतदाता नामावली अद्यावधिक गरेको छ । अद्यावधिक गरिएको नामावलीअनुसार कुटी ग्राम पञ्चायतमा ३ सय ११ मतदाता छन् । पुरुष १ सय ५८ र महिला १ सय ५३ छन् । राजकीय प्राथमिक विद्यालय कुटी मतदान केन्द्र रहदैआएको छ । मतदान केन्द्र रहेको स्थान विद्यालय भए पनि लामो समयदेखि त्यसक्षेत्रमा विद्यालय भने सञ्चालनमा छैन । वर्षको ६ महिना धारचुलामा बसाइसराई हुने भएकाले भारतको धारचुलामै निरन्तर विद्यालय सञ्चालन हुँदैआएका छन् ।
गुञ्जी ग्राम पञ्चायतमा २ सय ३३ पुरुष र २ सय ७० महिला गरी ५ सय ३ मतदाता छन् । राजकीय प्राथमिक विद्यालय गुञ्जी मतदान केन्द्र रहदैआएको छ । गुञ्जीको विद्यालय पनि धारचुलामै सञ्चालन भइरहेको छ ।
ग्राम पञ्चायत नाभीमा २ सय ४९ पुरुष र २ सय ८१ महिला गरी ५ सय ३० मतदाता छन् । पञ्चायत भवन नाभीमा मतदान केन्द्र छ भने महाकाली पश्चिमको रोङकाङ गाउँमा २ सय ७ र महाकाली पूर्वको नाभी गाउँमा ३ सय २३ मतदाता छन् ।
राज्य निर्वाचन आयोग (उत्तराखण्ड)ले गुञ्जी मतदान केन्द्रलाई १ सय ५२, कुटीलाई १ सय ५३ र नाभीलाई १ सय २६ नम्बरको मतदान केन्द्र निर्धारण गरेको छ । कुटी, नाभी र गुञ्जीसहित ७ वटा ग्राम पञ्चायतको प्रतिनिधित्व गर्दै गव्र्याङ गाउँका प्रियंका देवी गब्र्याल क्षेत्र पंचायत सदस्यमा निर्वाचित भएका छन् ।
स्थान कोड र क्षेत्रफल यस्तो छ
सन् २०११ मा भएको जनगणनामा स्थान (लोकेशन) कोड निर्धारण गरिएको थियो । कुटी गाउँको लोकेशन कोड ०४९०८६ रहेको छ । नाभी गाउँको कोड ०४९०८७ र गुञ्जी गाउँको कोड ०४९०८९ छ । गाँउले ओगटेको क्षेत्रफल कुटीमा २४९.२ हेक्टर, नाभीमा ४३४.७ हेक्टर र गुञ्जीमा १८८.९ हेक्टर छ । पिथौरागढ जिल्लाको अर्थ एवं संख्याधिकारी कार्यालयले सन् २०१८ मा ‘सांख्यिकीय पत्रिका’ प्रकाशन गरेर माथिका तथ्यांक सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !