सेनाको सहजताका लागि तुसारपानी क्षेत्रमा सडक मर्मत गरिदै

490
तुसरपानी क्षेत्रमा वर्षादमा अवरुद्ध बनेको सडक

दार्चुला, फागुन १२ गते । 

दार्चुलाको व्यास गाउँपालिका वडा नं ३ तुसारपानीमा वर्षादका कारण अवरुद्ध भएको सडक मर्मत गरिदैछ ।
सडक अवरुद्ध हुदाँ नेपाली सेनाले निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेका बेला दार्चुला तिंकर सडक आयोजनाले
तुसारपानी क्षेत्रमा सडक मर्मतको काम सुरु गरेको छ । 

आयोजनाले अवरुद्ध सडक खोल्ने काम गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिंकर सडक आयोजनाका प्रमुख आशुतोष कर्णले बताउनुभयो । ‘तुसारपानी क्षेत्रमा अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । १५–२० दिनमा सेनालाई सडक पास दिन्छौ’ उहाँले भन्नुभयो । 

बर्षादमा तुसरपानी तथा गाणारुख क्षेत्रमा सडक क्षतविक्षत बनेको छ । 

सरकारले पछिल्लो समय दार्चुला तिंकर सडक अन्र्तगत तुसारपानी फतङगाड देखि कोठेधार सम्मको चार किलोमिटर थप सडकको जिम्मा नेपाली सेनालाई दिएको छ । सरकारले नेपाली सेनालाई सुरुमा ८७ किलोमिटर र हाल थप ४ किलोमिटर गरि ९१ किलोमिटर सडक निर्माणको जिम्मा दिएको छ । भने ४३ किलोमिटर सडक निर्माण दार्चुला तिंकर सडक आयोजनाले गरिरहेको छ । दार्चुला तिंकर सडक खण्डमा फतङगाड देखि तिंकर सम्म नेपाली सेनाले काम गर्ने तथा त्यो भन्दा तल्लो क्षेत्रमा आयोजनाले काम गर्ने कर्णले जानकारी दिनुभयो । 

फोटोः फतङगाड क्षेत्र

सडक अन्तरगत ब्याँस गाउँपालिकाको तुसारपानी देखि कोठेधार सम्मको ७ किलोमिटर सडकमा ठेक्का तोडिएको थियो । जसमध्ये ठेक्का तोडिएको अमर सुर्य जेभी निर्माण कम्पनीले तीन किलोमिटर क्षेत्रमा ट्रयाक खुलाएको छ भने बाकिँ ४ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको हो ।  सेनाले सुरुमा निर्माणको जिम्मा पाएको कोठेधार सम्म सडकको ट्रयाक नखुलाइएको हुदाँ त्यस क्षेत्रमा सडक निर्माणका लागि हेलिकोप्टर मार्फत निर्माण सामग्री ढुवानी गरेको थियो । 

दार्चुला सदरमुकाम देखि सुन्सेरा सम्म ४३ किलोमिटर क्षेत्रमा चारवटा निर्माण कम्पनीहरु संग सम्झौता भई सडक निर्माणको काम भइरहेको दार्चुला तिंकर सडक आयोजनाले जनाएको छ । महाकाली करिडोर अन्र्तगत कञ्चनपुर देखि दार्चुला सम्म ३ सय ३४ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाउनका लागि ठेक्का भइसकेको आयोजना प्रमुख कर्णले बताउनुभयो । 

महाकाली करिडोर अन्र्तगतको दार्चुला तिंकर सडक आयोजनाले चालु आर्थिक बर्षको हाल सम्म १७ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक वर्षको ८ महिना सम्म कार्यालयले १३ करोड ६७ लाख २० हजार पुजीगत बजेट खर्च गरेको लेखाअधिकृत भुपालसिह कार्कीले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षमा यस सडक खण्डमा कुल ७९ करोड ४२ लाख बजेट रहेकोमा पछिल्लो समय सरकारले १२ करोड बजेट काटेर ६७ करोड ४२ लाख कुल बजेट रहेको कार्कीले बताउनुभयो ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस् !