हजार ट्राफिक कारवाही, ६ लाख ४० हजार जरिवाना

0
1900

दार्चुला, माघ १ ४ गते ।
दार्चुला ट्राफिक प्रहरीले ६ महिनामा करिब एक हजार पटक सवारीसाधनलाई कारवाही गरेको छ । ९ सय ८२ ट्राफिक कारवाहीबाट ६ लाख ४० हजार ५ सय रुपैयाँ जरिवानास्वरुप राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत साउनदेखि पुष मसान्तसम्मको अवधिमा सबैभन्दा बढी सवारी बोक्ने जीपहरुलाई कारवाही गरिएको दार्चुला प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताउनुभयो । ५ सय ६६ पटक जीपहरुलाई कारवाही गरी ३ लाख ४९ हजार रुपैयाँ जरिवाना उठाइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलहरुलाई १ सय ३८ पटक, सामान ढुवानी गर्ने ट्रकहरुलाई १ सय १९ पटक र टेक्टरहरुलाई १ सय १२ पटक कारवाही गरिएको छ । ४३ पटक बसहरु, तीनपटक जेसिवी र एक पटक टिप्परलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
ट्राफिक नियम उलंघन गरेकोमा कारवाहीमा परेका सबै सवारीसाधनलाई आर्थिक जरिवाना गरिएको डिएसपी शाहीले बताउनुभयो । ‘महाकाली लोकमार्ग क्षेत्रका साथै ग्रामिण सडकमा समेत ट्राफिक नियमको अनुगमन गरिएको’ उहाँको भनाई छ ।
ट्राफिक कारवाहीअन्तर्गत मोटरसाइकलबाट १ लाख २ हजार, ट्रकहरुबाट ७६ हजार र टेक्टरहरुबाट ८३ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । यसैगरी, बसबाट २८ हजार, जेसिवीबाट १ हजार ५ सय र टिप्परबाट ५ सय रुपैयाँ जरिवाना असुल गरिएको दार्चुला प्रहरीले जनाएको छ ।
खलंगादेखि गोकुलेश्वरसम्मको मुख्य लोकमार्ग क्षेत्रमा प्राथमिकता दिएर ट्राफिक नियम पालनामा जोड दिइएको प्रहरी भनाई छ । क्षमताभन्दा बढी सवारी र सामान बोक्ने, उच्चगतिमा गाडी हाक्ने, गाडीको नियमित मर्मतसम्भार नगर्ने जस्तो प्रमुख समस्या दार्चुलाका सवारीसाधनमा देखिएको प्रहरीले बताएको छ ।