स्वास्थ्य कार्यालय दार्चुलाको बार्षिक समिक्षा 

0
1631

बिरा दत्त भट्ट, दार्चुला ।

भाद्र १७ गते । बुधबार स्वास्थ्य कार्यालय दार्चुला तथा स्थानिय तहहरुबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षाको उद्धघाटन गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जय राज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर सिह कार्की प्रमुख अतिथि रहनुभएको थियो भने महाकाली नगरपालिकाका नगर प्रमुख हंश राज भट्ट र स्वास्थ्य निर्देशनालय सुदुरपश्चिम प्रदेशका निर्देशक गुण राज अवस्थीको विशिष्ट आतिथ्यता रहेको थियो ।
बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बाट सञ्चालीत विभिन्न कार्यक्रमहरुको समिक्षा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जय राज भट्टले जानकारी दिनुभयो । विगत तिन बर्ष भित्र स्वास्थ्य कार्यालय दार्चुलाबाट प्रवाह भएका परिवार नियोजन सेवा, पोषण कार्यक्रम, क्षय रोग निवारण कार्यक्रम, पोषण कार्यक्रम लगायका कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
विगतका बर्षहरुको भन्दा गत आर्थिक बर्षमा स्वास्थ्य कार्यालय दार्चुलाको प्रगति केहि कम देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो । गत चैत्र देखि कोरोना प्रभावका कारण स्वास्थ्य सेवा लिने नागरिकहरुको संख्या घटेकाले प्रगति विवरण केहि प्रतिशतले कम भएको उहाँको भनाई छ ।
समिक्षा कार्यक्रममा दार्चुला जिल्लाका नौ वटै स्थानियतहहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा गरेको प्रयास बारे छलफल गरिएको भट्टले बताउनुभयो ।
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित ब्यक्तिहरु मध्ये दार्चुलामा सबै भन्दा कम सक्रमित भेटिएका छन् । अन्य जिल्लाहरुको तुलनामा दार्चुलामा थोरै संख्यामा कोरोना संक्रमित भेटिनुमा विभिन्न पक्षले प्रभाव पारेको हुन सक्ने भट्टको विश्लेषण छ । कोरोना संक्रमण कम देखिनुमा कसैले दार्चुलामा कम ब्यक्तिहरुको मात्रै पिसिआर परिक्षण भएको भन्ने तर्क गर्न सक्ने भएतापनि जिल्ला भित्रिनेहरुको अनुपातमा अन्य जिल्लाका मानिसहरु बराबरको पिसिआर परिक्षण भएको उहाँले बताउनुभयो ।
“दार्चुलामा लकडाउन हुनु भन्दा पहिले र लकडाउनका बेला पनि महाकालीमै हाम फालेर भएपनि नेपाल भित्रीएका छन्, त्यस समयमा बाहिर कोरोना संक्रमण कम फैलिएको थियो, कोरोना कम देखिनुमा यो पनि हुन सक्छ” उहाँले भन्नुभयो । बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण गरिएकोमा अधिकाशंमा कोरोना संक्रमण नपाइएकाले उनिहरुको सम्र्पकमा रहेकाहरुको पनि परिक्षण भएन त्यसरी पनि कम ब्यक्तिहरुको पिसिआर परिक्षण भएको हो, उहाँले भन्नुभयो ।
सुदुरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा कम्तीमा पनि साढे दुई सय भन्दा बढी कोरोना संक्रमित भेटिएको अवस्थामा भारत संग जोडिएको दार्चुला जिल्लामा हाल सम्म ५२ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार दार्चुला जिल्ला भरि आजको मितिमा १ महिला र १५ जना पुरुष गरि १७ जना क्वारेन्टाइमा रहेको छन् भने ५ जना पुरुष आइसोलेसनमा रहेका छन् । १९ सय ६६ जनाको पिसिआर परिक्षण गरिएको मा ५२ जनाको कोरोना रिर्पाेट पोजेटिभ आएको छ भने ४७ जना कोरोना जितेर घर फर्किएका छन् ।
आज उद्धघाटन गरिएको स्वाथ्य कार्यालय दार्चुलाको बार्षिक समिक्षा कार्यक्रम भोली समापन हुनेछ । आजको कार्यक्रममा अपी हिमाल गाउँपालिकाको स्वास्थ्य शाखा र ब्यास गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो कार्य प्रगति विबरण प्रस्तुत गरेको थियो । कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पताल दार्चुलाका प्रमुख गजेन्द्र दुवाल, जिल्लाका ९ वटै स्थानिय तहहरुका स्वास्थ्य शाखा प्रमुख, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामी, सुआहारा कार्यक्रममा प्रमुख तथा गुडनेवर्स इन्टरनेसनल कार्यक्रमका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।