सेवाकाे मानसिकताबाट `जागिरे´ नबन्नुहाेला

0
536

विनाेद सिंह कुवर, उपाध्यक्ष, व्यास गाउँपालिका
आज म एकदमै खुशी छु । एक समय जुन व्यक्तिहरुसित मैले अब्बल पेशा अनि सेवा भनेको शिक्षक र शिक्षण हो भनि अनुभव सेयर गरेको थिए आज तीनै व्यक्तित्वहरु एउटा आफ्नो विषयक्षेत्रमा दक्षता हासिल गरि शिक्षण पेशामा प्रबेश गर्नु भएको छ । सर्वप्रथम त उहाँहरु सम्पूर्णलाई हार्दिक बधाई र स्वागत गर्दछु ।
जिल्लाभित्र वा जिल्ला बाहिरबाट शिक्षक सेवा आयोग पास गरि शिक्षा क्षेत्रमा नयाँ जोश र जागरका साथ प्रवेश गर्नुहुने सम्पूर्ण नवप्रवेशी शिक्षक साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । तपाईको याे जोश, जागर दीर्घकालसम्म रहिरहोस् भन्ने कामना छ । यो जनशक्ति शैक्षिक क्षेत्रमा भित्रिएपछि विद्यालयको अनि शिक्षाक्षेत्र कै मुहार पक्कै पनि फेरिनेमा हामी आशावादी छौ । तर तपाईको याे जोश-जागरमा ह्रास तब आउनेछ जब तपाईं अर्को जिल्लाबाट आफ्नो घरपाइक जिल्लामा सरुवा आउनुहुन्छ, अर्को पालिकाबाट आफ्नो घरपाइक पालिकामा सरुवा आउनुहुन्छ । यसरी सरुवा हुँदै गर्दा तपाईलाई घाइते र अपाङ्ग (काम गर्न नसक्ने) बनाईन्छ, तपाइको सेवा गर्ने मानसिकतालाई जागिरे मानसिकता बनाइन्छ। त्यो कसरी ? तपाइहरुलाई लाग्न सक्छ ।
जुन मिहिनेत, परिश्रम तपाईले शिक्षक सेवा आयोग पास गर्दा लगाउनु भएको छ, जुन आर्थिक लगानी आयोग पास हुदा गर्नुभएको छ त्यो भन्दा बढी सरुवा हुदा गर्नुपर्नेछ। त्यतिबेला तपाई जे गरेर भए पनि, जसो गरेर भए पनि सरुवा चाहनुहुन्छ तर सरुवा भइसकेपछि तपाईको त्यो जोश, जागर र सेवा गर्ने मानसिकता खै कता जान्छ कुन्नी भन्न सकिन्न । जसले गर्दा तपाईं एक गलेको, थाकेको, घाइते र अपाङ्ग शिक्षक बनिसक्नुभएको हुन्छ । अहिलेसम्म धेरै शिक्षकहरु यसको सिकार भइसकेका छन् । यो पीडा उहाँहरु न त भन्नसक्ने अवस्थामा छन् न सेयर गर्नसक्ने अवस्थामै छन् । यो शिक्षामा लागेको सबैभन्दा ठूलो रोग हो । शिक्षाक्षेत्र र शिक्षकका लागि क्यान्सर सरह नै छ । त्यसैले तपाईको त्यो जोश, जागर र सेवामुखी भावना दीर्घकालसम्म पनि बचाइ राख्न यो क्यान्सरबाट बच्न आग्रह गर्दछु । कसैलाई अप्ठ्यारो लागे पनि तितोसत्य र यथार्थ यही हो । यदि कसैलाई त्यस्तो अवस्था आइहाल्यो भने त्यसका विरुद्व लड्न र भन्डाफोर गर्न आग्रह गर्दछु । साथै व्यक्तिगत रुपमा म पनि तपाईहरु संगै त्यसका लागि हातेमालो गर्न तयार छु, किनकी म व्यासको शिक्षाको लागि मात्र होइन जिल्लाकै र देशकै शिक्षा प्रणाली सुध्रोस भन्ने चाहाना राख्दछु । धन्यवाद ।