हेपाहा प्रवृत्ति कायमै

0
638

सम्पादकीय ।
नेपालमा भारत बिरोधि मानसिकता बढ्दो छ तर भारतीय पक्ष यो अवस्थालाई घटाउन होइन बढाउन नै केन्द्रित भएको देखिन्छ ।

कम्तिमा पनि दार्चुलासँग सीमा जोडिएको भारतीय क्षेत्रका अधिकारीहरु र सुरक्षाकर्मीहरुको गतिबिधि हेर्दा भारतीय पक्ष नेपालीहरुमा भारत बिरोधि भावना बढ्दै जाओस् भन्ने चाहन्छ भन्ने कुरा प्रस्ट हुन्छ । जुन जुन कारणले नेपालमा भारत बिरोधि मनोविज्ञान बढ्ने हो त्यही कुराहरु दोहोर्याउँदै आएको छ । दुई देशका अधिकारीहरुको बैठकमा समस्याहरु समाधान गर्ने आश्वासन दिने, समाधान गछौं भनेर प्रतिबद्धता गर्ने तर कार्यान्वयन नगर्ने भारतीय अधिकारीहरुको परम्परागत संस्कारमा सुधार आउन सकेको छैन । बितग केही वर्षदेखि उसले सीमा क्षेत्रमा निर्माण गर्न लागेको सडकका कारण नेपालको उत्तर जोड्ने बाटो पूर्ण रुपले अबरुद्ध छ । उक्त अबरोध भारतीय पक्षले नै हटाउने भनेर भारतीय पक्षले भन्दै आएका छ तर अहिलेसम्म उक्त बाटो सुचारु हुने गरी भारतीय पक्षले काम गर्न त परै जाओस् नेपालीले निर्माण गरेको बाटो पनि पुनः भत्किने गरी भारतीय पक्षले काम गर्दै छ । दुई देशका अधिकारीहरुबीच हुने सीमा बैठकमा भारतीय निर्माणका कारण नेपालतिरको बाटो भत्किएकाले सो बाटो भारतीय पक्षले नै निर्माण गर्ने सहमित प्रत्येक बैठकमा हुन्छ तर उक्त सहमति चारवर्ष यता कार्यान्वयन भएको छैन । भारतीय पक्षले सडक निर्माण गर्दा नेपालतिरको बाटो भत्किएकाले ब्याँस वडा नम्बर एकको जनगणना गर्न समेत समस्या भएको थियो । आफै बाटो बिगार्ने, आफै बाटो बनाउँछु भनेर नबनाउने, आफै ब्याँस जान अनुमति नदिने भारतीय पक्षको कार्यले नेपालीहरु भारतसँग खुसी हुन्छन् भन्ने कसरी सोच्न सकेका होलान् भारतीय अधिकारीहरुले । हुन त भारत नभए केही पनि हुँदैन, हामी केही गर्नै सक्दैनौँ भन्ने दास मानसिकता बोकेका नागरिकहरुको कमी छैन दार्चुलामा तर स्वाभिमानी नेपाली र भारतीय कार्यहरुलाई नजिकबाट हेरिरहेका सचेत नेपालीले भारतीय पक्षका यस्ता कार्यलाई स्वभाविक रुपमा लिन सक्दैनन् ।
भारतीय पक्षले भत्किएको बाटो नबनाएको मात्रै होइन । सात वर्षदेखि सदरमुकाम पारीतिर भारतीय क्षेत्र (खोतिल)मा नेपाललाई क्षति पुग्न सक्ने गरी आएको पहिरो पनि भारतीय पक्षले हटाएको छैन । महाकालीमा बढी पानी र बहाव आयो भने उक्त पहिरोले खलंगा बजारलाई क्षति पुर्याउ नसक्ने देखिन्छ । उक्त पहिरो भारतीय पक्षले नै हटाउने सहमति उहिल्यै भएको हो, त्यो अझै कार्यान्वयन भएको छैन । गल्फैपारी तटबन्ध निर्माण गर्दा पनि भारतीय पक्षले एकलौटी गर्यो, तुइन काण्डले देश नै तरङ्गित बन्यो, सीमामा अस्वभचाविक चेकजाँचले नेपाली सीमा क्षेत्रका बासिन्दा आक्रान्त परेका छन् । यी समस्याहरु समाधान गर्न आफूहरु तयार रहेको बताउँदै आएका छन् तर समाधान गर्न भारती पक्ष अग्रसर छैन ।