१४ दिन सम्म आइसोलेसनमा रहेका कोरोना संक्रमितमा लक्षण नदेखिएपछि घर पठाइयो

0
789

बिरा दत्त भट्ट, दार्चुला ।
दार्चुलाका ११ जना कोरोना संक्रमितहरुलाई घर पठाइएको छ । दार्चुलामा कुल १२ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा १ जनाले भने पहिले नै कोरोना जितीसकेका थिए ।
पछिल्लो समय घर पठाइएका ११ जना कोरोना संक्रमित भने कोरोना जितेर नभई १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएपछि घरमै क्वारेन्टाइनमा बस्ने गरि पठाइएको छ ।
पछिल्लो समय कोरोना पुष्टी भएका दार्चुलाका ११ जनाको फ्लोअप पिसिआर परिक्षण भएको छैन । पहिले कोरोना संक्रमितको पटक–पटक पिसिआर परिक्षण गरि रिर्पाेट नेगेटीभ नआउदा सम्म घर नपठाउने गरेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको पटक–पटक परिक्षण गर्ने कार्य नभइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार नै १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई घर पठाइएको भट्टको भनाई छ ।
स्वास्थ्य संस्थाहरुको आइसोलेसनमा राखीएका कोरोना संक्रमितहरुलाई १४ दिन सम्म कोरोनाको कुनै लक्षण नदेखिएमा संक्रमितले कोरोना भाइरस सार्न सक्ने सम्भावना न्युन हुने भट्टले बताउनुभयो ।
असार १ गते शैल्यशिखर नगरपालिकाका ८ जना, असार २ गते महाकाली नगरपालिका एक जनालाई पनि घर पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना सम्पर्क व्यक्ति विरेन्द्र भट्टको भनाई छ ।
लेकम गाउँपालिकामा कोरोना पुष्टि भएका दुई जनालाई पनि मंगलबार साँझ छोडिएको छ ।