हुलाकको पदपूर्ति विवादमा, प्रक्रिया अनुसार नै पदपूर्ति गरिएको कार्यालय प्रमुखको भनाई

0
1213

दार्चुला, असार ९ गते ।
जिल्ला हुलाक कार्यालय दार्चुलाले असार ४ गते गरेको हुलाकी र हल्कारा पदको पदपूर्ति गर्ने निर्णय विवादमा परेको छ ।


कार्यालयले गरेको पदपूर्ति पक्रिया मिचेर गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिइएको छ भने जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य बिरुद्ध उजुरी समेत परेको छ ।
पदपूर्तिका बिरुद्धमा उजुरी परेको भएपनि जिल्ला हुलाक कार्यालयले भने उक्त नियुक्तिहरु प्रचलित कानुनका आधारमा प्रक्रिया पुर्याएरै गरिएको जानकारी दिएको छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९५ अनुसार पदपूर्ति गरिएको जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी नवराज भट्टले जानकारी दिएका छन् । उक्त नियमको उपदफा १ मा अन्य सेवाहरु जस्तै चिठीपत्र ओसारपसार गर्ने कार्य संचालन गर्न आवश्यक पर्ने सेवा करारमा लिनु परेमा सार्वजनिक निकायले कुनै व्यक्ति, फर्म, संस्था वा कम्पनीसँग करार गरी त्यस्तो सेवा करारमा लिन सक्ने व्यवस्था प्रष्ट उल्लेख भएको सूचना अधिकारी भट्टको भनाई छ ।
सोही नियमको उपनियम ३ मा पाँच लाख रुपैयाँसम्मको सेवा शुल्क लाग्ने सेवा सार्वजनिक निकायले वार्ता गरी खरिद गर्न सक्ने व्यवस्था प्रष्ट भएकाले कुनै विज्ञापन र सार्वजनिक सूचना गर्न बाध्यकारी नभएको उनी बताउँछन् । नियम ९५ को उपनियम २ ले तोकेका कार्यसमेत कार्यालयले सम्पन्न गरी करार सेवाबाट दैनिक कार्य सञ्चालन गर्ने उद्देश्य कार्यालयको रहेको उनी बताउँछन् ।


सार्वजनिक खरिद नियमावली २०६४ मा गरिएको ब्यवस्था हेर्नुहोस ।


किन भयो विवाद ?

अन्य सरकारी र गैर सरकारी कार्यालयमा करार नियुक्ति गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९५ अनुसार नै नियुक्ति गर्ने गरिएको छ । अन्य कार्यालयले एक–दुई जना मात्रै करारमा लिने गरेको र हुलाकले एकै पटक धेरै संख्यामा नियुक्ति गरेकाले विवाद देखिएको जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख नवराज भट्ट बताउँछन् । ‘जहाँ पनि करारमा सेवा लिने प्रक्रिया यही हो, हामीले बढी संख्यामा लिएको हुँदा स्वभाविक रुपमा चाँसो देखिएको हो ।’ उनले भने ।
कार्यालयलेहरुले करार सेवामा कर्मचारी भर्ना गर्दा स्थानीय स्तरमा सञ्चार माध्यमहरुमा विज्ञापन वा सूचना दिएको भने पाइँदैन । नेपाल पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष सन्तोष कोट्टारी भन्छन्, ‘अहिलेसम्म सरकारी कार्यालयमा करारमा कर्मचारी भर्ना गर्न सम्बन्धी सूचना सार्वजनिक भएको देखिएको छैन ।’ आम नागरिकको जानकारीका लागि पनि यस्ता कार्य गर्दा सूचना सार्वजनिक गरिनु पर्दछ तर कानुनी व्यवस्थामा सूचना गर्नु पर्ने बाध्यकारी व्यवस्था नभएकोले यस्तो अवस्था आएको हुन सक्ने कोट्टारीको भनाई छ ।

प्रक्रिया बुझ्दै छुः प्रजिअ

जिल्ला हुलाक कार्यालयको पदपूर्तिका बारेमा आफू कहाँ ज्ञापन पत्र र उजुरी दुबै आएको बताउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी पदपूर्तिको प्रक्रियाका बारेमा आफूले बुझ्ने बताउँछन् । ‘हिजो ज्ञापन पत्र र उजुरी आएको छ, प्रक्रियाका बारेमा बुझ्दै छुँ ।’ प्रजिअ जोशीले भने ।

काजमा गएको व्यक्तिको बदनाम गर्न खोजियोः हुलाक प्रमुख

कार्यालयको कामका लागि धनगडि आएको बेला दार्चुलामा भने हुलाक कार्यालय प्रमुख सम्पर्कविहीन भएको भन्दै आफ्नो बदनाम गर्न खोजिएको जिल्ला हुलाक कार्यालयका प्रमुख पदमराज जोशीको भनाई छ । कार्यालयको अन्य काम तथा बन्दाबन्दीका कारण कार्यालयमा थन्किएका कैलाली र कञ्चनपुर जानु पर्ने सरकारी पत्रहरु लिएर प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर आफू कैलाली र कञ्चनपुरका लागि दार्चुलाबाट हिडेको उनी बताएँछन् ।
केही सञ्चार माध्यम र केही व्यक्तिहरुले सामाजिक सञ्जालमा बदनाम गराउने उद्देश्यले आरोप लगाएको बताउँदै कार्यालय प्रमुख जोशी प्रश्न गर्दछन्, ‘कार्यालय प्रमुख कार्यालयमा नहुने बितिकै भाग्यो भन्न मिल्छ ?’ कार्यालय प्रमुखले जिल्ला छोड्दा प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिनु पर्ने, आफ्नो कार्यालयमा जानकारी राख्नु पर्ने व्यवस्था भएकाले केही व्यक्तिले उक्त नबुझी आफ्नो बदनाम गर्न खोजेको कार्यालय प्रमुख जोशीको भनाई छ ।
पदपूर्ति नगर्दा डाकहरु जिल्ला हुलाक मै थन्क्याउनु पर्ने अवस्थाले दैनिक कार्य सञ्चालन मै समस्या उत्पन्न भएको बताउँदै कार्यालय प्रमुख जोशी भन्छन्, ‘यस्तै झमेला हुन्छ भनेर कार्यालयको काम रोकिने अवस्थामा पनि अन्य कार्यालय प्रमुखहरुले पदपूर्ति गर्न नसकेका हुन्, हामीले विभागको स्वीकृति लिएर, नियमअनुसार पदपूर्ति गरेका हौं ।’