स्थानीय निर्वाचन दार्चुलाः काङ्ग्रेसका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता 

0
580
फाइल फोटो

दार्चुला, बैशाख १६ गते । 


दार्चुलाको महाकाली नगरपालिकामा बागी उम्मेदवारी दिएका काङ्ग्रेसका कार्यकर्ताहरुले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उम्मेदवारी फिर्ता लिने कार्यतालिका अनुसार महाकाली नगरपालिकामा ९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले बताउनुभयो ।

काङ्ग्रेसले महाकाली नगरपालिकाको नेतृत्वमा पुरानै उम्मेदवारलाई अघि सारेपछि असन्तुष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेपाली काङ्ग्रेस दार्चुलाको केन्द्रिय महाधिवेशन प्रतिनिधि रहेकी आनन्दी पन्त भट्टले महाकाली नगरपालिकाको उपप्रमुख पदमा बागी उम्मेदवारी दिएकी थिइन् । पार्टी नेतृत्वको दवाव र आफ्नो राजनीतिक करियरका कारण उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । अन्य बागी उम्मेदवारहरुले पनि पार्टी नेतृत्वको दबाबका कारण उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । नेपाली काङग्रेसका बागी उम्मेदवारहरु महाकाली नगरपालिका वडा नं ३ बाट वडाध्यक्षका उम्मेदवार प्रेम सिह महरा, वडा सदस्यका उम्मेदवार माधव प्रसाद भट्ट र देव सिह महरा तथा वडा नं ५ बाट उम्मेद्वारी दिएका लोकमणि ठगुन्नाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । महाकाली नगरपालिका वडा नं ६ मा गत स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट वडाध्यक्षमा जितेका चक्र सिह बोहराले समेत यस पटक वडाध्यक्ष पदका लागि बागी उम्मेदवारी दिएका थिए । उनले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । महाकाली  नगरपालिका वडा नं ६ को वडाध्यक्षमा माओवादीका बागी उम्मेदवार नवराज जोशी र वडा नं ८ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार चक्रसिह विष्टले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी मालिकार्जुन गाउँपालिकामा नेकपा समाजबादीबाट एक जना वडाध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मालिकार्जुन गाउँपालिका निर्वाचन अधिकृत ओमप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । मालिकार्जुन गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवार कलावती देवी धामीले उम्मेदवारी फिर्ता लिएकी छिन् ।