सेनाद्वारा लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण

0
305

दार्चुला, भदौ १५ गते ।
नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माणमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको ८ दशमलव ४ किलोमिटर सडक निर्माण गरिएको छ ।
गतवर्ष सेनाले ७ किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखेको थियो । ३ देखि ४ मिटर चौडाइको ३ किलोमिटर सडक र ४ देखि ६ मिटर चौडाइको ४ किलोमिटर सडक निर्माण गर्ने सेनाको वार्षिक लक्ष्य रहेको आयोजनाले जनाएको छ । गतवर्ष लक्ष्यभन्दा बढी भौतिक प्रगति भएको व्यास गाउँपालिकाको सुन्सेरास्थित सेनाको सडक आयोजना कार्यालयले जनाएको छ ।
आठ मिटर चौडाइको ४ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको छ । ३ देखि ७ मिटर चौडाइको ४ दशमलव ४ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । चट्टानी भूभाग र भिरालो ठाउँ भएका कारण करिब डेढ किलोमिटर लामो क्षेत्रमा ३ मिटर चौडाइको ट्रयाक निर्माण गरिएको आयोजनाले जनाएको छ ।
सेनाले ट्रयाक खोलेपछि बर्खायामपछि राप्लाको दुम्लिङसम्म गाडी पुग्ने सम्भावना छ । ३ मिटर चौडाइ रहेको क्षेत्रमा सडक चौडा बनाइने सेनाको दार्चुला–टिंकर सडक आयोजना प्रमुख एवं प्रमुख सेनानी हरिवहादुर बोहराले बताउनुभयो ।
गत आर्थिक वर्षदेखि मात्रै सेनाद्वारा सडक निर्माणको कार्य सुरु गरिएको हो । नेपाल सरकारले २०७७ वैशाख १४ गते टिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ को अन्तिम अर्थात २०७७ असार महिनामा नेपाली सेनाको विकास निर्माण कार्यदल दार्चुला पुगेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा दार्चुला–टिंकर सडकको विस्तृत आयोजना प्रतिवेदन परामर्शदातामार्फत संसोधन गरिएको छ । उक्त वर्ष सेनाले सडक निर्माणको प्राविधिक तयारी, सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना तथा सडक निर्माणको व्यवस्थापकीय काम गरेको थियो ।
गत वैशाख महिनाको दोस्रो साता सेनाको हेलिकोप्टरमार्फत राप्लाको माल र दुम्लिङमा स्काइभेटर र कम्प्रेसर मेसिनहरु ढुवानी गरिएका छन् । त्यसभन्दा पहिला श्रमिकहरुबाट हातेऔजार प्रयोग गरी सडक खनिदैआएको थियो । तुषारपानीदेखि दुम्लिङसम्मको साढे ८ किलोमिटर लामो सडक निर्माण कार्यमा दैनिक ३ सयदेखि साढे ४ सय जनासम्म श्रमिक परिचालन गरिएको आयोजनाले जनाएको छ । सडक निर्माणमा प्रयोग गरिएका जनशक्तिमध्ये ७० प्रतिशत दार्चुलाका स्थानीय रहेका आयोजना प्रमुख बोहराले बताउनुभयो ।
फतङगाड, कोठधार, माल, सगनाडी, दुम्लिङ लगायतका स्थानमा श्रमिकहरुको क्याम्प राखेर सडक निर्माण गरिएको छ । ‘कोठधारदेखि सगनाडीसम्मको क्षेत्रमा सडकको चौडाइ ३ मिटर छ, यो वर्ष त्यसक्षेत्रको सडक चौडा बनाइन्छ’ नेपाली सेनाका सडक आयोजना प्रमुख बोहराले भन्नुभयो ।
सडक निर्माणका लागि सुन्सेराबाट भरिया र खच्चरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गरिएको छ । सडक निर्माण भइरहेको स्थानहरुमा स्काइभेटर र कम्प्रेसर मेसिनहरु चलाउन पेट्रोलियम पदार्थ ढुवानी गरिएको आयोजनाको भनाई छ ।
गतवर्ष सरकारले टिंकर सडक निर्माणका लागि नेपाली सेनालाई १५ करोड ८० लाख बजेट उपलब्ध गराएको थियो । सडक निर्माण आयोजनाले ९१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । गतवर्ष विनियोजित बजेटमध्ये १४ करोड ३८ लाख रुपैयाँ सडक निर्माणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ ।