हिकिलामा निषेधाज्ञा जारी

0
808

दार्चुला, कार्तिक ४ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले दुहु गाउँपालिकाको वडा नं २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । दुहूँ गाउँपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भई आइसोलेशनमा बसिरहेकाले समुदाय स्तरमा फैलिन नदिन शिलका गरिदिन दुहु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको थियो । सोहि अनुसार उक्त क्षेत्रमा अर्का आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । कोरोनाका कारण पहिलो पटक दुहूँका एक व्यक्तिको उपचारका क्रममा धनगढीमा ज्यान गएकाले गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठक बसि शिलका लागि जिल्ला प्रशासनलाई निषेधाज्ञा जारी गर्न अनुरोध गरिएको थियो । मंगलबार बेलुकी सात बजे देखि वडा नम्बर २ हिकिलाको पूर्वमा गौरिलमाण्डौ मावि, पश्चिममा मत्तड–गौकुल, उत्तरमा चिरपडे डाडा र दक्षिणमा सिलिङचौरा क्षेत्रमा अर्काे सूचना नभएसम्मका लागि निषेधा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम उक्त क्षेत्रका निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा अवधिभर चारकिल्ला क्षेत्रभित्र अत्यावश्यकीय कार्य र सेवा बाहेकका अन्य सम्पूर्ण सेवा–कार्यहरु रोक लगाइएको छ । निषेधाज्ञाको अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दार्चुला जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार नौगाड र अपिहिमाल गाउँपालिका बाहेक सात ओटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । जिल्लाका संक्रमण देखिएकाहरुमध्ये १ सय ४४ जनाले कोरोना जितेर निको भएका छन् भने संक्रिय संक्रमितको संख्या ५५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।