८० प्रतिशत अपराध आफन्तबाटै भइरहेको छः डिआइजी सुबेदी

0
828

दार्चुला, फागुन १९ गते ।
समाजमा ८० प्रतिशत अपराध आफन्तबाटै भइरहेको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम राज सुबेदीको भनाई छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरोकारवालाहरु संगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

‘पहिले अपरिचित ब्यक्तिबाट हत्या, हिंसा, बलात्कार जस्ता घटना हुन्थे तर आजको परिबेशमा ८० प्रतिशत त्यस्ता अपराधिक क्रियाकलापहरु आफन्त, चिनेजानेको ब्यक्तिबाटै भइरहेको छ’ उहाँले भन्नुभयो । पछिल्लो समयमा अधिकाशं अपराधमा अपराधि कानुनको कठघरमा पुगिरहेको भएपनि समाजमा अपराधिक क्रियाकलापमा कमि नआएको उहाँको भनाई छ ।
बुधबार दार्चुला आइपुगेका डिआइजी सुबेदी जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाममा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा सम्बोधनका लागि पुग्नुभएको थियो । पछिल्लो समय बैतडीमा भागरथीको बलात्कार पछि हत्या भएको घटनामा स्वयं घटना स्थलमा खटिएर अनुसन्धान गरि अभियुक्त समात्न सफल भएका डिआइजीको चर्चा छ ।
कार्यक्रममा अधिकाशं बक्ताहरुले डिआइजी सुबेदीको उक्त अनुन्धानको प्रशंसा गर्दै निर्मलाको हत्यारा पनि सार्वजनिक गर्नुपर्ने बताएका थिए । डिआइजी सुबेदीले प्रहरी निर्मलाको हत्यारा नजिक पुगिसकेकोले त्यस घटनाको पनि टुङ्गो लाग्ने बताएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि समुदाय, विद्यालय, टोल लगायतका क्षेत्रमा गठन भइसकेकोले अब अभियान सक्रिय हुने डिआइजी सुबेदीको भनाई छ ।
विद्यालयहरुमा नैतिक शिक्षाको पढाइ हुन छोडेकाले पनि अपराध बढीरहेको उहाँको भनाई छ । एकातिर नैतिक शिक्षाको अभाव अर्काेतिर घरमा अभिभाहकले समेत आफ्नो बालबच्चाहरुको निगरानी नगर्ने भएकाले विभिन्न अपराधिक घटनाहरु घटिरहेको उहाँको भनाई छ । ‘कुनै घटना भए देशै ओर्लिन्छ तर घटना घट्न नदिन सचेतना फैलाउन देश ओर्लिर्दैन, अब घटना घटेर समाधान भन्दा पनि अपराधिक घटना न्युनिकरण तर्फ सबैको ध्यान जानुपर्छ’ डिआइजी सुबेदीले भन्नुभयो । सामाजिक सञ्जालको दुरुपयोग, भिडियो गेमहरु खेल्ने लगायतका कारण वालवालिकाहरुको मानसिकता नकरात्मक भइहेको उहाँको भनाई छ ।