‘सुरक्षा प्रमुखको भ्रमणले हौसला बढेको छ’

982

दार्चुला, असार ८ गते ।
दार्चुलाको पश्चिमोत्तर क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हौसला र बहादुरीका साथ काम गरिरहेका छन् । असार ३ गते भएको प्रधान सेनापति र सशस्त्र प्रहरी महानिरीक्षकको भ्रमणले आफुहरुलाई थप हौसला मिलेको सुरक्षाकर्मी बताउँछन् ।
एक महिनाअघि स्थापना भएको व्यासको विओपीबाट भारत र चीनको सीमाक्षेत्रमा नियमित सुरक्षा गस्ती भइरहेको सशस्त्र प्रहरी निरीक्षक लिलिवहादुर चन्दले बताउनुभयो । ‘दुबै देशसंग सीमा जोडिएको क्षेत्रमा नियमित गस्ती भइरहेको छ’ उहाँले भन्नुभयो, ‘सुरक्षा प्रमुखहरुको निरीक्षण भ्रमणले सुरक्षाकर्मीलाई धेरै हौसला मिलेको छ ।’
व्यासक्षेत्रको निरीक्षण भ्रमणको क्रममा दुबै सुरक्षा प्रमुखलाई सुरक्षा अवस्थाबारे बिफ्रिङ गरिएको थियो । ‘सीमाक्षेत्रको सुरक्षाबारे धेरै गम्भीरतापूर्वक सुरक्षा प्रमुखहरुले चासो राखेको’ व्यासमा खटिएका एक सुरक्षाकर्मीले बताए । ‘सीमाक्षेत्रमा मिहिनेतका साथ हामी क्रियासिल छौ, चिफ सापहरुको भ्रमणले थप हौस्याएको छ’ ती सुरक्षाकर्मीको प्रतिक्रिया छ ।
व्यासमा सुरक्षाकर्मीका लागि पूर्वाधार निर्माण तत्काल गरिने भएको छ । विओपीको पूर्वाधार निर्माण, सुरक्षा सतर्कता, सिमाक्षेत्रको निगरानी र स्थानीयवासीलाई सहयोग गर्नेबारे सुरक्षा प्रमुखहरुले छलफल गरेका थिए । सुरक्षा प्रमुखहरु व्यास पुगेकै दिन व्यासको विओपीबाट तिंकर क्षेत्रमा चार दिन लामो गस्ती (एलआरपी) गरिएको छ ।
विओपी कमाण्डर रहेका सशस्त्र प्रहरी निरीक्षक लिलिवहादुर चन्दको नेतृत्वमा १३ जनाको टोली चीनको सिमाक्षेत्र पुगेको छ । असार ५ गते विहान ११ बजे तिंकर भञ्ज्याङको १ नम्बर पिलरमा आफुहरु पुगेको सशस्त्र प्रहरी निरीक्षक चन्दले बताउनुभयो । हतियार र सञ्चार सेटसहित पुगेका सुरक्षाकर्मीहरुले नेपाल र चीनको सीमा छुट्याउने १ नम्बर पिलरमा आधा घण्टा समय विताएका थिए ।
सिमास्तम्भमा पुगेर वरिपरीको सबैक्षेत्रको अवलोकन गरिएको गस्तीमा संलग्न एक सुरक्षाकर्मीले बताए । ‘सिमास्तम्भ भन्दा पल्तिरको चीनिया भूभाग हिउँले ढाँकिएको थियो, हाम्रो टोली त्यता जाने विषय पनि भएन’ ती सुरक्षाकर्मीले भन्नुभयो । तिंकर भञ्ज्याङ नजिकको टाटा र डोङकाङ क्षेत्रको अवलोकन गरिएको छ । ‘चीनको सिमाक्षेत्र पुग्ने बाटो र वरपरको सबै भूगोलबारे सुरक्षा टोलीले अध्ययन गरेको छ, सुरक्षाको दृष्टिकोणले वरिपरीको क्षेत्रलाई नियाल्ने र विश्लेषण गर्ने कार्य गरेका छौ’ अर्का सुरक्षाकर्मीको भनाई छ ।
नेपाल–चीन सीमास्तम्भको वरिपरी हिउँ छ । बाटोमा धेरै ठाँउमा हिउँ रहेको सुरक्षाकर्मीले बताएका छन् । असार ५ गते विहानै तिंकर गाउँबाट सुरक्षाकर्मीको टोली १ नम्बर पिलरतर्फ गएको थियो । ६ घण्टाको कठिन उकालो चढेपछि चीनको सीमाक्षेत्रमा पुगेको सशस्त्र प्रहरी निरीक्षक लिलिवहादुर चन्दले बताउनुभयो ।
टाटा र डोङकाङ क्षेत्रमा कुनै पनि व्यक्ति वा जनावरको उपस्थिति छैन । कोरोनाको संक्रमणले चीनसंगको सीमा बन्द रहेको छ । अहिलेसम्म कुनै पनि व्यक्ति त्यसक्षेत्रमा नपुगेको सुरक्षाकर्मीले बताएका छन् ।
तिंकर भञ्ज्याङ नजिकको टाटा क्षेत्रमा गतवर्ष भारतीय सुरक्षाकर्मी पुगेका थिए । सशस्त्र प्रहरीको टोलीले भने उक्त क्षेत्रमा यसपाली कसैको पनि भ्रमण नभएको बताएको छ । ‘टाटा क्षेत्रको डाडाभरी हिउँ छ, कालापानीबाट टाटाक्षेत्रमा पुग्ने भूभाग हिउले ढाँकिएको छ, हिउँले ढाँकिएकाले भारतीय पक्षको गस्ती हुन सकेको छैन होला’ गस्तीमा सहभागी एक सुरक्षाकर्मीको भनाई छ ।
व्यासमा विओपी स्थापना भएपछि सशस्त्र प्रहरीको टोली पहिलो पटक चीनको सिमासम्म पुगेको हो । सुरक्षा प्रमुखहरुको भ्रमण हुनुअघि नै सशस्त्रको सुरक्षा गस्ती तिंकर नाकासम्म पुग्ने तयारी भइसकेको थियो । २०७२ सालमा सशस्त्र प्रहरीका डिएसपी वीरसिह साहुको कमाण्डमा तिंकर नाकामा पहिलो पटक सशस्त्र प्रहरीको टोली पुगेको थियो ।
तिंकरको छियालेकमा रहेको नेपाल प्रहरी सीमा प्रहरी चौकीले पनि उक्त क्षेत्रको निगरानी गरिरहेको छ । प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा रहेको तिंकर चौकीमा ९ जना सुरक्षाकर्मी कार्यरत छन् । तिंकरको प्रहरी चौकीले सञ्चार सेटमार्फत प्रहरी हेडक्वाटर र जिल्लामा खवर गर्ने गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले यसअघि तिंकर क्षेत्रमा दुइपटक गस्ती गरेको थियो । तिंकर गाँउमा वासिन्दाको कुञ्चा सर्नेबेला हिमपहिरो हटाएर सशस्त्रको टोलीले बाटो मर्मत समेत गरेको थियो । महाकाली नदी किनारको भारतको सीमावर्ती क्षेत्रमा पनि नियमित गस्ती हुने गरेको छ । तल्लो र माथिल्लो कौवा क्षेत्रमा सशस्त्र प्रहरीले गस्तीमार्फत निगरानी बढाएको छ ।
सितापुलस्थित महाकाली नदीमा रहेको पुलमा नियमित सुरक्षा दिइदै आएको छ भने सीमाक्षेत्रको सुरक्षा व्यवस्था र निगरानीबाट सशस्त्र प्रहरीको हेडक्वाटरमै रिपोर्टिङ हुँदैआएको सुरक्षा स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !