हिमपातले दार्चुलाका ग्रामिण सडक अवरुद्ध 

0
433
ब्यास गाउँपालिका वडा नं ४ मा भएको हिमपातः फोटो पदमराज भट्ट

दार्चुला, माघ २१ गते । 
हिमपातले दार्चुलाका ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेका छन् । गएराती भएको भारी हिमपातले खलंगा–दल्लेख–नौगाड सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विगतका वर्षहरूमा आन्तरिक पर्यटकहरु हिउँ खेल्न दल्लेखधार पुग्ने गरेका थिए । यसपटक सडक नै अवरुद्ध हुने गरि हिमपात भएपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्यामा कमि आएको छ ।


त्यसैगरी ब्यास क्षेत्र जोड्ने दार्चुला–तिंकर सडक खण्ड समेत अवरुद्ध भएको छ । बर्षादले कच्ची सडक हिलाम्य हुनुका साथै धारी, हिकिला क्षेत्रमा सडकमा हिउँ परेकाले आज दिनभरि यातायातका साधन चल्न सकेका थिएनन् । हिमपातले सडक अवरुद्ध हुदाँ सदरमुकाम आवत जावत गर्ने नागरिकहरु समस्यामा परेका छन् ।

यस बर्ष विगतका वर्षहरूको भन्दा बढी हिमपात भएपछि जनजिवन कष्टकर बनेको छ । वर्षा र हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।