सेनाले निर्माण गरेको छाङरु,तिंकर जोड्ने बाटो सरकारलाई हस्तान्तरण

0
905

बिरा दत्त भट्ट, दार्चुला ।
असोज १९ गते । ब्यास गाउँपालिकाको वडा नं १ ब्यास क्षेत्र जोड्ने बाटो हस्तान्तरण गरिएको छ । नेपाली सेनाले घाटीबगर क्षेत्रमा निर्माण सम्पन्न गरेको ५ सय ५० मिटर घोरेटो बाटोको सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले उद्धघाटन गरेका छन् भने नेपाली सेनाले प्रदेश सरकारलाई उक्त बाटो हस्तान्तरण गरेको छ ।



बाटोको हस्तान्तरणका लागि मुख्य मन्त्री त्रिलोचन भट्ट सहित प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा, प्रदेशका मुख्य सचिव रामकृष्ण सुबेदी, नेपाली सेनाका सुदुरपश्चिम पृतनापति एबं उपरथी निर्मल कुमार थापा, नेपाली सेनाका प्रबत्ता सन्तोष बल्लभ पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेब थापा सहितको टोली हेलिकोप्टरबाट ब्यास गाउँपालिकाको वडा नं २ घाटीबगड क्षेत्रमा पुगेको थियो । नेपाली सेनाले निर्माण गरेको उक्त बाटो प्रदेश सरकारलाई हस्तान्तरण गरिएको नेपाली सेनाका सैनिक प्रबत्ता सन्तोष बल्लभ पौडेलको भनाई छ ।



नेपाली सेनाले घाटीबगड क्षेत्रमा निर्माण गरेको ५ सय ५० मिटर बाटोका लागि १ करोड ८ लाख ३२ हजार रुपैयाँ खर्च भएको सैनिक प्रबत्ता पौडेलले जानकारी दिनुभयो ।
छाङरु जाने बाटो घाटीबगर क्षेत्रमा बनेको भएपनि तम्पाकु क्षेत्रमा पशुचौपायाहरु ल्याउनका लागि समस्या भएको स्थानियहरुको भनाई छ ।
“तम्पाकु क्षेत्रमा स्थानिय ठेकेदार मार्फत काम भइरहेकाले त्यसमा हामीले थप काम गर्ने भन्दा पनि जनताको सहजताका लागि सेनाले के गर्न सक्छ, त्यस विषयमा छलफल भएर काम हुन्छ” सैनिक प्रबत्ता पौडेलले भन्नुभयो ।
नेपाली सेनाले जिम्मा पाएको दार्चुला तिंकर सडक खण्डको ८७ किलोमिटर सडकको कार्यपनि छिट्टै सञ्चालन गरिने सैनिक प्रबत्ता पौडेलको भनाई छ । नेपाली सेनाको विकास निर्माण दल दार्चुला पुगेको र उक्त टोलीले सर्बे लगायत टेन्ट ब्यवस्थापन गर्ने काम गरिरहेको उहाँको भनाई छ । सडकको टेण्डर खोलीएपछि कुन सेनाले गर्ने र कुन काम ठेक्का मार्फत गर्ने भन्ने टुङ्गो लागेपछि सडक निर्माणको काम सञ्चालन गरिने सैनिक प्रबत्ता पौडेलको भनाई छ ।
“बोलपत्र आव्हान छिट्टै हुने अपेक्षा छ, त्यस लगत्तै सेनाले सडक निर्माणको काम थाल्छ” उहाँले भन्नुभयो ।
घाटीबगड क्षेत्रमा बाटो निर्माण सम्पन्न गरेको नेपाली सेनाको टोली भोली फिर्ता हुने र सडक निर्माणको जिम्मा पाएको सेनाको टोली घाटीबगड क्षेत्रमा जाने स्रोतले जनाएको छ ।