सशस्त्र प्रहरीले खोस्यो भारतीय जेसिबिको चाबी

685
फोटो: भोजराज जोशी

दार्चुला, चैत्र १३ गते । 

महाकाली नदीमा ढुङ्गा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसिबिको चाबि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउसो दार्चुलाको महाकाली नगरपालिका वडा नं १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुङ्गा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरीले जेसिबिको चाबि नियन्त्रणमा लिएको हो ।

कलोन क्षेत्रमा भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसिबिको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । नेपाली क्षेत्रमा प्रवेश गर्नका लागि भारतले कुनै अनुमति नलिएको उहाँको भनाई छ । नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको जस्तो देखियो, तर हाम्रो बाटो प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ, अनुमति लिएको थिएन प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो ।

चाबी नियन्त्रणमा लिएको भएपनि भारतीय जेसिबि फिर्ता भएको छ । दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी देखि कलोन क्षेत्र सम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरि तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । 

भारतले हाल आफ्नो पुरानो तटबन्ध भन्दा करिब १० मिटर वर नयाँ निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपाल तर्फ धकेल्ने गरि काम भइहेको भन्दै दार्चुलाबाट निर्वाचित संघिय सासंद एवं पुर्व मन्त्री गणेश सिह ठगुन्नाले भारतीय तटबन्ध निर्माणको काम रोकिनुपर्ने बताएका छन् ।

भारतले निर्माण गरिरहेको तटबन्धको सन्र्दभमा हालै नेपाली स्थानिय प्रशासन र भारतीय स्थानिय प्रशासन विच छलफल भएको छ । आफुले निर्माण गरिरहेको तटबन्धको डिजायन तथा संरचना बारे भारतले नेपाली पक्षलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । भारतीय तटबन्धको डिजायनबारे माथिल्लो निकायलाई जानकारी गराइएको र तटबन्ध बारे विस्तृत अध्ययनका लागि विज्ञटोली पठाउन अनुरोध गरेको उहाँले बताउनुभयो । 

नेपालले बनाइरहेको तटबन्धको काम ठप्प 

दार्चुला सदरमुकाम नजिकैको क्षेत्र महाकाली नगरपालिका वडा नं १ कलोनमा निर्माण भइरहेको तटबन्धको काम रोकिएको छ । काम सुचारु गर्न भन्दै स्थानियहरुले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । भारतले आफ्नो तटबन्ध बनाउँदा नेपाली क्षेत्रमा पुगी ढुंगा लगिरहेकाले बर्षायाममा नदीको धार नेपाल तर्फ फर्किने जोखिम बढेको कलोनका स्थानिय सुरेन्द्र राज जोशीको भनाई छ ।  कलोन क्षेत्रको महाकाली नदी किनारमा ग्याबिन जालीको तटबन्ध निर्माण गरिएको भएपनि गत बर्षादमा नदीले बगाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस् !