स्वास्थ्य सुुरक्षाका मापदण्ड पालनामा कडाई गरिने

0
774

दार्चुला, बैशाख ८ गते ।
कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न गराउन जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकले निर्णय गरेको छ ।

विश्वभर नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको सन्र्दभमा यसको रोकथामका लागि जिल्लामा विभिन्न क्रियाकलाप गरिने भएका छन् । आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्रियाकलाप गर्ने निर्णय गरेको छ ।बैठकमा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्नुपर्ने विषयमा जोड दिनुभएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गरेमा, बाहिर जादाँ मास्क लगाएमा, सेनिटाइजरको प्रयोग गरेमा तथा दुई मिटरको भौतीक दुरी कायम गरेमा कोरोना नसर्ने सम्भावना ९० प्रतिशत रहने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गरिनुपर्ने प्रमुख भट्टको भनाई छ ।
बैठकमा शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले यस महिना भित्र जिल्लाका विद्यालयहरुमा परिक्षा सम्पन्न गराउनुपर्ने विषयमा जोड दिनुभयो । “जिल्ला भरिका विद्यालयहरुमा बुझ्दा ९० देखि ९५ प्रतिशत पढाई सम्पन्न भइसकेको छ, परिक्षाहरु बैशाखमै सम्पन्न गरिदिदाँ सहज अवस्थामै परिक्षा सम्पन्न गर्न सकिन्छ” पन्तले भन्नुभयो । विद्यालयमा भिडभाड हुने तथा सबै वालवालिकाहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन समेत समस्या हुने भएकाले परिक्षा गराए विद्यार्थीको कम भिडभाड हुने सरोकारवालाहरुको भनाई छ ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र दार्चुलाको आजको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, कार्यालय र पसल जस्ता सार्वजनिक स्थलहरुमा सेनिटाइजरवा हात धुने ब्यवस्था गर्ने, मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने तथा मास्कको प्रयोन नगर्नेहरुलाई एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आज सार्वजनिक सूचना जारी गरि तथा माईकिङ गरेर मास्क अनिवार्य रुपमा प्रयोग गर्न अनुरोध गर्ने तथा विहिबारबाट सार्वजनिक स्थानमा मास्कको प्रयोग नगर्नेहरुलाई जरिवाना गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
साथै विद्यालयहरुमा नियमित रुपमा विद्यार्थीहरुको तापक्रम लिने ब्यवस्थापन मिलाउने, सिमा नाकाबाट भित्रीनेहरुको अनिवार्य रुपमा एन्टीजन परिक्षण गर्ने, जिल्ला भित्र पनि नमुनाका रुपमा नागरिकहरुको एन्टीजन परिक्षण गर्ने तथा मापदण्ड पालना सम्बन्धी अनुगमनका लागि सम्पुर्ण स्थानिय तहहरुमा अनुगमन संयन्त्रण गठन गर्ने आजको बैठकले निर्णय गरेको छ ।