हात्तिपाइले रोग निवारण सम्बन्धि गोष्ठी

0
457

दार्चुला, कार्तिक १२ गते ।
राष्ट्रिय हात्तिपाइले रोग निवारण सम्बन्धि टास २ कार्यक्रमको जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम दार्चुलामा शुक्रबार सम्पन्न भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा मकवानपुर तथा स्वास्थ्य कार्यालय दार्चुलाको संयुक्त आयोजनामा दार्चुलाका सरोकारवालाहरु संग गोष्ठि कार्यक्रम गरिएको हो । क्युलेक्स जातको पोथी लामखुट्टेले टोेकेमा यो रोग लाग्ने गर्दछ । हाल नयाँ दार्चुलामा हात्तिपाइलेको नयाँ संक्रमणबारे जानकारी लिन परिक्षण गरिन लागेको हो । मंसिरको दोस्रो हप्ता देखि दार्चुलामा छनोटमा परेका १६ वटा विद्यालयहरुका कक्षा १ र २ मा पढ्ने ४ सय ८६ जना विद्यार्थीहरुको हात्तिपाइले सम्बन्धि एन्जिेन परिक्षण गरिनेछ । दार्चुलामा हात्तिपाइले रोग परिक्षणका लागि ब्यास, दुहुँ र अपीहिमाल गाउँपालिकामा एउटा÷एउटा विद्यालय छनोटमा परेको तथा अन्य स्थानिय तहमा दुई भन्दा बढी विद्यालयहरु छनोटमा परेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य प्रशासक डा. युवराज पोखरेलले बताउनुभयो । हात्तिपाइले रोग परिक्षणका लागि ब्यास गाउँपालिकामा ब्रह्मस्थान आधारभुत विद्यालय डोकट, दुहुँ गाउँपालिकामा गणेस आधारभुत विद्यालय सिमली तथा अपिहिमाल गाउँपालिकामा तामाखानी आधारभुत विद्यालय छनोटमा परेका छन् । महाकाली नगरपालिकामा स्वरस्वती आधारभुत विद्यालय श्रीबगड, मालिकार्जुन नमुना माद्यमिक विद्यालय धाप तथा दार्चुला पब्लीक स्कुल छनोटमा परेका छन् । मालिर्जुन गाउँपालिकामा हुनैनाथ आधारभुत विद्यालय बेलुकोट तथा स्वरस्वती मावि उकु छनोटमा परेका छन् । लेकम गाउँपालिकामा मालिकार्जुन आधारभुत विद्यालय तथा शारदा प्रावि छनोटमा परेका छन् । शैल्यशिखर नगरपालिकामा जगतन्नाथ आधारभुत विद्यालय लुइटा तथा लटिनाथ प्रावि छनोटमा परेका छन् । नौगाड गाउँपालिकामा मालिकार्जुन आधारभुत विद्यालय र मालिकार्जुन प्रावि छनोटमा परेका छन् । र मार्मा गाउँपालिकामा विश्वेश्वर आधारभुत विद्यालय तथा लर्डहिल प्रावि छनोटमा परेका छन् ।
यसभन्दा पहिले दार्चुलामा सन् २०१३ देखि २०१८ सम्म हात्तिपाइले रोग निवारणका लागि पाँच बर्ष माथिका नागरिकहरुलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइएको थियो । औषधि खुवाएपछि समुदायमा हात्तिपाइले भए नभएको सर्बेक्षण गरिएको थियो । पहाडी जिल्ला दार्चुला, बैतडी र बझाङलाई एउटा मुल्याङ्कन क्षेत्र निर्धारण गरेर सन् २०१८ मा हात्तिपाइले भए नभएको परिक्षणका लागि पहिलो टास कार्यक्रम गरिएको थियो । पहिलो टास कार्यक्रममा तीनवटै जिल्लामा २० जना भन्दा कम हात्तिपाइले संक्रमित भेटिएका थिए । यसपटक पनि समुदायका हात्तिपाइले भए नभएको परिक्षणका लागि पहिलो चरणमा औषधि सेवन नगरेका बालबालिकाहरुको हात्तिपाइले परिक्षण गरिन लागेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य प्रशासक डा. युवराज पोखरेलले बताउनुभयो । यी तिनवटा जिल्लाहरुमा २० जना वा बढी हात्तिपाइले संक्रमित भेटिएमा हात्तिपाइले औषधि खुवाइने अभियान सञ्चालन गरिने छ । दार्चुला, बैतडी र बझाङका १२ सय ९९ विद्यालयका कक्षा १ र २ मा अध्ययनरत ४६ हजार ७ सय ३५ जना विद्यार्थी मध्ये १६ सय ८४ मा हात्तिपाइले परिक्षण गरिनेछ ।
जिल्ला समन्वय समितिका प्रमुख करविर सिह कार्कीको अध्यक्षतामा गरिएको कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी प्रमुख अतिथि रहनुभएको थियो भने महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. विजय भुर्तेल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट , स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्ट लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।