स्वास्थ्य विमा कार्यक्रममा सहभागिता बढाइने

0
718

दार्चुलामा ३४ सय ८८ परिवार  स्वास्थ्य विमा कार्यक्रममा आबद्ध
दार्चुला, साउन १२ गते ।
स्वास्थ्य विमा कार्यक्रमले चालु आर्थिक बर्षमा दार्चुला जिल्लामा स्वास्थ्य विमा गर्ने परिवारको संख्या बढाउने लक्ष्य लिएको छ ।
स्वास्थ्य विमामा आबद्ध भएमा निश्चीत रकम सम्म उपचार खर्चमा सहुलियत पाइने भएकाले विमामा आबद्ध भएर सबै नागरिकहरुले स्वास्थ्य उपचारमा लाग्ने खर्च कम गर्न सक्ने स्वास्थ्य विमा बोर्ड दार्चुलाका संयोजक दिपक सिह क्षेत्रीको भनाई छ ।
जिल्लाा स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा सोमबार जिल्ला सदरमुकाम खलंगामा दार्चुलामा स्वास्थ्य विमा अभियान सम्बन्धी अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा जिल्लामा स्वास्थ्य विमाको अवस्था, लाभ लिनेको संख्या र स्वास्थ्य विमा कार्यक्रममा सहभागि बढाउने लगायतका विषयमा छलफल गरिएको छ ।
स्वास्थ्य विमा कार्यक्रममा आबद्ध हुनका लागि ५ जना परिवार संख्याको लागि रु ३५ सय र त्यस भन्दा बढी भए प्रति सदस्य ७ सय रकमले स्वास्थ्य विमा कार्यक्रममा आबद्ध हुन सकिने स्वास्थ्य विमा बोर्ड दार्चुलाका संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।
पाचँ जना सम्मको परिवारले एक बर्ष भित्र एक लाख सम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने छ भने ५ सदस्य भन्दा बढि भएमा प्रति सदस्य २० हजारका दरले सुविधा थपीने र यसको सिमा २ लाख रुपैयाँ हुने उहाँको भनाई छ ।
स्वास्थ्य विमा कार्यक्रमले बृद्ध, क बर्गको अपाङ्गता परिचयपत्र भएका ब्यक्ति, एचआभी संक्रमित र अति विपन्न परिवारको निः शुल्क स्वास्थ्य विमा हुने भएपनि निः शुल्क विमाहुने भएपनि दार्चुलामा स्वास्थ्य विमाले लक्षित नागरिकहरु सबै समेट्न सकेको छैन ।
चालु आर्थिक बर्षमा स्वास्थ्य विमामा परिवार संख्याको आबद्धता बढाउनुको साथै निः शुल्क स्वास्थ्य विमा हुने नागरिकहरुलाई शत प्रतिशत विमा कार्यक्रममा जोड्ने लक्ष रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ ।

गत आर्थिक बर्षमा स्वास्थ्य विमाबाट दार्चुलामा ६ सय ७४ जनाले सेवा लिएको जिल्ला अस्पत्ताल दार्चुलाका प्रमुख गजेन्द्र दुवालको भनाई छ । स्वास्थ्य विमा बारे जानकारी कम हुदाँ पनि यस कार्यक्रममा कम नागरिकहरु आबद्ध भएको दर्ता सहयोगीहरुले अन्र्तक्रिया कार्यक्रममा बताएका थिए ।
२०७५ फागुन २० गते बाट दार्चुलामा दर्ता सुरु भएको स्वास्थ्य विमा बोर्ड कार्यक्रममा जिल्लाका ६१ वटै वडाहरुमा दर्ता कर्मचारी राखेको भएपनि स्वास्थ्य विमामा थोरै संख्या मात्रै आबद्ध गराउन सक्नु राम्रो नभएको अन्र्तक्रियामा कतिपयको तर्क थियो ।
गत असार १० गते तथ्याङ्क अनुसार ३४ सय ८८ परिवारका २ हजार ७ सय ४६ जना पुरुष र २ हजार ९सय ३९ जना महिला गरि ५ हजार ६ सय ८५ जना स्वास्थ्य विमा कार्यक्रममा आबद्ध रहेको स्वास्थ्य विमा बोर्ड दार्चुलाका संयोजक दिपक सिह क्षेत्रीले जानकारी दिनुभयो । पछिल्लो समय थप भएर ६ हजार ९ सय २४ जना स्वास्थ्य विमामा आवद्ध भएको तथ्याङ्कले देखाएको छ ।
जसमध्ये अपीहिमाल गाउँपालिकामा १ सय ६७ परिवार, ब्यास गाउँपालिकामा ५ सय १५ परिवार, दुहु गाउँपालिकामा ४ सय ६१ परिवार, लेकम गाउँपालिकामा ५ सय ४० परिवार, महाकाली नगरपालिकामा ५ सय १९ परिवार, मालिकार्जुन गाउँपालिकामा ४ सय १० परिवार, मार्मा गाउँपालिकामा ४ सय ५४ परिवार, नौगाड गाउँपालिकामा २ सय ५३ परिवार र शैल्यशिखर नगरपालिकामा ३ सय ३६ परिवार स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् ।
गत बर्षमा स्वास्थ्य विमामा आबद्ध भएका परिवारहरु पनि यस बर्षको सुरुवातमा ४ प्रतिशतले मात्रै विमा नविकरण गरेका छन् । नविकरण कम हुनुमा स्वास्थ्य सेवामा पहुचँ र कोरोना प्रभाव कारक रहेको हुनसक्ने अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण सिह धामी प्रमुख अतिथि रहनुभएको थियो भने महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ्क अधिकारी खगेन्द्र सिह कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख, जिल्ला अस्पत्ताल दार्चुलाका प्रमुख, जिल्लाका स्थानियतहहरुका स्वास्थ्य शाखा प्रमुखहरु, सिआरडिएस दार्चुलाका टिम लिडर, पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।